Comments Add Comment

ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेटमा सुदूरपश्चिमको विजयी शुरुवात

Photo Credit : क्यान

२१ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शनिबार भएको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो ।

टीयू क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १०८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । सुदूरपश्चिमलाई जित दिलाउन मन्जु वोगटीले सर्वाधिक ४१ रन बनाइन् । उनले ४२ बल खेल्दै ६ चौका प्रहार गरिन् ।

डली भट्टले अविजित २२ रन बनाइन् । रेवती धामीले १८ रन बनाइन् भने कविता जोशी १० रनमा अविजित रहिन् । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १–१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०७ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतक प्रहार गरिन् । विकेटकिपर कन्चनले ५६ बल खेल्दै ८ चौका मद्दतमा अविजित ६३ रन जोडिन् । यस्तै सुमन खतिवडाले १६ र अस्मिना कर्माचार्यले १३ रन जोडिन् ।

सुदूरपश्चिमकी कविता जोशी, ऋतु कनोजिया र सम्झना खड्काले १–१ विकेट लिइन् । त्यसअघि शनिबारै भएको उद्घाटन खेलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको च्याम्पियनसिपमा पुसमा भएको प्रधानमन्त्री कपको सेमिफाइनल खेलेका चार टिम र ललितपुर मेयरको एक टिम गरी कुल पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । च्याम्पियनसिपको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५–१५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment