+
फिफा विश्वकप २०२६ :

समूह ‘ए’: मेक्सिकोलाई क्लिन स्विपको मौका, अन्य तीन टोलीलाई ‘गर या मर’ को दबाब

२०८३ असार  १० गते १९:४५ २०८३ असार १० गते १९:४५

मेक्सिकोले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा चेक रिपब्लिक, दक्षिण कोरिया र दक्षिण अफ्रिका नकआउट दौडमा छन् ।

१० असार, काठमाडौं । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेल घरेलु मैदानमा चेक रिपब्लिकसँग खेल्दैछ ।

समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिसकेको मेक्सिको र नकआउटको सम्भावना कायमै रहेको चेक रिपब्लिकको बिचको खेल मेक्सिको सिटी स्टेडियम बिहिबार बिहान पौने ७ बजेबाट सुरु हुनेछ । सोही समयमा मोन्टेरी स्टेडियममा दक्षिण अफ्रिका र दक्षिण कोरियाबिच खेल हुनेछ ।

समूह ‘ए’ मा मेक्सिको शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ । दक्षिण कोरिया ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एक अंक छ । प्रत्येक समूहबाट शीर्ष दुईमा रहने टोली सिधैं नकआउट चरणमा प्रवेश गर्नेछन् । १२ समूहका तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा पुग्नेछन् ।

मेक्सिकोले एक खेल अगावै नकआउट चरणमा स्थान बनाउँदा चेक रिपब्लिक, दक्षिण कोरिया र दक्षिण अफ्रिका नकआउट दौडमा छन् ।

शीर्ष स्थानको मेक्सिकोसँग भिड्दै चेक रिपब्लिक
चेक रिपब्लिक र मेक्सिको समूह चरणको आफ्नो अन्तिम खेलमा आमनेसामने हुँदैछन् । मेक्सिको नकआउट चरणमा प्रवेश गरिसकेको छ भने चेक रिपब्लिक नकआउट पुग्ने झिनो आसमा छ ।

सहआयोजक मेक्सिकोले पहिलो खेलमा दक्षिण अफ्रिकामाथि २–० र दोस्रो खेलमा दक्षिण कोरियामाथि १–० को जित निकाल्दै समूहको शीर्ष स्थान पक्का गरिसकेको छ । अन्तिम खेलमा चेक रिपब्लिकलाई हराउँदै शत प्रतिशत जित निकाल्न चाहन्छ ।

चेक रिपब्लिकले मेक्सिकोलाई हराउँदै नकआउट चरणमा पुग्ने दाउमा छ । दक्षिण कोरियासँग २–१ को हार र दक्षिण अफ्रिकासँग १–१ को बराबरी खेलेको चेक रिपब्लिक नकआउट चरणमा पुग्न मेक्सिकोमाथि जित निकाल्नै पर्छ । त्यतिले मात्र पुग्ने छैन, समूहको अर्काे खेलको नतिजामा पनि निर्भर रहनुपर्नेछ ।

पहिलोपटक भिड्दै दक्षिण अफ्रिका र दक्षिण कोरिया
दक्षिण अफ्रिका र दक्षिण कोरिया फिफा विश्वकपको इतिहासमा पहिलोपटक एकआपसमा मैदानमा उत्रँदैछन् ।

१६ वर्षपछि विश्वकपमा कमब्याक गरेकाे दक्षिण अफ्रिका पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोसँग २–० ले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ को बराबरी खेलेको थियो । यो खेलमा दक्षिण कोरियालाई फराकिलो अन्तरले हराउँदै दक्षिण अफ्रिका नकआउट पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

दक्षिण कोरियाको यो लगातार ११ औँ विश्वकप सहभागिता हो । पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको दक्षिण कोरियाले दोस्रो खेलमा मेक्सिकोसँग १–० को हार बेहोर्‍यो । यो खेलमा जित निकाल्दै नकआउट चरणमा पुग्ने दाउमा दक्षिण कोरिया हुनेछ । पराजित हुने टोली भने विश्वकपबाट बाहिरिनेछन् ।

समूह ‘ए’ को विजेताको रूपमा सहआयोजक मेक्सिको जाने निश्चित भइसकेको छ । मेक्सिकोले नकआउटमा समूह सी, इ, एफ, एच मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । यो समूहको उपविजेताले समूह बी को उपविजेतासँग प्रतिष्पर्धा गर्नेछ । यो समूहको तेस्रो स्थानमा रहने टोली उत्कृष्ट ८ तेस्रो हुँदै नकआउट चरणमा पुगेमा समूह इ र जी मध्ये एक समूहको विजेतासँग खेल्नुपर्नेछ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय