Comments Add Comment

नयाँ नेपाली फिल्म ओटीटीबाट रिलिज हुन किन सकेनन् ?

खगेन्द्र भन्छन्–‘हामीले सोचेका छौं, तर तत्काल गाह्रो छ’

पहिलो चरणको लकडाउनपछि बलिउडमा कम बजेटमा बनेका अधिकांश चलचित्रले ओटीटी प्लेटफर्मलाई रोजे । भारतमा नयाँ चलचित्रलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्ने परिपाटी सोही समयबाट सुरु भयो ।

अझ यसो भनौ, बलिउडले ओटीटीलाई हलको विकल्पको रुपमा लिन थालेको पहिलो चरणको लकडाउनपछि नै हो । अहिले दोश्रो चरणको कोरोनाको लहरका कारण आक्रान्त बनेको बलिउडलाई ओटीटीले ठूलो राहत दिएको छ । पछिल्लो समयमा त बलिउडमा महंगो बजेटका चलचित्र पनि ओटीटीमा रिलिज हुन थालेका छन् । नायक सलमान खानको ‘राधे’, अक्षय कुमारको ‘लक्ष्मी बम’, बरुण धवनको ‘कुल्ली नम्बर १’ लोभलाग्दो रकममा ओटीटीमा विक्री हुने यसको बलियो उदाहरण हो ।

भारतीय समिक्षकहरुका अनुसार, बलिउडका करिब ७० प्रतिशत चलचित्रले हलमा रिलिज भएको भए लगानी उठाने थिएनन् । तर, ओटीटीले उनीहरुलाई सुरक्षित मात्र गरेन, प्रचार प्रसार र बक्स अफिसको तनावबाट पनि मुक्त बनाइदियो ।

बलिउडले ओटीटी प्लेटफर्मलाई हलको विकल्पको रुपमा बलियो रुपमा अगाडि बढाएको समयमा नेपालमा पनि ओटीटीका लागि कदम नचालिएको भने होइन । नायिका ऋचा शर्माको संयोजनमा संचालनमा आएको ‘चलचित्र घर’ होस् या नायक खगेन्द्र लामिछाने जोडिएको ‘सिनेमा घर’ नै किन नहोस् । नेपालमा पनि ओटीटी प्लेटफर्महरुको विकास भएका छन् ।

तर, पहिलो चरणको लकडाउनकै समयमा संचालनमा आएको ‘चलचित्र घर’ र लकडाउन खुलेसँगै पत्रकार सम्मेलनको आयोजना गर्दै पुनः संचालनमा ल्याइएको ‘सिनेमा घर’ एप नै किन नहोस्, निर्मातालाई यी ओटीटीले विश्वास दिलाउन सकेका भने छैनन् । जसकाकारण, ‘चलचित्र घर’को अवस्था त अहिले शुन्य जस्तै छ भने ‘सिनेमा घर’ पुरानै चलचित्रको भरमा चलिरहेको छ । हालैमात्र, यो एपका संचालकले चलचित्र ‘डमरुको डन्डिबियो’ निःशुल्क हेर्न मिल्ने बनाए । जसले गर्दा यसमा दर्शकको आकर्षण बढेको पाइएको छ ।

केही दिन अगाडि भर्चुअल माध्यमबाट आयोजना भएको ‘निफ फिल्म फेस्टिभल’मा चलचित्र संघका महासचिव अशोक शर्माले चलचित्र भवनहरुको विकल्प नभएको बताइरहँदा निर्माता तथा चलचित्र विकास बोर्डका सदस्य अर्जुन कुमारले हलको विकल्प खोज्नुपर्ने बताएका थिए ।

हुन पनि हो, निर्माण भएको २ बर्ष भैसक्दा पनि कोरोनाको एकपछि अर्को लहरका कारण थुप्रै चलचित्रहरु मारमा छन् । नयाँ थुप्रै आशातित चलचित्रहरु हलमा रिलिज हुने दिन कुरेर बसेका छन् । तर, हल कहिलेबाट संचालनमा आउँछन् र दर्शक हलसम्म पुग्छन् भनेर अहिले नै भन्न सकिने अवस्था छैन । ‘म यस्तो गीत गाउँछु २, प्रेमगीत, ३, चपली हाइट ३, निरफूल, लक्का जवान, हिजो आजका कुरा’ लगायतका दर्जन चलचित्र डेढ बर्ष अगाडि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन पाएनन् ।

ओटीटीमा दर्शकले प्रतिक्षा गरेका केही चलचित्र रिलिज गर्न सक्ने हो भने पक्कै पनि दर्शकको ध्यान तानिने थियो होला । तर, न त नयाँ चलचित्र रिलिज गर्न निर्माताले नै ओटीटीलाई विश्वास गर्न सक्ने अवस्था छ न त ओटीटी प्लेटफर्मका संचालकले नयाँ चलचित्रमाथि लगानी गर्न सक्ने अवस्था नै छ ।

चलचित्र निर्देशक दीपेन्द्र के खनाल भन्छन्–‘ओटीटी प्लेटफर्ममा दर्शकले प्रतिक्षा गरेका केही चलचित्रमाथि लगानी गर्ने हो भने बल्ल दर्शकले सब्सक्राइब गर्छन् । पुरानै चलचित्र राखेर त मानिसहरु कसरी आकर्षित होलान् र खै ?’

कम बजेटमा बनेका तर दर्शकले आशा गरेका चलचित्रमाथि ओटीटीका संचालकहरुले लगानी गर्न सक्ने हो भने पनि यो माध्यम विस्तारै भरपर्दो माध्यमको रुपमा विकास हुने थियो । भारतमा नेटफ्लिक्स, अमेजन, हट स्टार जस्ता ओटीटी प्लेफर्मका लगानीकर्ताले अरबौ रुपैयाँ बलिउड चलचित्रका लागि लगानी गरिरहेका छन् ।

सोचेका छौं, तर अहिले लगानी गर्न सक्ने अवस्था छैनः खगेन्द्र
‘सिनेमा घर’ एपका संचालक मध्येका एक कलाकार खगेन्द्र लामिछानेले आफूहरुले नयाँ चलचित्र रिलिजको बिषयमा सोचेको बताउँछन् । उनले भने–‘हामीले नयाँ चलचित्र पनि रिलिज गर्न सक्ने हो भने दर्शकको आकर्षण बढ्ने कुरामा त दुइमत छैन । तर, अहिले नै हामीले डेढ–दुई करोडमा बनेका चलचित्रहरुमाथि लगानी गर्न सक्ने अवस्था छैन । नेपाली चलचित्रको बजार ठूलो छैन । नेपाल र नेपाली भाषीहरु मात्र नेपाली चलचित्रका दर्शक हुन् । यसैले पनि निर्मातालाई महंगो बजेटमा बनेका चलचित्र दिनुहोस् भन्ने अवस्था हाम्रो छैन ।’

तर, आफूहरुले निकट भविष्यमा नै एपमा नयाँ चलचित्र रिलिज गर्ने बिषयमा सोचिरहेको र यसका लागि द्रुत गतीमा काम पनि गरिरहेको खगन्द्रले बताए ।

उनी भन्छन्–‘मैले मेरै आफ्नो चलचित्र पानी फोटो पनि एपबाट रिलिज गर्न सकेको छैन । किनकी, करोडौ बजेटमा बनेको चलचित्र एपमा राखेर लगानी उठाउन सक्ने अवस्था अहिले छैन । मुख्य कुरा त पैसाको नै हो । हामीले एपलाई आधुनिकिकरण गरेर संचालनमा ल्याएको आधा बर्ष पनि भएको छैन । यसैले, यो बिषयमा सोचेका छौं । तत्काल भने सक्ने अवस्था छैन ।’

खगेन्द्रले चलचित्र ‘डमरुको डन्डिबियो’ निःशुल्क रुपमा रिलिज गरेपछि एपको ट्राफिकले नै धान्न नसकेर क्षमता बढाउनु परेको बताए । लामिछाने भन्छन्–‘हाम्रो एपको प्रभावकारिता र दर्शकको विश्वास बढिरहेको छ । तर, विश्वका चर्चित एपहरु पनि आजको अवस्थामा आउनका लागि केही बर्ष लागेको थियो । हामी त बल्ल सुरुवात गर्दैछौ ।’

दर्शकमा नेपाली चलचित्र कि हलमा कि युटुबमा हेर्ने बानी परेको छ । यसैले, युटुबमा निःशुल्क चलचित्र हेरिरहेका दर्शकलाई पैसा तिरेर हेर्नुहोस् भन्न समय लाग्ने खगेन्द्र बताउँछन् ।

नेपाली चलचित्रले कोरोनाका कारण अरबौ रुपमा घाटा व्यहोरेको छ । अरबौ रुपैयाँ चलचित्रमा फ्रिज भएर बसेका छन् । तर, ओटीटीमा दर्शकले प्रतिक्षा गरेका केही चलचित्र रिलिज गर्न सक्ने हो भने एकातिर निर्मातालाई पनि ठूलो राहत हुने थियो, अर्कोतिर नयाँ प्लेटफर्मको विकास पनि हुने थियो । तर, अझै पनि नेपाली चलचित्रका निर्माताले चलचित्र रिलिजका लागि हल नै कुर्नुको विकल्प देखिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment