Comments Add Comment

‘प्रतिपक्षको भूमिका खेल्न नसके राजनीति नगरे हुन्छ’

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०७२ सालमा काठमाडौंमा सम्पन्न १३ औं महाधिवेशनदेखि नै पार्टी सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताउँदै आएका छन् । २०७४ को आम निर्वाचनमा पराजित भएपछि उनले महाधिवेशन लक्षित कार्यक्रमलाई तीव्रता दिए ।

१४ औं महाधिवेशनमा कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका उनले जिल्ला दौडाहाका क्रममा पार्टी संस्थापनको खुलेरै आलोचना गर्ने गरेका छन् । पछिल्लो केही महिनादेखि भने उनले सरकारको आलोचना गर्न थालेका छन् । संसद विघटन र सरकारको ‘पर्फमेन्स’प्रति उनले चर्को टिप्पणी गर्ने गरेका छन् ।

विभिन्न जिल्लामा पुगेर काठमाडौं फर्केका नेता कोइरालासँग वर्तमान राजनीति, कांग्रेसको भूमिका र उनको उम्मेदवारीमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

प्रस्तुत छ, डा. कोइरालासँगको कुराकानीको सम्पादित अंश :

जिल्ला दौडाहामा हुनुहुन्छ, संसद् विघटन यताका राजनीतिक घट्नाक्रमलाई जनताले कसरी बुझेका रहेछन् ?

मैले नेपाली कांग्रेसका कार्यकर्ता र प्राध्यापक–बुद्धिजीवि गरी दुईथरि मान्छेहरूसँग भेटघाट गरें । पार्टी कार्यकर्तामा निर्वाचन भयो भने कांग्रेस बलियो बन्छ भन्ने धारणा पाएँ । तीनवटै तहमा कांग्रेस कमजोर भएकाले त्यस्तो विचार आएको हुनसक्छ ।

मैले उहाँहरुलाई संसद पुनर्स्थापना नभए संविधान ‘डिरेल’ हुन्छ भनेर सम्झाएँ । उहाँहरुले पनि चुनाव नहुने रहेछ भन्ने बुझ्नुभयो । बुद्धिजीविहरू त संसद विघटन गलतै हो भन्नेमा सुरुदेखि नै स्पष्ट थिए । ९५ प्रतिशत बुद्धिजीविले ५ पुसको कदम गलतै हो भनिरहेका थिए ।

चुनाव भए धेरै सिट जितिन्छ भन्नेमा कार्यकर्ता मात्र हो कि कांग्रेस नेृतत्व पनि ?

केही साथीहरूले केपी ओलीजीले वैशाखमै चुनाव गराउँछन् भनेर तर्क गरे । जबकी, निर्वाचन आयोगले आजसम्म पनि नेकपा विवादमा एउटा पक्षलाई आधिकारिकता दिन सकेको छैन । आयोगले आधिकारिकता नदिएसम्म चुनावमा भाग लिन सम्भव हुँदैन । त्यसैले म चाहिँ कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुँदैन र यो संविधान जान्छ भन्नेमा म प्रष्ट थिएँ ।

कांग्रेस नेतृत्वले यो नबुझेको हो कि प्रधानमन्त्रीसँग साँठगाँठ गरेर मौन बसेको ?

उहाँहरूबीच केही न केही समझदारी भएको पटक–पटकको भेटघाटले देखाएको छ । भित्री कुरा के हो, भन्नुभएको छैन, तर हामीले केन्द्रीय समितिमा अल्पमतमा भएपनि विघटनलाई स्वीकार गरेनौं । विघटनको विरोधमा कार्यक्रम पनि गर्‍यौं ।

तर सर्वोच्च अदालतको फैसलासँगै संसद पुनर्स्थापना हुँदा पनि कांग्रेसलाई प्रश्नले छाडेन । प्रधानमन्त्रीको राजीनामा माग्न समेत सकेन भनेर मानिसहरुले प्रश्न गरे, जबकी यो प्रकरणपछि धेरै प्रश्न त प्रधानमन्त्रीमाथि उठ्नुपर्ने थियो होइन ?

मैले त ओलीजीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर सुरुदेखि नै भन्दै आएको छु । हाम्रो पार्टी सभापतिजीले पनि भर्खरै सार्वजनिक मञ्चबाट नरम भाषामा नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो भन्नुभएको छ ।

तर, कांग्रेस पार्टीले आधिकारिक वक्तव्य जारी गरेको छैन । यसले पनि राजनीतिमा अर्थ राख्छ । आगामी चुनावमा कांग्रेसले जित्छ, जित्दैन भन्ने कुरा धेरै हदसम्म पार्टी संगठनमा भर पर्छ । तर लोकतन्त्रका लागि लडेको पार्टीले त्यति पनि नबोल्दा त कमजोरी देखिन्छ नै ।

संसद अधिवेशन आह्वान भएको छ । नेकपाको दुबै समूहले कांग्रेसको साथ खोजेको छ । अब कसलाई सघाउनुहुन्छ ?

अब कसरी अगाडि जाने भन्ने सम्बन्धमा पार्टी केन्द्रीय समिति बैठकमा छलफल गर्छौं । नेकपा कानूनी रुपमा विभाजन नभएकाले ‘पर्ख र हेर’ को अवस्था पनि छ ।

निर्वाचन आयोग संसदतिर हेर्ने, संसदमा निर्णायक भूमिकामा रहेको कांग्रेस निर्वाचन आयोगतिर हेर्ने । ‘पर्ख र हेर’ नीतिले राजनीतिको गाँठो नफुकाउने भयो नि ?

‘पर्ख र हेर’सँगै सभापति र वरिष्ठ नेताहरूले छलफल गरिरहनु भएको होला । हामीले पनि आफ्नो तहबाट गरिरहेका छौं । सर्वोच्च अदालतको आदेशअनुसार २३ गते बोलाइएको संसद अधिवेशन २४ गते नै रोकिदिन्छन् कि भन्ने डर पनि छ । खाली रहेको उपसभामुख निर्वाचनको तालिका सार्वजनिक गरियो भने चाहिँ संसद केही दिन नरोकिने अवस्था बन्छ ।

उपसभामुखको चुनावले कांग्रेसलाई एउटा निर्णयमा पुग्न पनि मद्दत गर्छ ?

गर्छ नि । हामीले खेल्ने भूमिका छ, तर नेताहरूले संसदमा कसरी खेल्नुहुन्छ थाहा छैन ।

एउटा दृश्यको कल्पना गरौं । निर्वाचन आयोगले नेकपाको आधिकारिता विवाद टुंग्याएन, तर प्रचण्ड–माधव समूहले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्यायो भने कांग्रेसले के गर्छ ?

हामी प्रतिपक्षमा छौं । अविश्वासको प्रस्तावको पक्षमा भोट हाल्नु प्रतिपक्षको धर्म हो ।

अविश्वासको प्रस्ताव आएन भने ?

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ भनेर भन्नुपर्छ । प्रधानमन्त्री ओलीजीले त संसद विघटन बदर भएसँगै राजीनामा दिनुपर्ने हो । उहाँले दिन्न भन्नुभयो, ठीकै छ । संसदमा विश्वासको मत त लिनुपर्‍यो नि ।

कांग्रेस आफैंले अविश्वासको प्रस्ताव ल्याउने सम्भावना चाहिं कति छ ?

अविश्वासको प्रस्ताव ल्याउन चाहिने २५ प्रतिशत सांसद हामीसँग छैन । त्यसका लागि जसपाको समर्थन आवश्यक पर्छ । फेरि, नेकपा विभाजन नहुँदासम्म हामीले अविश्वासको प्रस्ताव ल्याएर पनि काम छैन । एक पटक अविश्वासको प्रस्ताव ल्याएपछि अर्को एक वर्ष ल्याउन पनि पाइँदैन ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन आए भने कांग्रेसले के गर्छ ?

हामी त प्रतिपक्षी हौं । त्यो अवस्थामा पनि विपक्षमा मत हाल्नु हाम्रो धर्म हो । यसमा पनि दुविधा भयो भने त सकियो नि ।

कांग्रेस यही दुविधामा छ होइन र ? प्रदेश १ र ३ मा अविश्वासको प्रस्ताव दर्ता भएको तेस्रो महिना भइसक्यो, खै त कांग्रेसले निर्णय गर्न सकेको ?

प्रदेश ३ को त मलाई थाहा छैन, १ मा भने कांग्रेस प्रष्टसँग उभिएको छ ।

व्यक्तिगत रुपमा तपाईं प्रष्ट हुनुहोला, पार्टीले त निर्णय गर्न सकेको छैन नि ?

नेकपा फुटेकै छैन । उनीहरूले नै विवाद गरेर सदन रोकेका छन् । कांग्रेस प्रष्ट छ– अविश्वासको प्रस्तावमा मत हाल्नु प्रतिपक्षको धर्म हो । यो धर्म निर्वाह गर्न नसके राजनीति नगरे हुन्छ ।

यो पछिल्लो दुई महिनाको कुरा भयो । नेकपाको सरकार बनेपछि कांग्रेसले खेलेको प्रतिपक्षीय भूमिकाबाट कति सन्तुष्ट हुनुहुन्छ ?

५ प्रतिशत सन्तुष्ट, ९५ प्रतिशत असन्तुष्ट छु ।

आफू संसदमा नभएर त्यस्तो लागेको हो कि ?

केही मानिस त्यस्तो भन्छन् । त्यही भएर म नबोली बसेको थिए । अब विस्तारै बोल्न थालेको छु ।

सर्वोच्च अदालतको आदेशअनुसार २३ गते बोलाइएको संसद अधिवेशन २४ गते नै रोकिदिन्छन् कि भन्ने डर पनि छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय सभामा मनोनित गरेको तीन सांसदको नाम यो सरकारले खारेज गर्‍यो । यो विषयलाई लिएर संसद अवरुद्ध गर्न सकेनौं ।

सरकारले नीति तथा कार्यक्रम ल्याउँदा समर्थन गर्‍यौं, जबकी बिरोध गर्नुपर्थ्यो । यस्ता धेरै घट्ना छन् । आफू सांसद नभएकोले आलोचना गर्‍यो भनेकाले मात्र नबोलेको हुँ ।

हाम्रो पार्टीका दुई–चारजना बाहेक अरु सांसदको ‘पर्फमेन्स’ हेर्नुस् त… । संसद उपसभामुखविहीन भएको कति भयो ? यो विषयमा बोलेको खोइ ? उपसभामुख कांग्रेसले नै पाउनुपर्छ भन्ने पनि होइन, तर संसदले त पाउनुपर्‍यो नि ।

कांग्रेसले यो सरकारलाई धेरै छुट दियो । यती छुट त संसारमा कुनै विपक्षी दलले दिँदैन ।

यो अवस्था आएको पार्टी कि नेतृत्वका कारण ?

दलको नेताको कारणले पनि यस्तो हुन्छ । संघ र प्रदेशमा हाम्रो सरकार नभएकाले पनि यस्तो भएको हुनसक्छ, तर नेतृत्वले त मार्गदर्शन गर्नुपर्ने हो नि ।

यसमा पार्टीभित्रको प्रतिपक्ष (संस्थापन इतर समूह) पनि त दोषी होला नि ?

हामीले सभापतिका गलत कुराको जहिल्यै विरोध गरेका छौं । कतिपय मुद्दामा चुप पनि बस्यौं होला, तर धेरै मुद्दामा बोलेका छौं । त्यसको सुनुवाइ नहुँदा परिणाम पनि भोग्यौं । चुनावमा पराजित भयौं । अब भदौमा महाधिवेशन गर्दैछौं । त्यहाँबाट नयाँ नेतृत्व चयन हुन्छ ।

१४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनेमा निकै आशावादी हुनुहुन्छ ?

अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालले गर्दा कार्यकर्ताले सबै कुरा बुझेका छन् । कांग्रेस किन यस्तो भइराखेको छ भन्ने सबैलाई थाहा छ ।

सभापतिका आंकाक्षी यति धेरै छन् कि उनीहरूकै कारणले वर्तमान नेतृत्वलाई निरन्तरताको लागि सहज हुन्छ पनि भनिदैछ नि ?

मलाई त्यस्तो लाग्दैन । हामी सबैसंग गम्भीर सम्वादमा छौं । व्यक्ति–व्यक्ति र समूहमा पनि छलफल गरिरहेका छौं ।

संस्थापन इतरबाट सभापतिमा एउटै उम्मेदवार हुन्छ त ?

हामीले सभापतिका गलत कुराको जहिल्यै विरोध गरेका छौं । कतिपय मुद्दामा चुप पनि बस्यौं होला, तर धेरै मुद्दामा बोलेका छौं । त्यसको सुनुवाइ नहुँदा परिणाम पनि भोग्यौं । चुनावमा पराजित भयौं ।

म त त्यही देखिराखेको छु ।

सबै त्यही भन्छन्, तर आफूलाई अरुले सभापतिको उम्मेदवार मानिदिँदा त होला नि ?

छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी हाम्रो पनि हो ।

सहमतिका लागि सभापतिको उम्मेदवारी छाड्न तयार हुनुहुन्छ ?

म सभापतिबाहेक अन्य पदमा उम्मेदवारी दिन्न । मैले भनेको छु– म जित्ने गरी उठ्छु, त्यो पनि एक पटकका लागि । सभापति भएपछि म चार वर्षका लागि संगठनमा केन्द्रित हुन्छु, प्रधानमन्त्रीको दाबेदार हुन्न ।

महामन्त्री, उपसभापति वा अरु पदमा बसेर पार्टीलाई अगाडि बढाउन के समस्या छ ?

अहिले महामन्त्री भएर अर्को पटक सभापति बन्दा मेरो उमेर धेरै भइसकेको हुन्छ । अहिले सक्रिय छु, जिल्ला–जिल्ला हिँडिरहेको छु, भोलि त्यस्तो हुन्न । पार्टीलाई लिकमा ल्याउँ र सक्रिय भूमिकाबाट विस्तारै अलग बनुँ भन्ने मेरो चाहना हो ।

सबै गिरिजाप्रसाद पनि हुँदैनन् । ८४–८५ वर्षको उमेरमा तातो सडकमा बस्न सक्ने विरलै भेटिन्छन् । अहिले नेताहरूले सकिराख्नु भएको छैन, कुर्सी मोहले तान्न पनि छाडेको छैन । मलाई त्यसो गर्न आफ्नै स्वाभावले दिँदैन ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment