Comments Add Comment

राष्ट्र बैंकले भन्यो : निषेधाज्ञाले अर्थतन्त्र पुन: प्रभावित

५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुने देखिएको उल्लेख गरेको छ ।

तर, अर्थतन्त्रलाई थप समस्या हुन नदिन कोरोना भाइरसको संक्रमण नियन्त्रणसँगै आर्थिक गतिविधिलाई चलायमान बनाइराख्नु पर्ने राष्ट्र बैंकको निष्कर्ष छ । राष्ट्र बैंकको सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको देखिन्छ । ‘यद्यपि अझैपनि कोभिड-१९ पूर्व २०७६ फागुनको अवस्थामा भने उद्योग/व्यवसायहरु पुग्न सकेको देखिँदैन’ अध्ययक्ष प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनु पर्ने खाँचो छ ।’

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले अघिल्लो लकडाउनपछि श्रमिकहरुको तलब तथा ज्यालादरमा वृद्धि भएको देखाएको छ । उता व्यवसाय सञ्चालनको अवस्थामा पनि लकडाउनपछि राम्रो सुधार भएको राष्ट्र बैंकले बताएको छ । प्रतिवेदनअनुसार गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायभन्दा कम हो ।

यसैगरी अध्ययन प्रतिवेदनअनुसार गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ बैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ ।

२०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च बढेको पाइएको छ भने विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।

यसअघि गत असारमा राष्ट्र बैंकले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरका विषयमा अध्ययन प्रतिवेदन तयार पारेको थियो । सोहि प्रतिवेदनको फलोअपका रुपमा राष्ट्र बैंकले २०७८ बैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरवार्तामार्फत यो सर्वेक्षण गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात् ५६२ जना उद्योगी/व्यवसायीहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका छन् । उद्योगी/व्यवसायीहरुलाई सोधिएको प्रश्नावलीमा कोभिड-१९ महामारीका कारण बन्दाबन्दी शुरुवात हुनुभन्दा अगाडि २०७६ फागुन महिनाको अवस्थासँग तुलना गर्न लगाइएको राष्ट्र बैंकले बताएको छ ।

यस सर्वेक्षणमा यस बैंकद्वारा २०७७ असारमा प्रकाशित “कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन” मा उल्लेख भए अनुसारको औद्योगिक क्षेत्रहरु प्रयोग गरिएको छ । सर्वेक्षणको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय औसत निकाल्ने प्रयोजनका लागि राष्ट्रिय आर्थिक गणना, २०७५ अनुसारको उद्योग/व्यवसाय संख्यालाई भाराङ्कको रुपमा प्रयोग गरिएको छ । तर रोजगारी र तलब-ज्याला सम्बन्धी तथ्याङ्क विश्लेषण गर्दा भने राष्ट्रिय आर्थिक गणना, २०७५ मा उल्लिखित क्षेत्रगत रोजगारी संख्यालाई भाराङ्कको रुपमा प्रयोग गरिएको राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment