Comments Add Comment

मेलम्चीको पानीका कारण जनताको खुशी बढेको छ : राष्ट्रपति भण्डारी

२० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी आएपछि जनतामा खुशी बढेको बताएकी छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै उनले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताएकी हुन् ।

‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन साँस्कृतिक शहर काठमाडौंका वासिन्दालाई मेलम्चीको पानी एक उपहार हुन पुगेको छ । यसबाट जनताको खुशी बढेको छ भन्ने मलाई लाग्दछ’ उनले भनिन् ।

मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यो आयोजना विस्तार र सदृढिकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायतका कारणले पानी वितरण तथा व्यवस्थापनमा समस्या र जमिनमुनिको पानीको दोहन बढेको उनले बताएकी छन् । यस्तो बेलामा मेलम्चीको पानी काठमाडौं ल्याएपछि यहाँको जलाधार क्षेत्रको प्रदूषण न्युनीकरण र जमिनमुनिको पानीको दोहन कम गर्न मद्दत पुग्ने अपेक्षा लिएको राष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले मेलम्ची आयोजनाको सुरुवातदेखि हालसम्म काम गर्ने राजनीतिज्ञ, प्राविधिक, दातृ निकाय र राष्ट्रसेवकको सम्झना गरिन् । उनले मेलम्ची आयोजना सम्पन्न गर्न सहयोग गर्ने सिन्धुपाल्चोकका वासिन्दालाई पनि धन्यवाद दिएकी छन् ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको भन्दै उनको सम्झना गरिन् । यसबाट नेतृत्व तहलाई मेलम्ची आयोजना कार्यान्वयनका लागि प्रेरणा मिलेको पनि उनले बताइन् ।

नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची आयोजना कार्यान्वयनका क्रममा हासिल भएका सकारात्क र नकारात्मक अनुभवबाट शिक्षा लिँदै अरु ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने पनि राष्ट्रपति भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment