
१० जेठ, काठमाडौं । अमेरिकाले इथियोपिया र इरिट्रियाका अधिकारीहरुमाथि भिसामा प्रतिबन्धको निर्णय गरेको छ ।
६ महिनादेखि इथियोपियाको टिग्रेमा जारी युद्धलाई बढावा दिएको भन्दै अमेरिकाले यस्तो निर्णय गरेको छ । अमेरिकाले दुवै मुलुकका अधिकारीले शत्रुता अन्त्यको लागि अर्थपूर्ण कदम नचालेको अमेरिकाको बुझाइ छ ।
आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इथियोपियालाई दिँदै आएको आर्थिक तथा सुरक्षा सहयोगमा पनि कटौती गर्ने बताएका छन् । यद्यपि स्वास्थ्य, खाद्यान्न र शिक्षाजस्ता मानवीय सहयोग भने जारी रहनेछ ।
‘टिग्रेका मानिसहरुले निरन्तर मानव अधिकार उल्लंघन, दुर्व्यवहार र अत्याचारको सामना गरिरहेका छन् र उनीहरुलाई तत्कालै आवश्यक परेको मानवीय सहायता दिनलाई इथियोपिया र इरिट्रियाका सेनाका साथै अन्य शसस्त्र समूहले रोकिरहेका छन्’, ब्लिन्केनले विज्ञप्तिमार्फत बताएका छन् ।
गत वर्षको नोभेम्बरमा इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले टिग्रे क्षेत्रका नेताहरुलाई पक्राउ गर्न सेनाहरु पठाएका थिए । त्यसयता भड्किएको हिंसामा परी अहिलेसम्म हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने लाखौं मानिसहरु विस्थापित भइसकेका छन् ।
अहिले अमेरिकाले लगाएको प्रतिबन्ध इथियोपियाको वर्तमान र पूर्व सरकारी अधिकारीहरु, सुरक्षाकर्मीहरु वा अन्य केही मानिसहरुलाई लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । इथियोपिया र छिमेकी मुलुक इरिट्रियाको सेनामाथि टिग्रेमा नरसंहार मच्चाएको आरोप छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4