Comments Add Comment

स्वास्थ्य मन्त्रालयले तथ्यांक सच्याए पनि गल्ती कायमै

६ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सुधार भएका छन् । यद्यपि केही सूचना भने अझै गलत नै छन् । त्यसमध्ये भक्तपुर अस्पताल भक्तपुरमा आईसीयू बेडको संख्या ६ वटा र भेन्टिलेटरको संख्या पनि ६ वटा नै रहेको अस्पतालले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उपलब्ध भेन्टिलेटरको संख्या १ बनाएको छ । गत सोमबार सार्वजनिक भएको तथ्यांकमा ८ बनाएको थियो ।

मन्त्रालयको तथ्यांक अनुसार किस्ट अस्पताल, ग्वार्कोमा जेनेरलर/एचडीयू १७६, आइसीयू ३७, भेन्टिलेटर १७ उपलब्ध छ । त्यसमध्ये एचडीयुमा ११ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ७ जना उपचाररत रहेको तथ्यांकले देखाउँछ । तर, अस्पतालमा करिब ३५ एचडीयु (क्रिटिकल केयर) बेड र १२ वटा भेन्टिलेटर सञ्चालित छ । अहिले एचडीयूमा २८ जना र भेन्टिलेटर सबै प्रयोगमा छन् । बाँकी रहेको एचडीयूमा अक्सिजन अभावको कारण संक्रमित भर्ना गर्न नसकेको अस्पताल प्रमुख अमिश पाठकले बताए ।

यो पनि पढ्नुहोस स्वास्थ्य मन्त्रालयले नै दियो बेड खालीको गलत सूचना

उनले भने ‘अक्सिजन अभावको कारण हामी आफैं उद्योगसम्म अक्सिजन लिन गयौं । उद्योगमा समेत पहुँचवालाले मात्रै पाउन थालेपछि भर्ना कम गरेका हौं ।’ अस्पतालले मन्त्रालयको आधिकारिक सफ्टवेयरमा अस्पतालले अपडेट गरेको हुनाले मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक फरक नहुनुपर्ने उनको भनाइ छ ।

त्यही क्रममा आफू पनि संक्रमित हुन गई आइसोलेसनमा बसिरहेको उनले बताए । सरकारले अक्सिजन र जनशक्ति परिचालन गर्न सके सम्झौता अनुरूप बिरामी उपचार गर्ने उनको भनाइ छ । क्रिटिकल केयरमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमित भएर आइसोलसनमा बस्नुपर्ने स्थिति हुँदा पनि नयाँ बिरामी भर्ना गर्न नसक्ने भएकोले सरकारले जनशक्ति परिचालन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले अक्सिजन उपलब्ध गराउने भएकोले थप सात जना भर्ना लिने अस्पतालले निर्णय गरेको पाठकले बताए ।

अस्पतालले मन्त्रालयसँग २०० बेड कोरोना संक्रमितको लागि प्रयोग गर्ने सम्झौता गरेको थियो । संक्रमित बढ्दै जाँदा केही दिन अघिसम्म १०० जनासम्म भर्ना गरेर उपचार गरेको तर अक्सिजनको अभाव हुन थालेपछि भर्ना कम गर्दै गरेको अस्पताल प्रमुख पाठकले बताए ।

त्यस्तै, काठमाडौं मेडिकल शिक्षण अस्पताल सिनामंगलमा क्रिटिकल केयर र भेन्टिलेटर गरी डेढ सय भर्ना गर्न सकिने अवस्था भए पनि अक्सिजनको अभावको कारण अहिले १७ जना मात्रै उपचाररत रहेको अस्पतालका अध्यक्ष सुनिल शर्माले बताए । बाँकीमा अक्सिजन अभावको कारण भर्ना गर्न नसकेको शर्माले बताए ।

उनले भने ‘हामीसँग पर्याप्त अक्सिजन छैन । अब भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।’ मन्त्रालयमा बिहान ११ बजेसम्म भित्र रिपोर्ट पठाउने भएकाले तथ्यांक फरक पर्न गएको उनको भनाइ छ । शर्माले यदि सरकारले अक्सिजनको आपूर्ति सहज बनाउने हो भने दुई घन्टाभित्र दुई सय बेड सञ्चालन गर्न सक्ने दाबी समेत गरे ।

सम्पर्क नम्बर र व्यक्ति नै गलत

मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांकमा विभिन्न अस्पतालको सम्पर्क व्यक्तिको नाम र नम्बर समेत गलत दिएको छ । यसमा पनि काठमाडौं मेडिकल शिक्षण अस्पताल, सिनामंगलको सम्पर्क व्यक्तिको नाम डा.राजिव मानन्धर र सम्पर्क नम्बर ९८५११९०५७६ उल्लेख छ । यो नम्बरमा सम्पर्क गर्न खोज्दा ‘नम्बर रजिष्ट्रर गरिएको छैन’ भन्ने टेलिकमको सूचना सुनिन्छ । अस्पतालका अध्यक्ष सुनिल शर्माले भने यसबारेमा आफूलाई जानकारी नभएको बताए ।

त्यस्तै, अर्को किस्ट अस्पताल, ग्वार्कोमा सम्पर्क व्यक्ति डा. कविता हाडाको दिइएको छ । तथ्यांकमा उल्लेखित नम्बरमा फोन गर्दा उनले आफू इमरजेन्सीको डाक्टर भएको बताउँछिन् । अनलाइनखबरलाई उनले भनिन् ‘मेरो यो नम्बर तपाईंलाई कसले दियो ? म यो सम्बन्धित व्यक्ति होइन । म इमरजेन्सी डाक्टर हुँ । अस्पतालमा फोन गरेर सूचना लिनु होला ।’ डा.कविताले सूचनाको लागि बारम्बार फोन आउने गर्न थालेपछि फोन नै उठाउन छोडेको समेत बताइन् ।

अस्पतालका अपरेसनल इन्चार्ज अमिश पाठकले भने आफू संक्रमित भएको अवस्थामा मन्त्रालयबाट गएका टोलीले इमरजेन्सीको एचओडीको नम्बर लगेको र सोही तथ्यांकमा राखेको हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment