Comments Add Comment

लोधा जातिको परम्परागत पहिरन : अरूभन्दा के-के छ फरक ?

लोधा जाति रुपन्देही जिल्लाको दक्षिणी भेगमा बसोबास गर्ने आदिवासीहरू हुन् । उनीहरू आफूलाई यदुवंशी भन्न रुचाउँछन् । यो जातिको मुख्य पेसा कृषि हो । यो जातिलाई हिन्दु वर्ण व्यवस्था अनुसार क्षेत्रीय वर्णमा राख्ने गरिन्छ ।

लोधा जातिको नामको पछि पनि केही कथाहरू जोडिएको पाइन्छ । मुस्लिम शासक औरंगजेबको पालामा हिन्दु र मुसलमानहरूबीच भएको युद्धको बेलमा हिन्दुहरुको तर्फबाट अर्काेपक्षको हतियार नष्ट गरेको कारणले उनीहरुलाई लोहाधार नामाकरण गरियो । त्यही नामलाई पछि लोधा मात्रै नाम राखिएको कुरा त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि विनोद पोखरेल र नारायण पौडेलले सन् २०१४ मा गरेको लोधा जातिको बारेमा गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

लोधा जातिको परम्परागत पहिरन 
लोधा जातिको पहिरन सुन्दर एवं तराईका अन्य जातीय पहिरनसँग मिल्दोजुल्दो खालको देखिन्छ । यस्तो जातीय पोसाक सामान्यतया कुनै समारोहमा लगाउने गरिन्छ भने केही जातीय पहिरन नियमित पनि लगाएर बस्ने चलन छ ।

सामान्यतया लोधा जातिका पुरुषहरूले धोती, जामा, वेस्ट कोट, र गम्छा बेर्ने गर्छन् । उनीहरुले घरबाट बाहिर जाँदा पगरी पनि गुथ्ने गर्छन् । घरमा बस्दा भने सहजताको हिसाबले एउटा धोती र जामामा मात्रै बस्ने गर्छन् । विशेष कार्यक्रममा भने पुरुषहरुले धोती र कुर्था, पगरी र कोटको साथमा जुत्ता पनि लगाउने गर्छन् । लोहा जाति आफ्नो परम्परागत पोसाकमा गर्व गर्ने एवं यसलाई जोगाउनतर्फ विशेष ध्यान दिने एक जाति पनि हो । मृत्यु संस्कारको बेलामा उनीहरु सबै सेतो कपडा लगाउने गर्छन् ।

लोधा जातिका महिलाहरूले सामान्यतया ब्लाउज र साडी लगाउने गर्छन् । यो पोसाक विशेषगरी विशेष कार्यक्रममा लगाउने पोसाक हो । उनीहरूमध्ये अधिकांशले गाउँघर गर्दा चप्पल लगाउने गर्दैनन् । यद्यपि बजार जाँदा र कुनै विशेष कार्यक्रममा जाँदा भने चप्पल लगाउने गर्छन् । आफ्नो श्रीमानको मृत्यु भयो भने एक वर्षसम्म सेतो ब्लाउज र सारी लगाउने गर्छन् तर एक वर्षपछि भने जुनसुकै रंगको साडी र ब्लाउज पनि लगाउन सक्छन् । तर सिन्दुर भने पहिरिने गर्दैनन् । यद्यपि आधुनिकीकरणको चपेटामा यहाँको परम्परागत पोसाक पनि लोपोन्मुख अवस्थामा छ ।

लोधा जातिको परम्परागत गरगहनाहरू
लोधा जातिमा पहिरिने विभिन्न किसिमका गहनाहरू मान्छेको उमेर, पेसा र संस्कृति अनुसार भिन्दाभिन्दै हुन्छ । सामान्यतया कुनै विशेष समारोहमा पुग्दा पुरुषको तुलनामा महिलाहरूे धेरै गहना लगाउने गर्छन् । त्यसमध्ये केही गहना अनिवार्य पनि हुन्छ । पुरुषहरूले एउटा औंठीबाहेक गहना पहिरिँदैनन् ।

महिलाहरूले लगाउने गहनाहरू भने अधिकांश चाँदीका हुन्छन् । अविवाहित महिलाहरू नाकमा फुली लगाउने गर्छन् । कानमा रिङ र घाँटीमा पनि गहना लगाउने गर्छन् । विभिन्न अंगमा महिनाहरूले लगाउने गहनालाई तल उल्लेख गरिएको छ ।

पाउमा लगाउने गहना : कडा, पाउजेब, पायल
पाखुरामा लगाउने गहना : पाछेला, बाजु, छान्नी, पुहुजु, बिजयाद
घाँटीमा लगाउने गहना : हासुली, ताइक जोसन
निधारमा लगाउने गहना : बन्नी, बन्दी, टिकुली
कानमा लगाउने गहना : टर्की
टाउकोमा लगाउने गहना : भुर्गेना, डोरी
औंलामा लगाउने गहना : बिहुवा, औंठी
नाकमा लगाउने : फुलकी

यी गहनाहरूको मात्राले उनीहरूको आर्थिक हैसियत बढाउने काम गर्छ । यसबाहेक टाटु यो जातिको एउटा महत्वपूर्ण परम्परा हो । यो महिला र पुरुष दुवैले लगाउने गर्छन् । यो पुरुषको लागि ऐच्छिक हो भने महिलाहरु सबैले लगाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment