+
+

नेपालमा क्षयरोग : चिन्ताजनक अवस्था, उत्साहजनक उपलब्धि !

डा. अनुज भट्टचन डा. अनुज भट्टचन
२०७७ चैत ११ गते १२:४३

यो वर्षको मार्च २४ अर्थात् बुधबार विश्व क्षयरोग विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यो वर्ष ‘संकेत समयको, क्षयरोग अन्त्य’को भन्ने मूल नाराका साथ मनाइएको यो दिवसमा नेपालले पनि क्षयरोगको न्यूनीकरणका लागि लिएको बहुवर्षीय लक्ष्यमा धेरै प्रगति हासिल गरेको छ ।

क्षयरोग निवारणका लागि हामीले लिएको लक्ष्यलाई पूरा गर्नका लागि हाम्रा प्रयासहरूले केही सकारात्मक र उत्प्रेरित हुन सक्ने ठाउँ दिएको छ । सन् २०१८–१९ मा सरकारले गरेको सर्वेक्षणमा लक्षणको आधारमा मात्र क्षयरोग पहिचान गर्ने अभ्यासले सबै क्षयरोगीहरू पत्ता नलाग्न सक्छन् भन्ने देखाएको छ । जस्तो २ हप्ता वा सोभन्दा लामो समय खोकी लागेको लक्षणको आधारमा २० प्रतिशत व्यक्तिहरुमा र कुनै पनि अवधिकोे खोकी, ज्वरो, तौल घट्ने, रातमा पसिना आउने, थकाइ लाग्ने, सास फेर्न समस्या हुने जस्ता लक्षणहरु देखिएको कुरा उक्त अन्वेषणले देखाएको थियो ।

समग्रमा भन्दा सन् २०१८–१९ को सर्वेक्षणले नेपालमा क्षयरोग सम्बन्धी ठूलो समस्यालाई प्रकाशमा ल्याउन सहयोग गरेको छ । हामीले कसरी अहिलेको समस्या निवारण गर्न सक्छौं भन्ने विषयमा कार्ययोजना तयार पार्न पनि सहयोग मिलेको छ ।

राष्ट्रिय क्षयरोग कार्यक्रमको २०१६–२१ रणनीतिक योजना मार्फत सन् २०३५ सम्ममा क्षयरोग निवारणको प्रतिबद्धता जनाएको छ । कार्यक्रमले मख्यरूपमा ड्रग सेन्सेटिभ र रेसिस्टन्स केसहरुलाई केन्द्र बिन्दुमा राख्दै ड्रग सस्सेप्टेबल केसको हकमा ९० प्रतिशतसम्मको उच्च सफलता दर कायम राखेको छ । एमडीआर टीबी केसहरूको हकमा ७५ प्रतिशतको सफलता प्राप्त गर्दै सार्वजनिक तथा निजी क्षेत्रको सहकार्य मार्फत सामुदायिक प्रणालीको स–शक्तीकरण गर्दै चुस्त–दुरुस्त निगरानी र मूल्यांकन प्रणाली कायम गर्दै आएका छौं ।

कस्तो छ नेपालमा अहिले क्षयरोगको अवस्था ?

नेपालमा अहिले क्षयरोगका बिरामी थपिने संख्या भारी रूपमा बढीरहेको छ । साथमा हामीले उपचार गरेर निको बनाउन सफल भएका उदाहरण पनि उही गतिमा बढी छ । तर कतिपय अवस्थामा आफूलाई क्षयरोग भयो भनेर उपचारका लागि अस्पताल नआउनेको संख्या पनि ठूलो संख्यामा रहेकोले यो हामीहरूको मुख्य चुनौतीको रूपमा रहेको छ ।

पहिले वार्षिक ४२ हजारले क्षयरोगका बिरामी थपिन्छन् भन्ने आँकडा रहेकोमा अहिले त्यो संख्या ६८ हजार पुगेको छ । यसमा निको भएर फर्किनेको संख्या समावेश छैन । हामीले उपचारको लागि आएकामध्ये ९० प्रतिशतलाई पूर्ण रुपमा निको गरेर पठाउने गरेका छौं । हामीहरूको तथ्यांक अनुसार अहिले पनि कुल क्षयरोगीहरूमध्ये ५० प्रतिशत अझै पनि उपचारको दायरामा नआएको आँकडा छ । यसको मुख्य कारण भनेको क्षयरोग छातीमा मात्रै हुन्छ भन्ने धेरैमा रहेको भ्रम हो।

क्षयरोग छातीमा मात्रै नभएर हड्डीको क्षयरोग आन्द्रामा हुने क्षयरोग, गिदीमा क्षयरोग, डिम्बाशय आदि अनेक ठाउँमा हुन सक्छ । फोक्सोमा हुने क्षयरोगमा धेरै खोकी लाग्ने र छाती दुख्ने भएकोले परीक्षण गर्न आउँछन् तर अन्य अंगको क्षयरोगबारे परीक्षण गर्न नआउने गरेकोले समस्या सिर्जना हुने गरेको हो । अहिले नेपालमा बच्चामा हुने क्षयरोग सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ ।

नेपालमा क्षयरोगबाट हुने मृत्युको अवस्था के छ ?

नेपालमा हरे दिन क्षयरोगबाट ४७ जनाको मृत्यु हुन्छ भन्ने सरकारी तथ्यांकले देखाएको छ । अर्थात् एक वर्षमा १७ हजार जनाले त क्षयरोगकै कारण ज्यान गुमाउँछन् । हरेक दिन १८९ जना जति नयाँ संक्रमितहरू थपिने गरेको तथ्यांक पाइन्छ । उपचारका लागि अस्पताल आएकामध्ये ९० प्रतिशतलाई निको पारेर फर्काउन सफल हुने गरिएको छ भने हामी विश्वमा समग्रमा क्षयरोगीको संख्या नियन्त्रणको हिसाबले हेर्दा सन्तोषजनक स्थानमा छौं । समग्र विश्वले वार्षिक १.५ प्रतिशतका दरले क्षयरोगीहरूको संख्या घटाइरहेको अवस्थामा नेपालमा वार्षिक ३ प्रतिशतको दरले रोगीको संख्या घटेको देखिएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक भट्टचनसँग कुराकानीमा आधारित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?