+
+
Shares

सरकार गिराउने षड्यन्त्र हुँदैछ : अर्थमन्त्री पौडेल

टोपराज शर्मा टोपराज शर्मा
२०७७ फागुन २० गते १६:३४

२० फागुन, बुटवल । अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् ।

‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नक्सा प्रकाशन गरेपछि ओली सरकारविरुद्ध प्रहार सुरु भएको पौडेलले टिप्पणी गरे । विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता भएर तीन बुंदे सहमति भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री र विप्लवले भोलि सहमति सार्वजनिक गर्ने बताए ।

विखण्डनको पक्षमा नारा लगाउने डा. सीके राउतलाई पनि सम्झाएर सहमतिमा ल्याउन ओली नेतृत्वको सरकार सफल भएको पौडेलले उल्लेख गरे । अर्थमन्त्री विष्णु पौडेलले कोरोना खोप खरिदका लागि बजेट अभाव नभएको पनि बताए । उनले सबै नेपालीलाई सरकारले निशुल्क खोप उपलब्ध गराउंने बताए ।

तिलोत्तमालाई महानगर बनाइन्छ

अर्थमन्त्री पौडेलले तिलोत्तमालाई महानगर बनाएर छाड्ने दावी गरेका छन् । तिलोत्तमालाई केन्द्र बनाएर सैनामैना, देवदह र सिद्धार्थनगरलाई जोडेर महानगर बनाउने दावी गरेका हुन् ।

रुपन्देही विकास निर्माणका दृष्टिले नेपालमै रोल मोडल बनेको दावी गर्दै उनले विकास सिक्न रुपन्देही आउनुपर्ने बताए ।

सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने चरणमा पुगेको भन्दै अर्थमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन पनि छिटै कार्यान्वयन हुने दावी गरे ।

झुम्सा खानेपानी आयोजना, बुटवल मेडिकल कलेजलाई मेडिकल युनिभर्सिटी बनाउने सोंचका साथ अघि बढेको पौडेलले बताए । लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा हुने उल्लेख गर्दै उनले गुरुयोजनाका लागि वजेट अभाव नहुने बताए ।

अर्थमन्त्री पौडेलले मोतिपुर औद्योगिक क्षेत्रबारे केही व्यक्तिले भ्रम सिर्जना गरिरहेको आरोप लगाए । भूमिहीन सुकुम्बासीको व्यवस्थापन गरेर निर्माण गरिने उनको दावी छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?