Comments Add Comment

गंगालाल अस्पतालमा दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

२० वैशाख, काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरेका छन् । महानगरले उपलब्ध गराएको करिब २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।

४७ लिटरका १३५ सिलिन्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।

प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गरे ।

‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौं । दुई ठाउँबाट दैनिक करिब २ सय सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ ।’ उनले भने ।

महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खाता पठाएको थियो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ ।

गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन विरामी भएको ठाउँमा पुर्‍याइएकोले सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको मेयर शाक्यले उल्लेख गरे । सिलिन्डर जोहो गरिरहन नपर्ने भन्दै नचाहिने सिलिण्डर फिर्ता गर्न आग्रह गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले गंगालालले विरामीसँग अक्सिजनको पैसा नलिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment