Comments Add Comment

सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य ७५० किन ?

४ चैत, काठमाडौं । सौरभ समूहको उत्पादित सर्वोत्तम सिमेन्ट कम्पनीले आईपीओ जारी गर्न बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको छ । ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक र प्रभु क्यापिटल तथा एनआईबीएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेर कम्पनीले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी सुरु गरेको हो ।

पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेको कम्पनीको ३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । चुक्ता पुँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता बराबरको आईपीओ जारी हुने सौरभ ग्रुपका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले जानकारी दिए । सिमेन्टको आईपीओको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ भन्दा बढी हुने कम्पनीले जनाएको छ ।

सर्वसाधरणलाई २५ लाख कित्ता आईपीओ

बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न सबै प्रक्रिया पूरा गरेको कम्पनीले बुधबार बिक्री प्रबन्धक तोकेसँगै अब आईपीओ जारी गर्ने काम अघि बढेको जनाएको छ । अब धितोपत्र बोर्डले आईपीओका लगि अन्तिम स्वीकृति प्रदान गेपछि कम्पनीको आईपीओ खुल्ने छ ।

कम्पनीले निष्कासन गर्ने ६० लाख कित्ता आईपीओ मध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, स्थानीय जिल्लाबासीलाई ८ लाख कित्ता, कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता र अन्य सर्वसाधरणकालागि २५ लाख कित्ता छुट्ट्याइएको छ ।

पहिलो बुक बिल्डिङ आईपीओ

कुनै पनि सेयरको किताबी मूल्य निर्धारण गर्ने प्रक्रियालाई ‘बुक बिल्डिङ’ भनिन्छ । यस अघि प्रतिकित्ता एक सय रुपैयाँ अंकित आईपीओ जारी हुँदै आए पनि बजारमा रहेर निकै राम्रो बिजनेस गरेका कम्पनीहरुले एक सय दरको आईपीओ जारी गर्न मानेका थिएनन् । ठूलो सञ्चीत कोष भएका सार्वजनिक कम्पनीहरुले प्रिमियम मूल्य राखेर आईपीओ जारी गर्ने प्रक्रियालाई नै बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन भनिन्छ । धितोपत्र बजारमा नआएका त्यस्ता कम्पनीलाई बजार प्रवेशको बाटो खोल्न गत साउन नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ कार्यविधि ल्याएपछि यौ प्रक्रियाको बाटो खुलेको थियो ।

संसारभर यही विविधबाट आईपीओ आउने भए पनि नेपालमा भने यस अघि अभ्यास भएको थिएन । राम्रा कम्पनीको सेयरको भाउ सस्तोमा बिक्री नगर्ने प्रचलन अनुसार आफ्नो कम्पनीको आईपीओ बुक बिल्डिङ प्रक्रियाबाट आउन लागेको अध्यक्ष न्यौपाने बताउँछन् । सर्वोत्तम सिमेन्टले आईपीओ निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकसँग परामर्श गरेर प्रारम्भिक विवरणपत्र, बिक्री गर्ने आईपीओ संख्या, धितोपत्रको अनुमानित मूल्य, त्यस्तो मूल्याङ्कनको आधार र औचित्य समेत पूरा गरिसकेको छ ।

कम्पनीले तोकेको आशय मूल्यमा योग्य संस्थागत लगानीकर्ताले बोल कबोल गरेर र ‘कटअफ प्राइस’ तोकिएपछि सर्वसाधारणका लागि मूल्य तय हुने कम्पनीले जनाएको छ । हाल कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्नेछ । सर्वसाधारणका लागि १० प्रतिशत कम अर्थात ६७५ मा सेयर निष्काशन गर्न सक्ने कम्पनीले जनाएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओ मूल्य ७५० किन ?

व्यवसायीक उत्पादन सुरु भएदेखि नै निरन्तर नाफा कमाउँदै आएको सर्वोत्तम सिमेन्ट पछिल्लो तीन वर्षको औषत मुनाफा कर पछिको मात्रै एक अर्ब चार करोड छ । दैनिक तीन हजार मेट्रिकटन क्लिंकर तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीले कम चुक्त्ता पुँजीमा बढी प्रतिफल दिनसक्ने अध्यक्ष न्यौपाने बताउँछन् ।

पछिल्लो तीन वर्षको औषत प्रतिसेयर आम्दानी ५२ रुपैयाँ रहेको र आगामी तीन वर्षसम्म ईपीएस ४५ रुपैयाँबाट नघट्ने कम्पनीको दाबी छ । गत माघ मसान्तसम्म दुई अर्ब ३१ करोड रिजर्भ रहेको कम्पनीको सम्पत्ति २० अर्ब (२ हजार करोड ) रुपैयाँ बराबरको छ । कम्पनीले आगामी तीन वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने भएकाले प्रतिफल धेरै दिन सक्ने पनि जनाएकोछ । आईपीओबाट प्राप्त हुने रकम मध्ये ४० प्रतिशतले ऋण भुक्तानी गरी ऋण मुक्त हुँने र बाँकी रकमले उत्पादन क्षमता दोब्बर बनाउने कम्पनीको योजना छ ।

तीन महिना पछि १० प्रतिशत बोनस र २५ प्रतिशत लाभांश

कम्पनीले आईपीओ जारी गरेको तीन महिना पछि नै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभाशं दिने दाबी गरेको छ । कम्पनीले उक्त क्षमता राख्ने भन्दै सौरभ समूहका अध्यक्ष न्यौपानेले भने ‘आईपीओ परेको तीन महिना पछि प्रतिसेयर एक सय रुपैयाँ आम्दानी पाइने छ ।’ आईपीओका लागि सर्वसाधरणले तिरेको प्रिमियमको १५ प्रतिशत रकम रिजर्भमा रहने भएकाले बोनस दिन कठिनाइ नहुने उनले बताए ।

डेनमार्कबाट आयातित अत्याधुनिक भीएमआर प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने भएकाले लागत कम हुने र बचत धेरै हुँदा प्रतिफल धेरै हुने कम्पनीको विश्वास छ । कम्पनी आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित भएको ग्रिन सर्वाेत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्ट नेपालभर बिक्री–वितरण गरिरहेको छ । २५ वर्षदेखि सिमेन्ट उत्पादनको अनुभव भएको सञ्चालकबाट सञ्चालित उद्योगको ९० वर्षलाई पुग्ने चुनढुंगा खानी रहेको भविष्यमा ह्वाइट सिमेन्ट तथा रेडी मिक्स कंक्रिट उत्पादनको योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment