Comments Add Comment

पुनर्बीमा लाइसेन्सको दौडमा पाँच कम्पनी, कुन कम्पनीमा को छन् लगानीकर्ता ?

६ वैशाख, काठमाडौं । पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ ।  यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स  पनि थपिएको हो ।

हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा समितिले थप एउटालाई लाइसेन्स दिन आवेदन माग गरेको थियो ।

बीमा समिति स्रोतका अनुसार हालसम्म काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्यारेन्स र हिमालय रि–इन्स्योरेन्सले लाइसेन्स माग गर्दै निवेदन दिएका छन् । यसमध्ये एउटा कम्पनीलाई मात्रै लाइसेन्स दिने समितिको तयारी छ ।

अन्य चारवटा कम्पनीहरू यसअघि नै चर्चामा रहेका कम्पनीहरू हुन् । बीमा समितिले आवेदन माग गर्नु अगावै यी कम्पनीहरूको चर्चा चलेको थियो । समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि लाइसेन्स दिने चर्चासँगै व्यावसायिक घरानादेखि बीमा क्षेत्रमै आवद्ध व्यक्तिहरूले पुनर्र्बीमा कम्पनी खोल्न सक्रियता देखाउँदै आएका छन् ।

तर क्रस होल्डिङ हुने गरी यसअघि नै पुनर्बीमा कम्पनीमा लगानी रहेकाहरूले भने प्रस्ताव पेश गर्न नपाउने बीमा समितिले बताएको छ । यो निर्णयले आवेदन दर्ता गर्ने तयारीमा बसेका केही व्यवसायी घरानालाई असहज बनाइदिएको छ ।

कुन कम्पनीमा को–को छन् ?

प्रस्तावित हिमालय रि–इन्स्योरेन्स कम्पनीले मंगलबार लाइसेन्स माग गर्दै निवेदन दर्ता गराएको बीमा समितिले जनाएको छ । समिति स्रोतका अनुसार व्यवसायी अग्रवालले हिमालयको निवेदन दर्ता गराएका छन् ।

अर्को प्रुडेन्सियल रि–इन्स्योरेन्समा व्यावसायिक घरानाहरू आईएमई ग्रुप, विशाल ग्रुपलगायतको लगानी रहको बताइएको छ । उता अन्नपूर्ण रि–इन्स्योरेन्समा गैरआवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोसहित केही गैरआवासीय नेपाली समेत रहेका छन् ।

यस कम्पनीले लाइसेन्स पाए गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पनि लगानी गर्ने बताएको छ ।

अर्को कम्पनी काठमाडौं रि–इन्स्योरेन्समा बीमा क्षेत्रका विज्ञहरूको समूह छ । प्रस्तावित उक्त कम्पनीमा बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप साह, बीमा कम्पनीका सबैभन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टीम छ ।

प्रस्तावित जेन्यून रि–इन्स्युरेन्समा दुई जना बीमा क्षेत्रका विज्ञहरू छन् । बीमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की र पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे यो कम्पनीमा छन् ।

यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरी समेत सहभागी रहेको बताइएको छ । अन्य दुई अन्नपूर्ण रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्समा भने विज्ञ भन्दा धेरै व्यावसायिक घरानाका व्यक्तिहरू रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment