Comments Add Comment

ऐतिहासिक महत्त्वको ‘नेपाली लोककथा’ पुनः प्रकाशित

६ फागुन, काठमाडौं । लोक साहित्य तथा संस्कृतिविद् तुलसी दिवसको प्रसिद्ध लोककथा संग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ । ‘बुक-हिल पब्लिकेसन’ले ‘क्लासिक सेरिज’ अन्तर्गत पुनः प्रकाशन गरेको यो पुस्तक सर्वप्रथम २०३२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट छापिएको थियो ।

पुस्तकमा नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथाहरू समेटिएको छ ।

पुस्तकबारे लेखक, सङ्कलक तथा सम्पादक तुलसी दिवसका अनुसार स्थान विशेष, जाति-भाषा विशेषका यी कथा संकलन गर्न एक दशभन्दा बढी समय लागेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै दिवसले भने, ‘नेपाली जनजीवन, नेपाली जीवन बुझ्न चाहनेहरूका लागि समेत यी कथाले मद्दत गर्नेछ । किनभने लोककथा हाम्रै समाज र जीवनपद्धतिसँग जोडिएको हुन्छ ।’

संग्रहमा सांस्कृतिक, एतिहासिक, सामाजिक, अर्ती-उपदेश, ठगी-चलाखी, लोभी-कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ ।

यस्तै पुस्तकको मन्तव्यमा कलाकार एवं तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति लैनसिंह बाङ्देल लेख्छन्, ‘संसारका जुनसुकै देशमा पनि लोककथा पाइन्छ । अझै नेाल जस्तो प्राचीन संस्कृतिले सम्पन्न राष्ट्रको लोककथाले मानव सभ्यता परिचय दिन सक्दछ ।’

बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको पुस्तकले पाठकलाई आˆनो अतीततिर फर्काउन र आफ्नो इतिहास बुझ्न मद्दत गर्ने बुक-हिल पब्लिकेसनका अध्यक्ष भूपेन्द्र खड्काले बताए । खड्काका अनुसार विश्वविद्यालय अध्ययन गरिरहेका विद्यार्थी एवं साहित्यिक पाठकलाई समेत नेपाली लोककथा उपयोगी हुनेछ ।

कथानक भावका चित्रहरूसमेत समेटिएको छ सय पृष्ठको ‘नेपाली लोककथा’को मूल्य ९ सय ९९ रुपैयाँ रहेको छ । पुस्तक अनलाइनबाटसमेत खरिद गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment