Comments Add Comment
कालजयी अमेरिकी कथा :

मेजाईको उपहार

एक डलर ८७ सेन्ट । जम्मा रकम त्यति नै थियो । त्यसमध्ये पनि साठी सेन्ट त पेनीहरूमा मात्र थियो । पेनी अर्थात् अमेरिकी मुद्राको सबैभन्दा सानो एकाइ, अझ भनौं, अमेरिकी एक पैसाको ढ्याक ।

धेरैवटा पेनी गनेर किनकान गर्ने किसिमका ग्राहक आइलाग्दा किराना वा तरकारी र मासु पसलेहरूलाई सधैं हत्तु–हैरान हुने गर्दथ्यो । पसलेलाई पैसा तिर्नुपर्दा धेरै पेनी दिँदा कहिलेकाहीं दुई–चार पेनी कम दिए पनि खासै फरक पर्दैनथ्यो ।

त्यसो गरेर केही पेनी बचाउन पनि सकिने हुन्थ्यो । डेलाले तीनपटक त्यो रकम गनेकी थिई । एक डलर ८७ सेन्ट । भोलिपल्ट क्रिसमसको चाड थियो ।

अब गर्नुपर्ने थप अरू केही बाँकी थिएन, सिवाय पुरानो सोफामा थचक्क बस्ने र खुइय्य आवाज सुसेल्नेबाहेक । डेलाले पनि त्यही गरी । जीवनयापन सम्बन्धी एउटा नैतिक प्रश्न उसमा बेलाबखत उठिरहने गथ्र्यो । जीवनका आरोह–अवरोह, हाँसो–रुवाइ, सुविधा–असुविधा आदि सबै कुराले उसलाई नराम्ररी जकडेका थिए ।

खासमा उसलाई अप्ठ्यारा, असहजता र असुविधाले धेरै अँठ्याएका थिए । खुसीभन्दा अवसाद (निराशा)का क्षणहरू नै धेरै थिए । यसले गर्दा ऊ जीवनसित सन्तुष्ट पनि त थिइन ।

यसरी घरकी लक्ष्मी, स्वयम् गृह–स्वामिनीको अवस्था नै थकित, गलित, क्लान्त र क्रमशः खस्कँदै गइरहेको थियो भने घरको स्थितिप्रति पनि एक नजर लगाउनु उचित हुन्छ ।

प्रतिसाता आठ डलर तिर्नुपर्ने गरी लिइएको औसत फर्निचरसहितको एउटा फ्ल्याट । ठ्याक्कै हेर्दा त्यो आवास कुनै भिखारीको बासस्थान जस्तो नै त थिएन तापनि आफ्नो दयनीय अवस्थाले गर्दा अमेरिकी नगरहरूमा भिखारी अथवा जथाभावी गर्दै हिँड्ने घरबारविहीनहरूलाई पक्राउ गर्ने दायित्व बोकेको प्रहरी जत्थालाई आमन्त्रण गर्ने किसिमको भने पक्कै थियो ।

भोलि क्रिसमसको दिन थियो तर पैसाको नाममा ऊसित केबल १.८७ डलर मात्र थियो र त्यही रकमबाट उसले जिमका लागि केही उपहार किन्नुपर्ने थियो । उसले पेनी–पेनी गरेरै भए पनि आफूले जोगाउन सक्ने जति रकम महिनौंदेखि जोगाउँदै आइरहेकी थिई ।

भवनको प्रवेशद्वार ठूलो थियो । त्यसमा एउटा थोत्रो पत्र–मञ्जूषा थियो तर त्यसमा कुनै पनि किसिमको चिठी–पत्र खसाल्न मिल्दैनथ्यो । त्यही सानो मञ्जूषामाथि बिजुलीबाट चल्ने एउटा संकेत–घण्टी (डोर बेल) पनि थियो । त्यो पनि कति पुरानो र खिइसकेको थियो भने कसैगरी पनि बज्दैनथ्यो । कसैले बजाउन त के कुरा छुनै समेत सक्दैन्थ्यो । योसँगै त्यहाँ एउटा नामपाटी पनि झुण्डिएको थियो र त्यसमा लेखिएको थियो, ‘श्रीजेम्स डिलिङ्गम योङ ।’

त्यसो त ‘डिलिङ्गम’भनेर लेखिएको शब्द कुनै बेला कायम सम्पन्नताको क्षणमा हावाको लहरसँगै यता र उता लहरिने पनि गथ्र्यो । यो त्यो बेला थियो जतिखेर त्यसको मालिकले प्रतिसाता तीस डलर रकम पाउने गथ्र्यो ।

अहिले, जतिखेर साप्ताहिक आय घटेर बीस डलरमा खुम्चिएको थियो, ‘डिलिङ्गम’ भनेर संकेत गर्ने अक्षरहरू पनि धमिलिएका र खिइएका देखिन्थे । र, मानौं ती अक्षरले अब केवल अत्यन्त साधारण किसिमले ‘डी’ अक्षरसित मात्र नयाँ सम्झौता गर्न चाहिरहेका थिए !

तर, जति जति बेला श्री जेम्स डिलिङ्गम योङ घर आइपुग्थ्यो र आफ्नो फ्ल्याटमा प्रवेश गथ्र्यो, ऊ ‘जिम’ भनेर पुकारिन्थ्यो र श्रीमती जेम्स डिलिङ्गम योङ –जसलाई हामीले यसअघि नै डेला भनेर चिनिसकेका छौं– ले न्यानो आलिङ्गनले स्वागत गर्थी । यो सबै कुरा स्वभाविक थियो र सुन्दर पनि ।

डेलाले खुइय्य गर्न छोडिन, सुँक्कसुँक्क पनि गरिन । बरु अनुहारमा पाउडर आदिले शृङ्गार गरी, झ्यालनिर उभिन पुगी र बाहिरतिर हेर्न थाली । बाहिरको वातावरण पूरै मलिन त थिएन तापनि डेलाको मन अनि हृदयभित्रको नैराश्य र उत्साहहीन जस्तै अनाकर्षक भने थियो । उमंगहीन थियो, कुनै स्फूर्ति जगाउने किसिमको थिएन ।

भोलि क्रिसमसको दिन थियो तर पैसाको नाममा ऊसित केबल १.८७ डलर मात्र थियो र त्यही रकमबाट उसले जिमका लागि केही उपहार किन्नुपर्ने थियो । उसले पेनी–पेनी गरेरै भए पनि आफूले जोगाउन सक्ने जति रकम महिनौंदेखि जोगाउँदै आइरहेकी थिई ।

बीस डलरमा एक साताभरि घरको सम्पूर्ण खर्च–पर्च चलाएर केही बचत पनि गर्न खोज्नु त्यत्ति व्यावहारिक थिएन । त्यसमा पनि साप्ताहिक खर्च उसले सोचेभन्दा जहिल्यै धेरै हुने गथ्र्यो । भएको रकमभन्दा साप्ताहिक खर्च नै बढी हुन्थ्यो ।

अब अहिले जिमका निम्ति क्रिसमस उपहार किनिदिनका लागि ऊसित केवल १.८७ डलर मात्र संकलन हुनसकेको थियो । उसको आफ्नो ‘जिम’ । उही जिमका लागि केही अत्यन्त राम्रो, कुनै अति सुन्दर उपहार किनिदिने अनेक योजना बनाउँदै उसले घण्टौं सुखद समय बिताएकी थिई ।

उसले किन्ने उपहार सुन्दर, विशिष्ट र मूल्यवान हुनेछ– केही त्यस्तो उपहार जुन चाहिँ जिमले प्रयोग गर्ने वस्तुको गरिमाअनुकूल हुनुपर्नेछ ।

उनीहरू बस्ने कोठामा दुईवटा झ्याल थिए । ती झ्यालहरूको बीचमा रहेको भित्ताको खाली भागमा एउटा अग्लो तर साँघुरो सस्तो ऐना मिलाएर राखिएको थियो । सायद तपाईं पाठकले पनि यस किसिमको लामो साँघुरो ऐना देख्नुभएको होला ।

कुनै दुब्लो अथवा सुगठित शरीर भएको मानिसले यो ऐना हेर्नुपर्‍यो भने उभिएकै ठाउँमा घुम्दै र पटकपटक गर्दै मात्र त्यसमा आफ्नो प्रतिबिम्ब हेर्न सक्थ्यो । डेला पातली थिई, त्यस कारणसमेत उसले त्यसरी ऐना हेर्ने कलामा निपूर्णता हासिल गरिसकेकी थिई ।

अचानक ऊ मख्ख पर्दै झ्यालबाट फनक्क फर्किई र हतार–हतार ऐना अगाडि उभिन पुगी । उसका आँखामा गज्जबको चमक थियो तर लगत्तै उसको अनुहार भने ओइलाएजस्तो भयो । छिटो छिटो उसले आफ्नो बाँधेको कपाल फुकाई, त्यसलाई पूरा खुलै छोडिदिई र ऐना हेर्न थाली ।

‘जिम, मेरो प्यारा, मलाई त्यसरी न हेर न । मैले आफ्नो कपाल काटें र त्यसलाई बेचिदिएँ, किनभने क्रिसमसको बेला तिमीलाई कुनै उपहार नदिइकन म त बाँच्न पनि सक्दिन थिएँ ।’

यहाँनिर जेम्स डिलिङ्गम योङ्हरूसित दुई कुरा थिए र ती दुवै कुरामाथि उनीहरूलाई गज्जबको गर्व पनि थियो । ती दुईमध्ये एउटा थियो– जिमको सुनौला घडी, जुन उसको पिताको थियो र पिताका पनि पिताको थियो । र, अर्को थियो– डेलाको बाक्लो, लामो अनि सुन्दर कपाल । उसको कपालको सुन्दरताको त के कुरा गर्नु ?

शीबा प्रदेशकी अपूर्व सुन्दरी महारानी नै आएर यदि उनीहरू बस्ने फ्ल्याटकै वरिपरि बसोबास गरिरहेको भए पनि मौसूफ सरकारका तमाम गर–गरहना र उपहारहरूलाई मात गर्ने गरी डेलाले आफ्नो लामो कपाल त्यही झ्यालबाहिर तलसम्मै आउने गरी सुकाउने थिई । महाराजा सोलोमनले आफूसित भएजतिका स्वर्ण–आभूषणसहितको तमाम खजाना त्यही फ्ल्याटको तल्लो भाग (बेसमेन्ट)मा राखेको भए पनि जिम त्यस ठाउँ वरिपरिबाट भएर आउजाउ गर्दा उसले हरेकपटक खल्तीबाट आफ्नो घडी बाहिर झिक्थ्यो र हेथ्र्यो । उता दाह्री मुसार्दै महाराजा सरकार ईष्र्यापूर्वक उसलाई हेरिरहेका हुन्थे ।

डेलाको सुन्दर कपाल अब मानौं उसैमाथि खसेको थियो, लहराउँदै र झरनाबाट खसिरहेको जलप्रवाह जस्तै चम्किइरहेको । कपाल उसको घुँडालाई ढाक्दै अझ तलसम्म पुग्यो र उसका लागि त झन्डै सर्लक्कको बस्त्र जस्तै हुन गयो ।

उसलाई रमाइलो लाग्यो र मक्ख पर्दै फेरि एकपटक त्यस्तै गरी । त्यसो गर्दागर्दै ऊ एकपटक लडखडाई र लगत्तै एकछिनसम्म उभिएर यताउता हेरी । दुई थोपा आँसु खस्यो र भूईंको रातो गलैंचामा बिलायो ।

डेलाले आफ्नो पुरानो खैरो ज्याकेट लगाई, अनि पुरानै खैरो ह्याट पनि । ज्याकेट सुहाउँदो स्कर्ट फर्फराउँदै र आँखामा उही अघिकै चमक यथावत् राख्दै ऊ ढोकाबाहिर निस्की । लगत्तै भर्‍याङबाट ओर्लेर ऊ बाहिर पसलहरूतिर जाने सडकमा फूर्तिसाथ हिँडिरहेकी थिई ।

जुन पसलअगाडि पुगेर ऊ रोकिएकी थिई, त्यसमाथि राखिएको साइनबोर्डमा लेखिएको थियो, ‘म्याडम सोफ्रोनी । सबै किसिमका कपाल पाइने ठाउँ ।’ हस्याङ–फस्याङ गर्दै डेला पसलभित्र पसी । स्वाँ–स्वाँ गर्दै त्यहाँ पुगेकी उसले अब स्वयम्लाई सामान्य अवस्थामा रहेको देखाउने प्रयास गरी ।

साहुनी अर्थात् म्याडम सोफ्रोनी ठूलो ज्यान, औधी श्वेत वर्ण र ठाडो स्वभाव भएकी महिला थिई । नामको सुन्दरतासित उसको शरीर र अनुहारको कुनै साइनो थिएन ।

‘तपाईंले मेरो कपाल किन्नुहुन्छ ?’ डेलाले सोधी ।

‘मैले कपाल किन्ने गरेकी छु,’ साहुनीले भनी, ‘तपाईंले आफ्नो ह्याट झिक्नुस् । तपाईंको कपाल कस्तो भनेर एक नजर हेर्न त पर्‍यो ।’

डेलाले ह्याट झिकी । साहुनीले कपाल हेरी– झरनाको बगिरहेको पानीजस्तो सुन्दर, बाक्लो, मुलायम, लामो खैरोकपाल ।

‘बीस डलर,’ आफ्नो ‘व्यवसायिक सीप’ देखाउँदै साहुनीले भनी ।

‘ल, ल, हुन्छ । मलाई छिटै त्यो रकम दिनुस्,’ डेलाले भनी ।

मेरी बास्सै, त्यसपछिका दुई घण्टा त मानौं मलमलका पखेटा फिँजाएर उडेजस्तो पो बिते । यहाँ प्रयुक्त रूपक र लक्षणलाई भुलिदिनुस् । खासमा डेलाले त जिमका लागि उपहार किन्ने भनेर त्यहाँ भएभरका पसल चहारेकी थिई ।

अन्ततः आफूले खोजेको जिनिस उसले फेला पारी । डेलालाई लाग्यो– त्यो जिनिस वास्तवमा जिमकै लागि भनेर बनेको थियो, अरू कसैका लागि भनेर होइन । अन्य कुनै पनि पसलमा यस किसिमको सामान थिएन, उसले सबै पसलमा भित्र–बाहिर गएर उत्सुकता, सतर्कता एवम् हार्दिकतापूर्वक हेरेकी थिई ।

त्यो जिनिस गोजी घडीमा लगाउन मिल्ने प्लाटिनमको सानो सिक्री थियो, आवरणबाट अत्यन्त आकर्षक तर भित्रबाट प्रायः, केही नभएको– जस्तो, अक्सर सबै राम्रा वस्तु हुने गर्दछन् । यसो भए पनि यो वस्तु घडीका लागि अत्यन्त सुहाउँदो र बढी सुन्दर पनि थियो । त्यो सिक्री देख्ने बित्तिकै डेलालाई थाहा भइसक्यो, यो चाहिँ निश्चय पनि जिमकै लागि बनेको हो । यो ऊ (जिम) जस्तै पनि त छ । शान्त, स्निग्ध र गुणवत्ता– दुवैमा उत्तिकै मिल्ने प्रवृत्ति ।

पसलेले त्यसका लागि ऊसित एक्काइस डलर लियो, र ऊ बाँकी ८७ सेन्ट लिएर हतारिंदै घर फर्की । उसलाई लागिरहेको थियो– आफ्नो गोजी घडीमा त्यो सिक्री राखेपछि  जिम जहाँ भए पनि, जहाँ पुगे पनि समयका बारेमा यथोचित तवरबाट चनाखो भइरहनेछ । उसले घडीजस्तै भव्य एवम् आकर्षक त्यो सिक्रीलाई घरिघरी नियालिरहनेछ किनभने अहिलेसम्म उसले सिक्रीको ठाउँमा छालाको पुरानो र सस्तो फित्ता प्रयोग गरिरहेको छ ।

डेला जति बेला घर पुगी, झल्याँस्स उसलाई केही कुराले ब्युँझाएजस्तो भयो । उसले आफ्नो कपाल सजाउन प्रयोग गर्ने कर्लिङ आइरन निकाली, ग्यास चुल्हो बाली र प्रेममा समर्पण गर्नका लागि देखाएको उदारताबाट मिलेको असरलाई सकेसम्म मिलाउने र काँटछाँट गर्न थाली । (पाठक मित्रहरू, यो चाहिं जहिले पनि जबर्जस्त काम हो, दारुण अनि वृहत् काम हो ।)

चालीस मिनेटभित्रैमा उसको टाउको साना–साना र घुँघराला रौंले ढाकियो, यसले गर्दा ऊ स्कुलमा अक्सर अनुपस्थित रहने उटुङ्ग्याहा विद्यार्थीजस्तो देखिन पुगी । उसले ऐनामा आफूलाई लामो समयसम्म हेरीरही, सतर्कतापूर्वक, र आलोचक बनेर पनि ।

‘यदि जिमले मलाई मारेन भने,’ उसले आफैंसित कुरा गर्दै भनी, ‘उसले ममाथि दोस्रोपटक हेर्नुभन्दा पहिले नै म न्युयोर्कको चर्चित कोनी आइल्यान्डका ‘कोरस गल्र्स’ नर्तकीहरू जस्तो देखिएकी छु भनेर भन्नेछ । तर, मैले के गर्न सक्छु र– हरे ! जम्मा एक डलर सतासी सेन्ट रकमबाट मैले के नै पो गर्न सक्छु र ?’

सात बजे कफी तयार भयो र चप पकाउनका लागि ताबा तातै रहने गरी चुल्होको पछाडिपट्टि राखियो ।

जिम कहिल्यै ढिलो गर्दैन थियो । डेलाले गोजी घडीको सिक्री दोब्रयाउँदै हातमा राखी र ऊ सधैं भित्र छिर्ने ढोका छेउमा राखिएको टेबलको कुनातिर गएर बसी । त्यही बेला उसले बाहिर तल भर्‍याङको पहिलो खुड्किलोमा जिमका पाइतालाको आवाज सुनी, निमेषभरका लागि उसको अनुहार सेतो भएर आयो । उसको एउटा बानी थियो, दैनिक जीवनका सबै झिना–मसिना कुराहरूलाई लिएर मौन प्रार्थना पुटपुटाउने । र, अहिले पनि उसले आफूले मात्र सुन्ने गरी पुटपुटाउँदै भनी, ‘हे दैव, कृपया उसलाई म अझै उस्तै राम्री छु भनेर सोच्ने बनाइदेऊ ।’

ढोका खुल्यो । जिम भित्र पस्यो र ढोका बन्द गर्‍यो । ऊ दुब्लो थियो र निकै गम्भीर देखिन्थ्यो । बबुरो, भर्खर बाइसौं वर्षमा टेकेको थियो र पनि परिवारको बोझ बोकिरहेको थियो ! उसलाई नयाँ ओभरकोट चाहिएको थियो, त्यसमाथि ऊसित हात छोप्न पञ्जा पनि थिएन ।

जिम ढोकाबाट भित्रतिर हिंड्न खोज्यो तर अनायास स्तब्ध भयो र अवाक् एकै ठाउँ उभिइरह्यो, शिकार देखेर त्यसमाथि झम्टिन तम्तयार एकटक अडिएको शिकारी जस्तो भएर ।

उसका आँखा डेलामाथि एकोहोरिएका थिए । ती आँखामा केही थियो जसलाई उसले बुझ्न पनि सकिन र पढ्न पनि । ऊ त बरु भयभीत भई, र आतंकित जस्तै पनि । आँखाको त्यो भाकामा न रिस थियो न विस्मय, न असहमति थियो न आतंक र न त्यस्तो कुनै पनि भाव थियो, जसको सामना गर्ने भनेर ऊ तयार भएरै बसेकी थिई ।

जिमले अनुहारमा उही विशेष भावाभिव्यक्ति यथावत् राख्दै उसैलाई एकोहोरो हेरिरह्यो ।

डेलाले टेबल सरक्क सारेजस्तो गरी र जिम भएतिर गई ।

हामीले एकअर्काका लागि भनेर ल्याएका क्रिसमस उपहारहरू केही समयका लागि अलग्गै राखौं । ती उपहार अहिले नै प्रयोगमा ल्याइहाल्नका लागि त्यति उपयुक्त छैनन् । मैले तिम्रा लागि काइँयो किन्ने भनेर आफ्नो घडी बेचिसकेको छु ।

‘जिम, मेरो प्यारा,’ उसले भनी, ‘मलाई त्यसरी न हेर न । मैले आफ्नो कपाल काटें र त्यसलाई बेचिदिएँ, किनभने क्रिसमसको बेला तिमीलाई कुनै उपहार नदिइकन म त बाँच्न पनि सक्दिन थिएँ । यो त फेरि पनि बढ्दै जान्छ र लामो पनि भइहाल्छ– तिमीले यसलाई अन्यथा लिंदैनौ नि, होइन त ? कसो गरूँ, मैले यसो नगरी धरै पाइन के !

मेरो कपाल त एकदम छिटो पो बढ्छ । ल त जिम, ‘मेरी क्रिसमस’ भन अनि हामी दुवैजना खुसी होऔं, रमाऔं । तिमीलाई अझै थाहा छैन, मैले तिम्रा लागि भनेर कति राम्रो, कति सुन्दर र कति आकर्षक उपहार ल्याइदिएकी छु ।’

‘तिमीले त आफ्नो कपालै काटिछौ ?’ जिमले गाह्रो मानी मानी सोध्यो, मानौं कठिनतम मानसिक परिश्रमपछि पनि ऊ अझै डेलाले कपाल काटेको यथार्थ पत्याउन सकिरहेको थिएन ।

‘हो त, मैले यसलाई काटें र बेची पनि दिएँ,’ डेलाले भनी, ‘यस्तो जे भए पनि तिमीले मलाई पहिले जस्तै गरी मन त पराइरहन्छौ नि ? कपाल नभए पनि म मजस्तै त छु नि, होइन र ?’

अत्यन्त उत्सुक हुँदै जिमले कोठाको चारैतिर नजर दौडायो ।

‘के भनेको तिमीले, कता गयो तिम्रो कपाल ?,’ उसले सोध्यो, अनुहार र आवाजमा लगभग पटमूर्ख भावभंगी भरेर ।

‘तिमीले यतातिर हेर्दै नहेरे हुन्छ र केही सोच्दै नसोचे हुन्छ,’ डेलाले भनी, ‘यो त बिक्री भइसक्यो, म तिमीलाई फेरि पनि भन्छु– यो बिक्री भइसक्यो र लोप पनि भइसक्यो । आज क्रिसमसको पूर्वसन्ध्या हो, साथी । मप्रति राम्रो बन र त्यस्तै राम्रो व्यवहार पनि गर किनभने यो कपाल त तिम्रै लागि लोप भएको हो ।

हुनसक्छ, मेरो टाउकोमा भएको रौं गन्न सकिने संख्यामा थियो होला,’ अचानक उसको आवाजमा गम्भीर मिठास भरिएर आयो, ‘तर तिम्रा लागि मभित्र रहेको प्रेमलाई कसैले गन्न सक्दैन । जिम, के मैले अब चप पकाउन बसाल्दा हुन्छ ?’

लगत्तै आफ्नो अचेतन अवस्थाबाट जिम चाँडै ब्युँझियो । उसले आफ्नी डेलालाई अँगालोमा बेर्‍यो । दश सेकेन्डका लागि हामी दुई फरक दिशा र भिन्न धारमा भएका कुनै कम आवश्यक वस्तुहरूको सचेत एवम् सन्तुलित जाँच–परख गरौं ।

प्रतिसाता आठ डलर अथवा प्रतिवर्ष दश लाख डलर– फरक के छ ? यसको प्रतिउत्तरमा कुनै पनि अंकगणितशास्त्री अथवा कुनै चतुर विद्धानले तपाईंलाई गलत जवाफ दिनेछ ।

मेजाईहरूले एकअर्काका लागि भनेर अमूल्य उपहार ल्याएका थिए तर त्यसको उपादेयता स्वयम् उनीहरूका लागि भने थिएन । यो अँध्यारो पक्ष कथामा पछि उज्यालोमा आउनेछ ।

जिमले आफ्नो ओभरकोटको खल्तीबाट एउटा सानो प्याकेट झिक्यो र टेबुलमा हुत्याएजस्तो गर्‍यो ।

‘मेरोबारेमा अन्यथा केही नसोच, डेल,’ उसले भन्यो, ‘मलाई के लाग्दैन भने कसरी कपाल काट्ने अथवा दाह्री–जुँगा खौरिने अथवा कुन साबुन–स्याम्पू प्रयोग गर्ने भन्ने कुनै कुराले पनि मलाई आफ्नी प्रेमिकाभन्दा न्यूनतर तुल्याउन अथवा कमजोर देखाउन सक्छ । तर, त्यो प्याकेट खोल्यौ भने थाहा पाउनेछ्यौ, शुरुमै तिमीले मलाई किन र कसरी विस्मित् पारेकी छौ ।’

डेलाको हातका औंला चल्मलाउन थाले, तिनले त्यो प्याकेट बाँधेको डोरी र बेरेको कागज च्याते । उपहार देखेर डेला हर्षातिरेकले चिच्याउन पुगी, अनि लगत्तै, हे दैव ! तत्कालै उसको हर्ष–ध्वनिमा नारीसुलभ परिवर्तन आयो र ऊ क्वाँ–क्वाँ रुन थाली । उसलाई फकाउन जिमलाई आफूसित भएभरको क्षमता र सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्था सिर्जना हुन गयो ।

त्यो प्याकेटभित्र केही काँगियाहरू थिए– काँगियोको झुप्पा, अर्थात् सिङ्गो सेट, छेउबाट हेर्दा पनि र पछाडिबाट हेर्दा पनि सबैतिरबाट अत्यन्त चित्ताकर्षक । यो त्यस्तै काँगियो–सेट थियो जस्तो डेलाले घरको खुला झ्यालमा बसेर धेरै–धेरैपटक त्यसकै प्राप्तिका लागि भनेर लामो समयदेखि ईश्वरलाई पुकारा गर्दै आएकी थिई ।

ती अति आकर्षक र सुन्दर काँगिया थिए, शुद्ध कछुवा–खोलबाट निर्मित र सबै किनारा आभूषणले मण्डित– उसको लुप्त भइसकेको सुन्दर खैरो कपाल कोर्न पनि र त्यसमा खिप्न पनि सर्वोत्तम ।

ती काँगिया निकै महँगा थिए, डेला जान्दथिई, र, उसलाई कहिल्यै यी पाउन सकिन्छ भन्ने झीनो आशासमेत थिएन तापनि उसले हृदयबाटै त्यो प्राप्तिको लालसापूर्ण कामना भने गर्दै आएकी थिई । र अहिले, तिनै काँगिया ऊसँग थिए, जसलाई उसले मन लागेअनुसार प्रयोग गर्न सक्थी तर त्यो चीर–इच्छित आभूषणले सजाउनुपर्ने लामो खैरो सुन्दर कपाल अब त्यहाँ थिएन, कतै हराइसकेको थियो ।

उसले तिनलाई अँगालो हालेजस्तो गर्दै छातीमा टाँसी, र बिस्तारै आफ्ना अँध्यारिएका आँखा माथितिर उठाई, हलुकासित मुस्कुराई र भनी, ‘मेरो कपाल त कत्ति छिटो बढिसक्छ, जिम !’

अनि त्यसपछि डेला खुसीले बुरुक्क बुरुक्क भई । उसको मुखबाट अनायासै निस्कियो, ‘आहा, आहा !’

उसले किनेको उपहार जिमले अझै हेरिसकेको थिएन । ऊ अत्यन्त उत्सुकता र उत्साहपूर्वक जिमका अगाडि उभिई र आफ्नो खुल्ला हत्केलामा राखेको वस्तु उसलाई देखाई । भित्रैदेखि उसमा पलाएको असीम उत्साह र उज्यालोको प्रतिबिम्बमा परेर मानौं त्यो बहुमूल्य निष्प्राण धातु–टुक्रा पनि अनौठो तरिकाले चम्किन थालेको थियो ।

‘यो बिछट्टै राम्रो छैन त, जिम ? यसलाई खोज्दा–खोज्दै मैले झण्डै सिङ्गो शहर पो चाहारें, बाबै । तिमी अब यसलाई दिनहुँ सयौंचोटी हेरी बस्नेछौ । मलाई तिम्रो घडी देऊ त । मैले हेर्नु छ, तिम्रो घडीमा यो कस्तो देखिँदो रहेछ ।’

तत्काल जिमले डेलाको आग्रह स्वीकार गरेन, त्यसको सट्टा ऊ सोफामा अझ बढी ढल्किन पुग्यो अनि आफ्ना दुवै हात टाउकोमुनि राख्यो र मुसुमुसु मुस्कुरायो ।

‘डेल,’ उसले भन्यो, ‘हामीले एकअर्काका लागि भनेर ल्याएका क्रिसमस उपहारहरू केही समयका लागि अलग्गै राखौं । ती उपहार अहिले नै प्रयोगमा ल्याइहाल्नका लागि त्यति उपयुक्त छैनन् । मैले तिम्रा लागि काइँयो किन्ने भनेर आफ्नो घडी बेचिसकेको छु । ल, बरु अब खाना खाऔं होला ।’

मेजाई, तपाईं पाठकहरूलाई थाहा भएजस्तै, ती बुद्धिमान मानिस गज्जबका तीनजना बुद्धिमान मानिसहरू थिए जसले डुँडमा राखिएको शिशु (नवजात येशू ख्रिष्ट –अनु.) का लागि सर्वप्रथम उपहारहरू ल्याएका थिए ।

उनीहरूले नै क्रिसमसको अवसरमा उपहार लिने–दिने कलापूर्ण प्रचलनको शुरुआत पनि गरे । बुद्धिमान भएकैले, निःसन्देह, उनीहरूले ल्याएका उपहार पनि विशिष्ट थिए, सम्भवतः एकै किसिमका हुन गए भने तिनलाई साटफेर गर्न मिल्ने विशेष सम्भाव्यता तिनमा रहन्थ्यो ।

र, यहाँनिर म तपाईंहरूलाई एउटा फ्ल्याटमा बस्ने त्यस्ता दुईजना ‘केटाकेटी’ले गरेको अनाकर्षक कार्य–व्यवहारका सम्बन्धमा बताइरहेको छु, जसले केवल आफू एकअर्काका लागि भनेर सर्वाधिक मूर्खतापूर्ण ढङ्गले घरका सबैभन्दा मूल्यवान वस्तुकै परित्याग गरिदिए । यसो भए तापनि अचेलका बुद्धिमानहरूका लागि के भन्न सकिन्छ भने त्यसरी उपहार दिनेहरूमध्ये उनीहरू दुईजनाले दिएको उपहार सबैभन्दा बुद्धिमानीपूर्ण थियो ।

उपहार दिने र लिनेहरूमध्ये उनीहरू जस्ता दुईजना नै सर्वाधिक बुद्धिमान पनि थिए । सर्वत्र उनीहरू नै सर्वाधिक बुद्धिमान हुन्छन्, सबैभन्दा जानिफकार ठहरिन्छन् । उनीहरू मेजाई हुन् ।

नेपाली अनुवाद : जयदेव गौतम

(नोट : न्वारनको नाम विलियम सिडनी पोर्टर हो । तर उनी अङ्ग्रेजी वाङमयमा आफ्नो उपनाम ‘ओ. हेनरी’ अथवा ‘ओलिभर हेनरी’ को नामले स्थापित र कालजयी भए । आफ्नो जीवनकालमा जम्मा ३८१ वटा कथा लेखेका ओ. हेनरी आफ्ना कथाहरूमा आलंकारिक एवम् लाक्षणिक भाषा र विशिष्ट लेखनशैलीका निम्ति अनि नाटकीय र विस्मयकारी अन्त्यका लागि विश्वप्रसिद्ध छन् । प्रस्तुत कथा ‘गिफ्ट अफ दी मेजाई’ सर्वप्रथम १० डिसेम्बर सन् १९०५ मा ‘द न्युयोर्क सन्डे वल्र्ड’ पत्रिकामा र अर्को वर्ष सन् १९०६ मा लेखकको कथासङ्ग्रह ‘द फोर मिलियन’ मा प्रकाशित भएको थियो । –अनुवादक)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment