Comments Add Comment

सप्तरीमा भोलिदेखि जोर-बिजोर प्रणाली लागू

१८ वैशाख, सप्तरी । सप्तरीमा भोलि आइतबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले सवारी साधन सञ्चालनमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्दै जाँदा भीड कम गराउन यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलेले जानकारी दिए । अति आवश्यक सेवा बाहेकका बस, जिप, माइक्रो, कार, म्याजिक, अटो, मोटरसाइकलसहित सबै सवारी साधनमा यो प्रणाली लागू गरिएको उनले बताए । भोलि पहिलो दिन विजोरका सवारी साधन चल्नेछ ।

बैठकले भुमि सुधार तथा मालपोत, नापी लगायतका कार्यालयले सेवा प्रवाह गर्दा भीडभाड नहुने व्यवस्था मिलाउने तथा ठेला तथा सवारी साधानमा खाद्यान्न, लत्ताकपडा तथा तरकारी विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

सदरमुकाम राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने सडकमा अति आवश्यक सेवा बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने निर्णय भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माणको अन्तिम चरणमा रहेको आइसोलेशन केन्द्र तीन दिनभित्र सञ्चालनमा ल्याउन अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टलाई जिम्मेवारी दिइएको छ । आइसोलेसनको सुरक्षा व्यवस्था नेपाली सेनाले मिलाउनेछ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिकास्थित जिल्ला अस्पताल हाताभित्र रहेको आइसोलेसन सेन्टर पाँच दिनभित्र सञ्चालनमा ल्याउने नगरप्रमुखलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment