Comments Add Comment

पहिरोले परुई खोला थुनिँदा बन्यो ताल

१० चैत, चितवन । चितवनको माडी नगरपालिका–७ को डाँडामा आएको सुख्खा पहिरोले परुई खोला थुनिएको छ । सिँचाईका लागि प्रयोग हुने कुलोमा पानी नआएपछि के भएको रहेछ भनेर हेर्न पुगेका स्थानीयले रुखबिरुवासहित ठूलो पहिरोले खोला थुनिएको देखेका थिए ।

स्थानीयका अनुसार झण्डै ३ किलोमिटर लामो र १ सय मिटर चौडाइको ताल बनेको छ । खोलाले अहिले नै पहिरो बगाउन सक्ने जस्तो देखिँदैन, तर वर्षायाममा जोखिम बढ्न सक्ने देखिन्छ । सोमेश्वर पर्वत शृंखलामा पर्ने यो क्षेत्रमा कमजोर भू–बनोट रहेकाले ‘ताल टाउकोमा झुण्डाइएको तरवार’ जस्तो भएको स्थानीय बताउँछन् ।

परुई खोला आसपासमा बस्ती छन् । केही तल चेपाङ बस्ती छ । कुसुमखोलाबाट ल्याएका चेपाङलाई माडी नगरपालिकाले यहाँ ल्याएर राखेको छ । अहिले पहिरोले पुरिएको खोलाको बाँध फुटे घर बगाउने खतरा भएको स्थानीय छविलाल चेपाङ बताउँछन् ।

माडी–७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले जोखिम बढ्न सक्ने भएकाले समयमै सतर्कता अपनाउनुपर्ने बताए ।

मेयर भन्छन् : अडिए ताल बनाउँछौं

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पहिरो आएर थुनिएर बनेको ताल निकै ठूलो भएकाले यसको संरक्षण गर्ने वा नगर्ने भन्ने टुंगो वर्षायामपछि मात्र लगाइने बताउँछन् ।

‘अहिले हामीले एक छेउबाट ओभरफ्लो भएको पानीलाई निकास दिएका छौं,’ मेयर ढकालले भने, ‘वर्षायाममा पानीले बगायो भने सकिहाल्यो, बगेन र बस्यो भने हामी अर्को वर्ष नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर बलियो संरचना बनाउनतिर लाग्छौं । आउने वर्षायाम परीक्षणकालका रुपमा नै हेछौं ।’
सय मिटरको ड्याम अडिएमा थप संरचना बनाएर पर्यटकीय स्थल बनाउने सोच रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment