
चलचित्र ‘स्केप’मा अभिनय र ‘ठूलो मान्छे’मा लगानी । दुबैतिरबाट नायक प्रदिप खड्काले सफलता पाउन सकेनन् । चलचित्रबाट अब केही पनि नहुने रहेछ भन्ने ठाने उनले । यसपछि, प्रदिप खड्का अष्ट्रेलिया जाने तयारीमा लागे । अष्ट्रेलिया गएर आफ्नो करिअरलाई नयाँ ढंगबाट अगाडि बढाउने सोचमा पुगेका उनको भाग्य बदलियो ।
उनको भाग्य चलचित्र ‘प्रेमगीत’ नामक चलचित्रबाट बदलिएको थियो । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गर्दा प्रदिपको अभिनय, उनको चकलेटी लुक्सले यूवायूवतीलाई फ्यान बनायो । प्रदिपले बोलेका संवादसँगै दर्शक रोए । यसपछि भने प्रदिपलाई करिअरमा पछाडि फर्किएर हेर्नु परेको छैन ।
आजको दिनमा प्रदिपका लागि चलचित्र बनाउने निर्माताको अभाव छैन । उनी भने चुजी बनेका छन् । ‘प्रेमगीत, प्रेमगीत २, रोज, लभ स्टेशन, लिलिबिली’ लगायतका चलचित्रमा उनले काम गरिसकेका छन् । उनी अभिनित चलचित्र ‘प्रेमगीत ३’ रिलिजका लागि तयार छ भने उनी चलचित्र ‘प्रकाश’को छायांकनको तयारीमा छन् ।
नेपाली चलचित्रमा थोरै मात्र चकलेटी नायकहरुको अभिनयको पनि प्रशंसा हुन्छ । यो सूचीमा प्रदिपको नाम सबैभन्दा अगाडि आउँछ । उनी भने अब आफ्नो करिअरलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने सोचमा पुगेका छन् । यही अनुसार नै उनले ३ महिना अभिनयको कोर्ष पनि सिके ।
यूवायूवतीहरुमाझ राम्रो क्रेज बनाएका उनै प्रदिप आजबाट २९ बर्षमा प्रवेश गरेका छन् । नेपाली चलचित्रका स्टार नायकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
प्रतिक्रिया 4