Comments Add Comment

दुर्गममा उड्ने एयरलाइन्सले लुक्ला र सिमकोटको विकल्प खोज्दै

२० फागुन, काठमाडौं । सामान्यतया कुनै पनि वायुसेवा कम्पनीले नयाँ रुटमा हवाई उडान थाल्दा वायुसेवा कम्पनी स्वयंले दुई गन्तव्यमा यात्रुको उपलब्धताबारे अध्ययन गर्छ । तर, हालै सुरु भएको नेपालगन्ज-पोखरा रुटमा आम प्रचलनभन्दा फरक तरिकाबाट उडान सुरु भएको छ । यो रुट स्थापित गर्न वायुसेवा कम्पनीभन्दा बढी भूमिका नेपालगन्ज र पोखराका पर्यटन व्यवसायीले खेलेका छन् । यो रुटमा अहिले सीता एयरले सातामा दुई उडान गरिरहेको छ । यो सेड्युल उडान भने होइन ।

सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यका अनुसार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) नेपालगन्ज र नाट्टा पोखराले एक-अर्को शहर घुम्ने गरी प्याकेज बनाएका छन् । यी दुई च्याप्टरले आफ्नो प्याकेज अनुसार यात्रु निश्चित गरेपछि सीता एयरसँग जहाज उपलब्ध गराउने सम्झौता गरेका हुन् । सोहीअनुसार सीता एयरले आफ्नो जहाज उपलब्ध गराउँछ । यो रुटमा अहिले सन्तोषजनक रुपमा यात्रु प्राप्त भएको आचार्यले जनाए ।

नेपालमा पर्यटक भित्रिन नपाएको एक वर्ष पुग्यो । सरकारले ११ चैत २०७६ मा लकडाउन शुरु गरेपछि पर्यटक आगमन बन्द भएको हो । पछिल्लो समय पर्यटक आगमनमा सामान्य वृद्धि देखिए पनि त्यसमा ठूलो हिस्सा कामकाजको सिलसिलामा नेपाल आएका भारतीय नागरिक र विदेशबाट आएका गैरआवासीय नेपालीको छ । यो अवस्थामा सानो जहाजबाट दुर्गम भेगमा उडान गरिरहेका वायुसेवा कम्पनी समस्यामा छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार अहिले दुर्गममा जहाज उडाउने कम्पनीले लुक्ला र सिमकोटको विकल्प खोज्दैछन् । किनकि लुक्ला र सिमकोट उडानमा साना जहाज उडाउने सीता, तारा र समिट एयरले पर्यटकलाई डलर फेयरमा सेवा दिन्थे । तर, पर्यटक आगमन बन्द भएपछि उनीहरुको आम्दानी सुकेको छ । ट्रंक रुट (सुगम भेगका ठूला विमानस्थल)मा नियमित उडान गर्ने वायुसेवा कम्पनीले भने दशैं-तिहार जस्ता चाडबाडपछि पर्याप्त यात्रु पाएका छन् । उनीहरुको विजनेश समेत सामान्य अवस्थामा फर्किसकेको छ ।

कम जोखिममा हवाई सेवा

नेपालगन्ज-पोखरा रुटमा अपनाइएको विजनेश मोडलबाट हवाई कम्पनीको जोखिम कम हुनेछ । आचार्यका अनुसार यस रुटमा यात्रु सुनिश्चित गर्ने जिम्मा व्यवसायीले लिएका छन् । सोहीकारण एयरलाइन्सले छुट्टै बजारीकरण गर्नु पर्दैन ।

अर्कोतर्फ जब नियमित जहाज उड्छ, त्यस अवस्थामा यात्रुको समस्या पनि हुँदैन । जहाज चड्नुअघि पोखरा र यस आसपासका जिल्लामा स्थायी घर भई कर्णाली र सुदूरपश्चिम भेगमा कार्यक्षेत्र भएका कर्मचारी तथा व्यापारी काठमाडौं वा भैरहवा आएपछि मात्र पोखरा जहाजमा आउन सक्ने विकल्प थियो वा स्थलमार्ग प्रयोग गर्नुपर्थ्यो ।

तर, पोखरा-नेपालगन्ज उडान शुरु भएपछि भने प्याकेजविनै जहाज चढ्नेहरुलाई समेत सहज भएको छ । नेपालगन्ज-पोखरा रुटमा साताको दुई (शनिबार र आइतबार) एक/एक उडान राखिएको छ । अहिलेसम्म तीन साता तोकिए अनुसार नै उडान भएको आचार्यले जानकारी दिए । नेपालगन्ज-पोखरा रुटको उडान समेत ३५ मिनेटको हो ।

सडकका कारण सुरु भएको थियो पोखरा-भरतपुर उडान

त्यसो त हव एयरपोर्ट -जहाज रात्री विसान गर्ने विमानस्थल)बाहेक सफल रुपमा चलिरहेको अर्को रुट हो पोखरा-भरतपुर । कोभिड १९ का कारण पर्यटकीय गन्तव्यमा उडान नहुँदा सीता एयरले विकल्प खोजेजस्तै बुद्धले नारायणघाट-मुग्लिन सडकखण्ड बिस्तारका समयमा दिएको विकल्प थियो पोखरा-भरतपुर उडान ।

यो रुटमा अहिले बुद्ध एयरले दैनिक एक नियमित उडान गर्छ । कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार सडक बिस्तारका कारण घण्टौं जाम हुने समस्याबाट विकल्प खोजेका यात्रुकै कारण यो रुट अब नियमित रुटमा परिणत भएको हो ।

बुद्धले समेत शुरुमा चार्टर्ड उडानबाटै सेवा शुरु गरेको थियो । पोखरा-भरतपुर उडानबाट हौसिएको कम्पनीले पोखरा-भैरहवा उडान पनि थाल्यो । यस रुटमा समेत अहिले दैनिक एक उडान हुन्छ । यी दुबै रुटमा १८ सीट क्षमताको जहाज प्रयोग गरिएको छ । जसले गर्दा दैनिक एक उडान गर्न यात्रुको समस्या नहुने कर्णले जानकारी दिए । ‘हामीले नियमित सेवा दियौं, यात्रुमा विश्वास बढ्यो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment