Comments Add Comment

पशुपतिमा क्षमापूजाका लागि भारतबाट बोलाइए २५ ब्राह्मण

फाइल तस्वीर

९ फागुन, काठमाडौँ । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ । क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए। आगामी बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ । चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले रु ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुग्नुभएका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई रु ३० करोड बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करीब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । रु ३० करोडबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट व्यहोर्ने जनाइएको छ ।

महाशिवरात्रिको तयारी   

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी पनि सुरु गरिएको छ । विगत वर्षमा एक वर्षअघि नै भारतका विभिन्न अखडाबाट साधुसन्त पशुपति क्षेत्रमा आउने गरेकामा यस वर्ष अहिलेसम्म नआएको कोषले जनाएको छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।

कोरोना महामारीका कारण यस वर्षको महाशिवरात्रिमा विगत वर्षमा जस्तो भीड नहुने अनुमान गरिएको सदस्य सचिव डा ढकालले बताए । यद्यपि मन्दिरमा आउने जति भक्तजनलाई भने दर्शन गराउने गरी कोषले तयारी सुरु गरेको छ । भारत र नेपालका विभिन्न अखडाबाट महाशिवरात्रिमा पशुपति आउने साधुसन्तको सूची विगत वर्षदेखि नै पहिले नै कोषमा आउने गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि बन्द पशुपतिनाथ मन्दिर यस वर्ष पुस १ गतेदेखि बिहान ६ देखि अपराह्न २ बजेसम्म खुला गरिएको छ । भक्तजनले दिनभर मन्दिर खुला हुनुपर्ने माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment