Comments Add Comment

साबित्रा घाइते भएपछि एपीएफलाई उपाधि नै खल्लो

५ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ क्लबले दुई खेल अगावै राष्ट्रिय महिला लिगको उपाधि पक्का गर्‍यो ।

बुधबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेलेपछि एपीएफले दुई खेल बाँकी रहँदै लिग उपाधि पक्का गरेको हो ।

बुधबारै भएको दोस्रो खेलमा एपीएफले विराटनगरलाई १-० ले हराउँदै लगातार ११ औं जितसमेत हात पार्‍यो । एपीएफको क७न जितमा अनिता केसीले ५५ औं मिनेटमा गोल गरिन् ।

सुरुवाती खेलहरुमा गोलको वर्षा नै गरेको एपीएफले पछिल्ला दुई खेलमा भने गोलका लागि संघर्ष नै गर्नुपर्‍यो । अघिल्लो खेलमा नेपाल पुलिस क्लबविरुद्ध पनि एपीएफले संघर्षपूर्ण जित हात पारेको थियो ।

एपीएफलाई लगातार नवौं जित दिलाउँदासम्म महत्वपूर्ण भूमिका खेलेकी र गोलको वर्षा गरेकी सावित्रा भण्डारी साम्बा पुलिस विरुद्धको खेलमा घाइते हुँदै ६९ औं मिनेटमा मैदान छाड्न बाध्य भएकी थिइन् । त्यस खेलमा उनले गोल गर्न सकिनन् । विराटनगरविरुद्ध सावित्राबिना नै एपीएफको टोली मैदान उत्रिएको थियो । नियमित गोल गरिरहेकी साम्बा नहुँदा एपीएफको स्कोरिङमा समस्या स्पष्ट देखियो ।

एपीएफकी मुख्य प्रशिक्षक भगवती थापाले पनि यो तथ्यलाई स्वीकार गरिन् । विराटनगरविरुद्धको खेल जितेपनि प्रदर्शनबाट सन्तुष्ट नभएको थापाले बताइन् । ‘गेम जित्यौँ तर सन्तुष्ट हुने गरी जित भएन । हामीले पोष्टमा धेरै एटेम्प गर्न सकेनौँ’ उनले भनिन् ।

सावित्रा भण्डारी चोटका कारण मैदान बाहिर रहेपछि एपीएफले अनु लामासहित प्रिती राईलाई विराटनगर विरुद्ध पहिलो रोजाइमा खेलाएको थियो । तर पहिलो हाफमा विराटनगरले एपीएफलाई गोल गर्नबाट रोक्यो ।

पहिलो हाफमा एपीएफकी मन्जली योन्जनले खाली पोष्टमा पनि गोल गर्न सकिनन् भने रेनुका नगरकोटीको प्रहार पोष्टमा लागेर पर्कियो ।

५५ औं मिनेटमा अनिताले सरु लिम्बुको पासमा गरेको गोल नै एपीएफलाई शतप्रतिशत जित दिलाउन निर्णायक बन्यो ।

तर घुँडाको चोटका कारण करिब ९ महिना बाहिर बस्नुपर्ने भएकी साम्बा बिना भने एपीएफको स्कोरिङ कमजोर बन्यो । ‘गेम जित्नको लागि स्कोर चाहिन्छ र हाम्रो स्कोरको मुख्य खम्बा सावित्रा नै हो’ प्रशिक्षक थापाले खेलपछि पोष्टम्याच कन्फ्रेन्समा भनिन्, ‘अब टिम एउटा फर्ममा गइरहेको हुन्छ । त्यस्तो बेला महत्वपूर्ण खेलाडी नहुँदा गाह्रो हुन्छ । के गर्न कसो गर्ने जस्तो भयो । हामीसंग समय पनि कम भयो । त्यसले गर्दा खेलमा तालमेल बनाउन गाह्रो भएको हो ।’

प्रशिक्षक भगवती थापाले सावित्राको अभाव खेलमा खड्किएको बताइन् । ‘सावित्राको अभाव हामीलाई खड्कियो । किनभने मुख्य गोल स्कोर गर्ने नै सावित्रा हो । इन्डिभिजुअल एग्रेसनको पनि जरुरी थियो जुन भएन’ उनले भनिन् ।

घुँडामा चोट लागेको र अन्य समस्या भएपनि साम्बा बुधबार एपीएफको खेल हेर्न सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेकी थिइन् । खेल सकिएपछि उनी टिममेटसंग मैदानमा गएर सामूहिक फोटो खिचाइन् । आफू घाइते भएपनि उनको मुहारमा भने उपाधि जित्दाको खुशी देखिएको थियो ।

साम्बाले टिमले आफू नभएपनि राम्रो खेलेको बताइन् । ‘साथीहरुले राम्रो खेल्दै खेल जिते । मेरो अभाव खट्किएन जस्तो लाग्छ । टिमले मलाई दिएको गिफ्ट जस्तो भयो । म मैदानमा नभएपनि साथीहरुले राम्रो खेले’ उनले भनिन् ।

भगवती थापाले प्रशिक्षकको डेब्युमै राष्ट्रिय लिगको उपाधि जितिन् । उनले यसअघि एपीएफ र राष्ट्रिय टिमबाट लामो समय फुटबल खेलेकी थिइन् ।

पहिलो प्रयासमै लिग जितेपछि स्वाभाविक खुशी भएपनि उनले त्यसलाई प्रष्ट रुपमा देखाउन सकिनन् । ‘हामीले लिग जित्यौँ जित्न त यसमा म खुशी छ तर यो खुशीमा दु:ख मिसिएको छ । किनकी मैले मेरो मुख्य खेलाडी गुमाएँ । लिग विजेता बनेपनि यो अलि खल्लो भयो’ उनले भनिन् ।

टिमले उपाधि जितेको खुशीमा भन्दा पनि साम्बाको चोटले एपीएफका खेलाडी र अफिसियल दु:खी देखिन्थे ।

प्रशिक्षक थापाले लिगको अहिलेसम्मको सबै खेल जित्दा सन्तुष्ट नै भएको सुनाइन् । ‘सबै खेल हामी जितिरहेका छौँ । यसमा म सन्तुष्ट नै छु । तर हाम्रो खेलाडीहरु इन्जर्ड भए । हिरा भुजेल घाइते भइन् । केहीले इन्जुरी हुँदा समेत खेलेका छन् । जसले गर्दा असर परिरहेको छ’ प्रशिक्षक थापाले भनिन् ‘मुख्य घाटा भनेकै साम्बा नै हो ।’

उनले लिगको समग्र यात्रा राम्रJ भएको तर सुखद नभएको बताइन् । ‘लिग यात्रा राम्रो भयो तर खेलाडीले चोटले टिमलाई घाटा भएको छ । सुखद रह्यो चाहिँ भन्दिन’ उनको भनाइ थियो ।

भगवती थापाले यसअघि करिब एक दशक खेलिन् । अहिले प्रशिक्षक भएर लिग जितिन् । खेलाडी र प्रशिक्षक कुन रमाइलो भन्ने प्रश्नमा उनले खेलाडी हुँदा रमाइलो हुने प्रतिक्रिया दिइन् । ‘खेलाडी रमाइलो लाग्यो । खेलाडी हुँदा आफ्नो लयमा खेल्यो’ थापाले भनिन्, ‘ प्रशिक्षकमा दबाब देखेँ । जिम्मेवारी बढ्ने रहेछ । जवाफदेही हुनुपर्ने । म्याच रिजल्ट के भयो ? कसो भयो ? भन्ने हुने । यी कुराहरुले गर्दा प्रशिक्षक हुन गाह्रो रैछ ।’

एपीएफले जारी लिगमा लगातार ११ खेल जित्दै ३३ अंक जोडेको छ । जसमा एपीएफले ७४ गोल गर्दा जम्मा १ गोल मात्र व्यहोरेको छ । एपीएफकी स्ट्राइकर साम्बाले १० खेल खेल्दै सर्वाधिक ४३ गोल गरिसकेकी छिन् । ७ खेलमा ह्याट्रिक वा सो भन्दा माथिको संख्या गोल गरेकी उनले दुई खेलमा गोल गर्न सकिनन् भने एक खेलमा २ गोल गरेकी थिइन् । यस्तै अर्को विभागीय टोली आर्मीले दोस्रो स्थान पक्का गरेको छ । ११ खेलबाट ८ जित २ बराबरी र १ हारसहित आर्मीले २६ अंक जोडेको छ ।

अब लिगको अन्तिम खेलमा यी दुई विभागीय टोली भिड्नेछन् । खेल फागुन ७ गते दशरथ रंगशालामा हुनेछ । उपाधि जिते पनि एपीएफ आर्मी विरुद्धको खेललाई लिएर सजग छ ।

‘हामीले उपाधि नै जितिसकेकोले अन्तिम खेलमा खासै डर त भएन । तर आर्मीसंग खेल्दा दबाब भने हुन्छ’ प्रशिक्षक भगवती थापाले भनिन् ।’

उता यसै लिगबाट प्रशिक्षकमा डेब्यु गरेका आर्मीका प्रशिक्षक राजु तामाङले पनि अन्तिम खेल प्रतिष्ठाको लडाईं हुने बताए । पुलिससंगको खेल बराबरी आर्मी उपाधि होडबाट बाहिरिएको थियो । पुलिस संगको दुई खेल बराबरी हुनु नै उपाधि होडबाट टाढिनुको कारण रहेको प्रशिक्षक तामाङले बताए ।

उनले एपीएफसँगको अन्तिम खेलमा फरक रणनीतिका साथ खेल्ने बताए । ‘हामी एपीएफको जित यात्रालाई ब्रेक गर्न चाहन्छौँ’ तामाङले भने ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment