Comments Add Comment

हत्या अभियोग लागेका व्यक्ति १ लाख धरौटीमा रिहा

२७ फागुन, जनकपुरधाम । हत्याको अभियोग लागेका उदयपुर त्रियुगा नगरपालिकाका निरज खातीलाई जिल्ला अदालत धनुषाले १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक त्रियुगा नगरपालिका–७ का प्रमोद रेग्मीको हत्या गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले खातीविरुद्ध अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।

रेग्मीको गत माघ १३ गते धनुषामा हत्या भएको थियो । ३५ बर्षीय खाती रेग्मीका साला हुन् । प्रहरीका अनुसार खातीले सेयर लगानीसम्बन्धी विवादमा आफूले बाँसको लठ्ठीले टाउकोमा हानेर हत्या गरेको स्वीकारेका थिए ।

बुधबार जिल्ला न्यायाधीश केशव अर्यालको एकल इजलासले खातीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आरोपितले हत्या स्वीकारिसकेको अवस्थामा धरौटीमा छाडिनु आश्चर्य भएको एक प्रहरी अधिकृतले बताए । ती अधिकृतले भने, ‘हामीले त सुक्ष्म अनुसन्धान गरेर मुद्दा दर्ता गरेका हौं । कसरी धरौटीमा छाड्ने आदेश आएको हो थाहा भएन ।’

अधिवक्ता प्रदीप मिश्र आरोपितले प्रहरी समक्ष हत्या स्वीकार गर्दैमा अदालतले मान्न नसक्ने बताए । ‘अदालतमा स्वीकार गरेको खण्डमा पुर्पक्षकै लागि थुनामा पठाउनुपर्ने हो’ उनी भन्छन्, ‘यदि प्रहरीमा स्वीकार गरेको छ भने त्यसले त्यत्ति महत्व राख्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment