९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपालको शीर्ष डिभिजनमा रहेका फुटबल क्लबहरुसँग विभिन्न विषयमा छलफल गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको छलफलमा ए डिभिजन क्लबलको कानुनी प्रकिया र युवा विकास कार्यक्रमको विषयमा छलफल भएको एन्फाले जनाएको छ । यी दुई विषयमा कसरी अघि बढ्ने भनेर एन्फाले क्लबसँग छलफल गरेको हो ।
नेपालमा ए डिभिजन क्लबहरु समुदायमा आधारित क्लबहरु छन् । अब फुटबल क्लबले फुटबलको गतिविधि मात्र गर्ने गरी विधान परिमार्जन गर्ने विषयमा छलफल भएको थियो । एन्फाले ए डिभिजन क्लबलाई प्राइभेट कम्पनीको रुपमा अगाडि बढाउन चाहेको छ ।
‘अब क्लबलहरुले फुटबल गतिविधि मात्र गर्नेगरी अघि बढ्नुपर्छ । प्राइभेट कम्पनीको रुपमा लैजाने विषयमा छलफल भएको छ,’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने ।
यस्तै छलफलमा एन्फाले एएफसी क्लब लाइसेन्स रेगुलेसन २०२१ र राष्ट्रिय क्लब लाइसेन्सको नियम र प्रक्रियाबारे जानकारी गराएको थियो । नयाँ सिजनका लागि एन्फा क्लब लाइसेन्सको प्रकियाबारे क्लबलाई जानकारी गराइएको हो ।
एएफसी क्लब लाइसेन्स रेगुलेसन २०२१ (नयाँ) २०२२ को क्लब प्रतियोगितामा लागु हुने एन्फाले जनाएको छ । एन्फाले फ्रेब्रुअरी १ मा क्लबहरुलाई एएफसी क्लब लाइसेन्सिङ रेगुलेसनको बारेमा जाकारी गराएको थियो ।
एन्फाले केही समयअघि मात्रै ए डिभिजन लिग खेल्न क्लबलाई एन्फा लाइसेन्स अनिवार्य गरेको छ । यस्तै एएफसीको प्रतियोगिता खेल्ने क्लबसँग एएफसी क्लब लाइसेन्स हुनु पर्नेछ ।
नेपालबाट विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले मात्र क्लब लाइसेन्स पाएको छ । विभागको टिम भएकोले फुटबलको छुट्टे टिम बनाएर विधान बनाएपछि आर्मी एएपसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब बनेको हो ।
व्यवासियक फुटबल विकास गर्नका लागि एएफसीले आफ्नो सदस्य राष्ट्रका क्लबहरुलाई एएफसी क्लब लाइसेन्सिङ प्रकियामा पूरा गर्न भनेको हो ।
प्रतिक्रिया 4