Comments Add Comment
नाटक-समीक्षा :

जब महाराजको सुरुवाल हरायो…

मञ्चमा एकदर्जन सेतो वस्त्र लगाएका मानिस भरिभराउ थिए । यतिकैमा हेलिकोप्टर आएको गडगडाहट सुनिन्छ । हेलिकप्टरबाट मन्त्रीको दलबल ‘भ्यू टावर’ अवलोकन गर्न गाउँ आइपुगेका हुन्छन् ।

यता जनताहरूबीच भने ‘भ्यू टावरको कुनै अर्थ नरहेको’ खासखुस सुनिन्छ । तर सत्तामा बस्नेको जवाफ हुन्छ- ‘देशैभरि भ्युटावर बनेपछि कुनै पनि कुरा भुइँबाट हेर्नु पर्दैन !’

यो ‘अर्को अर्थ नलागेमा’ नाटकको सुरुवाति दृश्य हो । मण्डला थिएटरमा मंगलबारदेखि मञ्चन भइरहेको नाटक भाषाविद् शरच्चन्द्र वस्तीले लेखेका हुन् । सुनिल पोखरेलको परिकल्पना रहेको नाटकमा तीन दर्जन कलाकारहरूले अभिनय गरेका छन् । निर्देशनमा भने दशजना युवाहरूको नाम एकैसाथ राखिएको छ ।

नवीनचन्द्र अर्याल, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेल र नीता राई निर्देशन-मण्डलमा रहेका छन् ।

एक वर्षदेखि ‘अर्को अर्थ नलागेमा’ नामको व्यंग्यात्मक स्तम्भ लेख्दै आएका वस्तीले ४० को दशकमा गोरखापत्रमा यही नामको स्तम्भ लेख्थे । लकडाउपछि उनले यही स्तम्भलाई नाटकको आकार दिँदै रंगमञ्चको लय फर्काए । वस्तीले लेख्ने स्तम्भझैं नाटक पनि रसिलो-चोटिलो छ ।

नाटकले कोरोनाकालमा जनताले खेप्नुपरेको सास्ती तथा भष्ट्राचारको अभेद्य परम्परामाथि प्रहार गरेको छ । केपी शर्मा ओली सरकारलाई ‘महाराज’को संज्ञा दिँदै नाटकले समसमायिक राजनीतिमाथि तीखो व्यंग्य गरेको छ ।

डेढघण्टा लामो नाटकले नेपाली समाजका दशवटा भिन्न-भिन्न कथावस्तु उठाएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएदेखिका घटनामा नाटकले बढी जोड दिएको छ । भ्यूटावर बनाउने कुरा, कोरोना हटाउन बेसार-पानी खाने कुरा, भ्रष्टाचार नियन्त्रणका कुरा तथा नेताहरूको मनपरिवाद नै नाटकको मूल कथावस्तु हो ।

नाटकमा उठाइएका सबै पात्रको कथामा अहिलको समयको विद्रुप चित्रण पाइन्छ ।

आम नागरिकको आवाज

नाटकको मध्यतिर श्यामलाल नाम गरेका वृद्धलाई मालपोतका एकजना दलाल खोज्दै आइपुग्छ । दलालले वृद्ध मानिसको जग्गा उसकै भाइले मृत्यु भइसकेको भन्दै हडप्न खोजेको बताउँछ । जीवनभरि भारतमा श्रम गरी जोडेको जग्गा अर्कैले हडप्न खोजेको थाहा पाएका श्यामलाल मालपोत कार्यालय हुँदै नगरपालिका पुग्छन् । त्यहाँ उनको निधन भइसकेको व्यहोरा दर्ता भइसकेको हुन्छ ।

श्यामलालले आफू जिउँदो भएको कुरा सरकारी हाकिमहरूलाई सुनाउँछन् । तर, त्यहाँ उनको कुरा कसैले सुन्दैन । बरू उल्टै श्यामलालई जीवित भएको प्रमाणपत्र लिएर आउने आदेश दिइन्छ ।

आजित बनेका श्यामलाल आफू जीवित भएको प्रमाण खोज्न गाउँ जान्छन् । ४० वर्षपछि गाउँ गएका उनलाई त्यहाँ पनि कसैले नचिनेको बताइन्छ । यसपछि सरकारी कर्मचारीले उनको बुढी औलाको ल्याप्चे परिक्षण गराउँछन् । तर श्यामलालको देब्रे हातको बुढी औला भारतमा मजदुरी गर्न जाँदा काटिएको हुन्छ ।

बुढी ओला काटिएको प्रमाणित गर्न श्यामलाल भारत पुग्छन् । त्यहीबेला लकडाउन सुरू हुन्छ । धेरै हण्डर खाएर उनी नेपाल र्फकन्छन् तर अझै पनि आफ्नो जग्गा आफ्नो नाममा ल्याउन सफल हुँदैनन् ।

यसैबेला दलालले उनीसँग दुई लाख रूपैयाँ घुस माग्छ । त्यो दिएकै दिन वृद्धको काम बन्छ । एउटा वृद्धका यो कारुणिक दृश्यले दर्शकको मन कुँडिन्छ ।

एकजना जीवित मानिसलाई कागजी झमेलामा पारेर कसरी फसाइन्छ भन्ने कथा यो दृश्यले देखाएको छ ।

अर्को दृश्यमा पुस्तकालय खोल्ने प्रस्ताव लिएका केही मानिस मन्त्रीकहाँ पुग्छन् । त्यतिबेला मन्त्री अनेक आसनमा योग गरिरहेका हुन्छन् । तर मन्त्री र आसेपासेले पुस्तकालय खोलेर आर्थिक उन्नति हुँदैन भन्दै व्यापारिक कम्प्लेक्स खोल्न सुझाव दिन्छन् । उनीहरूले ‘पढेको भए हामी पनि पदमा पुग्न सक्ने थिएनौं’ भन्दै आफ्नै खिल्ली उडाइरहेका हुन्छन् ।

पिएले पनि मन्त्रीले जे भन्दा पनि होहो भन्दै समर्थन गरेको दृश्य निकै घतलाग्दो छ । यसपछि गोग गरिरहेका मन्त्रीले पनि पुस्तकालय खोल्ने योजना सदाका लागि अन्त्य गर्दै सपिङ मल खोल्ने निर्णय गर्छन् ।

नाटकले सबैभन्दा धेरै कोरोनाकै विषय उठाएको छ । कोरोनाकालमा आम नागरिकले पाएका सास्तीलाई रमाइलो अभिनयमा उतारिएको छ ।

एकजना सेवाग्राही बैंक पुग्दा ढोकैमा बन्दुकले उनको ज्वरो नापिन्छ । उनले बैंकभित्र हाछ्यूँ गर्नासाथ कर्मचारीको भागाभाग हुन्छ । हाँछ्यूँ गरेको कसुरमा उनलाई पकि्रन प्रहरी आउँछ र क्वारेन्टाइन लगिन्छ ।

यता छरछिमेकमा पनि कोरोनाकै कारण हाहाकार मच्चिरहेको हुन्छ । मानिसकहरू रोगसँग भन्दा प्रहरीसँग धेरै डराएका देखिन्छन् । रागले भन्दा भोकले मर्ने त्रासमा उनीहरूको दैनिकी बितेको देखिन्छ ।

हास्यप्रधान नाटक

नेपाली नाट्य परम्परानमा गाइजात्राबाहेक अन्यत्र वियोगान्त नाटक नै चर्चित बनेका देखिन्छन् । प्रेम-सम्बध तथा सामाजिक असमानताले भरिएका वियोगका नाटक नेपाली समाज लोकप्रिय छन् ।

तर शरच्चन्द्र वस्तीको नाटक ‘अर्को अर्थ नलागेमा’ हास्यप्रधान छ । व्यंग्यको चास्नीमा हास्य राखेर उनले दैनिक जीवनका दुःखकष्ट दर्शकलाई पस्केका छन् ।

यद्यपि, कतिपय दृश्य असान्दर्भीक हास्यले दर्शकलाई अन्योल बनाउँछ । नेपाली जनजीवनका प्रचलित अपशब्दको बारम्बार प्रयोग पनि अनुपयुक्त नै देखिन्छ । महिला पात्रले बारम्बार अश्लील शब्द के कारणले बोलिरहेका छन् ? भन्ने प्रष्ट नपारी संवाद लेखिएको भान हुन्छ ।

नाटकको अन्तिममा जोकर महाराज बाँसुरी बजारहेका हुन्छन् । बेसुरमा बासुरी बजाइरहेका उनलाई वरिपरिका चाटुकारले ‘कस्तो राम्रो बजाउनुभयो’ भन्दै मुग्ध पार्छन् । यस्तैमा पाश्र्वमा मेलवादेवीको ‘सवारी मेरो रैलैमा’ बोलको गीत बजाइन्छ । गीतले केपी शर्मा ओललिे रेल ल्याउने घोषणालाई सीधा प्रहार गरेको देखिन्छ ।

फेरि एकदिन महाराजले गरिब जनताको सूची तयार गर्न अह्राउँछन् । सूची तयार गर्न गएका कर्मचारीले वडाअध्यक्षदेखि गाउँका काजी, व्यापारीसम्मको गरिब-सूची तयार पारी बुझाउँछन् । अन्त्यमा सबै गरिबलाई पैसा बाँडेर बजेट ठीक समयमा सकाइन्छ ।
आफ्नो कामले आफैं मन्त्रमुग्ध बनेका महाराजको एकदिन सुरुवाल हराउँछ । रानीले सुरुवाल हराएपछि अब कसरी जनताको अगाडि मुख देखाउने भन्दै पीर गर्छिन् । एकदिन टुँडिखेलमा महाराज पिङ उद्घाटन गर्न जान्छन् । त्यहाँ खुट्टा छोपिने दौरा लगाएर गएका महाराज पनि उपबुज्रुक भएर पिङ मच्चाउन थाल्छन् ।

जनताले महाराजको चर्तिकलासँगै उनको नांगोपन देख्छन् । यता सबै मन्त्रीहरूलाई महाराजको सुरुवाल हराएको विषयमा सभामा बोलाइन्छ । त्यहीबेला मञ्चको बत्ती निभ्छ । महाराज मस्त हाँस्छन् ।

बत्ती बल्दा मन्त्रीहरूको पनि सुरुवाल हुँदैन । उनीहरू पनि अर्धनग्न नै हुन्छन् । सबैको असली रुप दर्शकले देखेसँगै यतिकैमा नाटक सकिन्छ ।

नयाँ स्वादको यो नाटकले कोरोनाको पीडामा रहेका दर्शकलाई अवश्य राहत दिलाउँछ । यद्यपि, नाटकका पारखीलाई भने हतारोमा गरिएको प्रहसनझैं केही खल्लो लाग्न सक्छ ।

सबै तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment