+
+
Shares

महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छ : पम्फा भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १३:५२

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् ।

सोमबार १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताइन् । संविधानत्ः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘हामी ५० प्रतिशतभन्दा बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर पाउनु पर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानत्ः, कानुनत्ः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौं ।’

संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागू हुन नसकेको भन्दै उनले कार्यान्वयन तहमा चुनौती रहेको बताइन् ।

‘हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकार सम्बन्धी कानुन बनेका छन्,’ उनले भनिन्, ‘त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडि बढाउनुपर्छ ।’

नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकार कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, ‘राजनीतिक अधिकार र संविधान र कानुनमा पाउने अधिकारले मात्रै पुग्दैन । त्यसको कार्यान्वयन र कार्यान्वयनको आधार आर्थिक समानता हो । त्यसैले आर्थिक हिसाबले सबै क्षेत्रमा समान र आत्मनिर्भर बन्न सक्ने महिलाको स्थितिलाई सुनिश्चित गरेर मात्रै राजनीतिक लगायतका अरु सामाजिक, आर्थिक अधिकारका हामीले उपभोग गर्न सक्छौँ ।’

पैतृक सम्पत्ति माथिको समान अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्ने कुरा, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गर्ने तथा बेरोजगार महिलाहरुलाई बेरोजगार भत्ता उपलब्ध गराउने व्यवस्था गरी संविधानले दिएको अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?