Comments Add Comment

मध्यरातिबाट बन्द भयो अन्तर्राष्ट्रिय उडान, चार्टर्ड उडान जारी

२४ वैशाख, काठमाडौं । कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । विहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

नेपाल र भारतबीच ‘एयर बबल’ सम्झौता अनुरुप दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

के हो एयर बबल सम्झौता ?

नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले नेपाल र भारतबीच गत वर्ष एयर बबल सम्झौता भएको थियो । एक अर्को देशमा रहेका नागरिकहरूको आफ्नो देशमा फर्कन सहज होस् भनेर यो सम्झौता गरिएको हो ।

‘एयर बबल’ सम्झौताअनुसार नेपाल र भारतबाट हुने उडानमा यी दुई देशका नागरिकलेमात्र यात्रा गर्न पाउँछन् । उडान दुवै देशका राष्ट्रिय ध्वजाबाहक विमानबाट मात्र हुने छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्नेछ । उनीहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंका विभिन्न आठ होटल सूचिकृत गरिसकेको छ ।

चार्टर्ड तथा उद्धार उडान सञ्चालन

मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । यसअवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ । आन्तरिक र अन्तरराष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना हुनेगरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ ।

चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने÷जाने यात्रुहरूको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।

अघिल्लो वर्ष कोभिड–१९ सङक्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो । चैत १० देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान स्थगन गरिएको थियो । महामारी घटेपछि गत भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment