Comments Add Comment

चोभारको सुख्खा बन्दरगाह निर्धारित समयमै नबन्ने

७ वैशाख, काठमाडौं । काठमाडौंको चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह निर्धारित समयमा नबन्ने भएको छ ।

परियोजना निर्माण सम्पन्न हुने म्याद गुज्रिन एक साताअघि ठेकेदार कम्पनी सान्सी-आशिष जेभी र लुम्बिनी-कोसी एन्ड न्यौपाने जेभीले निर्माण सम्पन्न गर्न थप दुई महिनाको समय माग गरेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । कोरोनाका कारण दोस्रोपटक थप गरिएको म्याद वैशाख १३ गते गुज्रिदैँ छ ।

सोमबार वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसहित विकास समिति बोर्ड सदस्यहरुले आयोजनाको स्थलगत अनुगमन गरेको र सोही क्रममा निर्माणकर्ताले थप समय माग गरेको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले अनलाइनखबरलाई बताए ।

आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत भएको छ । पानी परेको, समयमै कामदार नपाएको तथा निर्माण सामग्री ल्याउन कठिन भएको जस्ता समस्या ठेकेदारहरुले अघि सारेको कार्यकारी निर्देशक गजुरेलले बताए ।

‘परियोजना निर्माण सकेर हस्तान्तरण गर्ने म्याद अर्को साता गुज्रीदैं छ, थप दुई महिना समय चाहियो भनेका छन्, हामीले चित्त बुझ्दो लिखित कारणसहित आउन भनेका छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने ।

सोमबारको अनुगमनमा पछि वाणिज्य सचिवले तोकिएकै समयमा निर्माण सकेर हस्तान्तरण गर्न अपनाउन पर्ने सबै उपाय लगाउन निर्माण कम्पनीलाई निर्देशन दिएको विकास समितिले जनाएको छ ।

निर्धारत समयमै आयोजना सम्पन्न नभए त्यो समयपछि आयोजनाबाट सरकारले प्राप्त गर्ने लाभलाई गणना गरेर निर्माण कम्पनीलाई क्षतिपूर्ति तिराउने र सोही रकमबाट आयोजना सक्नेगरी काम गर्न पनि विकास समितिले छलफल गरेको कार्यकारी निर्देशक गजुरेलले बताए ।

‘परियोजना निर्धारित समयमै नबने ठेक्का सम्झौतालाई आधार मानेर लाभको गणना गर्छौं र सोही आधारमा क्षतिपूर्तिमार्फत सोही ठेकदारलाई निर्माण सम्पन्न गराउँछौं । हामी उनीहरुको लिखित कारण कुरेर बसेका छौं,’ गजुरेलले भने ।

कूल १ अर्ब ४४ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको परियोजनाकालागि विश्व बैंकसँग ११ जुन २०१३ मा सम्झौता भएको थियो । ऋण सम्झौताको ५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment