Comments Add Comment

त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियासँग खेल्दै

६ वैशाख, काठमाडौं । शनिबारदेखि काठमाडौमा शुरु भएको त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा सोमबार घरेलु टोली नेपालले मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पहिलो खेलमै नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससंग १५ रनले पराजित भएको थियो ।

नेदरल्याण्ड्सलाई हराएर एक दिन आराम पाएको नेपालको मनोबल उच्च छ । मलेसियाले भने लगातार दोस्रो दिन खेल्दैछ । नेदरल्याण्ड्स विरुद्ध ब्याटिङमा पुनरागमन गरेको मलेसियाले विरनदिपको ८७ रनको बाबजुद पनि खेल जित्न सकेन ।

नेपाल र मलेसिया क्रिकेटमा चिरपरिचित प्रतिस्पर्धी नै हुन् । एक वर्षअघि थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटमा नेपाल र मलेसिया पछिल्लो पटक खेलेका थिए । जसमा नेपाल २२ रनले पराजित भएको थियो ।

यस पटक नेपाललाई घरेलु मैदानमा त्यो हारको बदला लिने अवसर हुनेछ । यस्तै डबल राउण्ड रोविनका आधारमा खेलाइने सिरिजमा फाइनल प्रवेश गर्नका लागि पनि नेपालका लागि जित महत्वपूर्ण हुनेछ । उता मलेसिया पहिलो जितको लागि खेल्नेछ ।

नेदरल्याण्ड्ससंग पराजित भएपछि मलेसियाका कप्तान अहेमद फैजले दिन राम्रो हुन नसकेको र नेपाल विरुद्धको खेलमा दिन राम्रो हुने आशा व्यक्त गरेका थिए ।

नेपालले पहिलो खेलमा जित हात पार्दा दुई  नयाँ खेलाडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गरेका थिए । डेब्युमै ओपनिङ गर्ने अवसर पाएका उनीहरुले पहिलो विकेटका लागि कीर्तिमानी ११६ रनको साझेदारी गरे । साथै दुवैले अर्धशतक समेत बनाए ।

यस प्रदर्शनबाट युवा खेलाडीले पनि अवसर पाए खेल जिताउन सक्छ भन्ने प्रमाणित भएको कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

गत वर्ष थाइल्याण्डमा भएको टी-२० मा नेपालले मलेसिया खेल्दा खेलेको टिममा अहिले केही परिवर्तन छ । सोमपाल कामी टिममा फर्किएका छन्, कुशल भुर्तेल, आसिफ शेख र शहाब आलमले नेदरल्याण्ड्स विरुद्ध खेल्दै टी-२० मा डेब्यु गरेका छन् । त्यस खेल खेलेका पारस खड्का, पवन सर्राफ यस पटक टिममा छैनन् ।

नेपाल र मलेसियाबीचको खेल तथ्यांक 

कुल खेल : ८

नेपाल विजयी : ६

मलेसिया विजयी : २

टी-२० आई खेल : ४

नेपाल विजयी : ३

मलेसिया विजयी : १

२००७ एसीसी टी-२० कप

नेपाल २१ रनले विजयी

२००९ एसीसी टी-२० कप

मलेसिया ६ विकेटले विजयी

२०१३ एसीसी टी-२० कप

नेपाल १९ रनले विजयी

२०१८ आईसीसी विश्वकप टी-२० एसिया रिजन क्वालिफायर बी

नेपाल ८ विकेटले विजयी

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०

नेपाल २२ रनले पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment