Comments Add Comment

..अनि स्थापना भयो भेन्टिलेटर बैंक

१२ जेठ, काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि शुरू भयो । नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत र अन्य क्षेत्रसँग आवद्ध भएका केही सचेत व्यक्तिहरूलाई भेन्टिलेटरको कमी भएको थाहा थियो ।

गत वर्ष कोभिड १९ संक्रमण फैलन थाले पनि भेन्टिलेटरको अभावले धेरैको ज्यान जानसक्ने जोखिम बढ्यो । यो जोखिमलाई राम्ररी बुझेका शिक्षण अस्पताल आईसीयू विभागका प्रमुख डा. सुवास आचार्य, डा.विशाल ढकाल, रामेश्वर खनाल, निरञ्जन श्रेष्ठ र दीपेन्द्र चौलागाईं मिलेर भेन्टिलेटर बैंक स्थापना गरे ।

गैरनाफामूलक यो संस्थाले विभिन्न अस्पतालहरूलाई भाडामा भेन्टिलेटर उपलब्ध गराउने उद्देश्य बनायो । संस्थापक सदस्य डा.विशाल ढकाल भन्छन्, ‘हामीसँग स्वास्थ्य अवस्थाको सामान्य समयका लागि पनि आवश्यक भेन्टिलेटर छैनन् । यस्तो महामारीमा त झन् बढी चाहिन्छ । भएकाले थेग्नसक्ने अवस्था थिएन, छैन तर कसैलाई मतलब पनि छैन । बिरामीलाई झ्याल्टुङ बनाउँदै वरपर पारिरहेका हुन्छन् । त्यसैले हामी आफूले सक्ने गरौं भनेर जुटेका हौं ।’

सरकार र अस्पतालहरूलाई सहज र सुलभ रूपमा भेन्टिलेटर सर्भिसेजले भेन्टिलेटर उपलब्ध गराउने योजना बनाए अनुरूप उपलब्ध गराइरहेको संस्थापक अध्यक्ष निरञ्जन श्रेष्ठले बताए । यो समूहको सहयोग र बैंक ऋणबाट करीब पाँच करोडको सामान जुटिसकेको छ । त्यो रकमबाट साना–ठूला गरेर ६० वटा भेन्टिलेटर संस्थाले किनिसकेको छ । ती सबै भेन्टिलेटर प्रयोगमा आइरहेको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठ भन्छन्– सर्भिसेजले न्यूनतम शुल्क राखेर अस्पतालहरूलाई भेन्टिलेटर भाडामा दिने गरेको छ । सहज र सुलभ रूपमा अस्पतालले ती भेन्टिलेटर चलाउँछ । त्यसपछि फेरि अर्को स्थानमा पठाउन सकिन्छ । अस्पतालले किनेको सामान निश्चित सेवाग्राहीको पहुँचमा मात्रै हुन्छ । सर्भिसेजसँग भएको भेन्टिलेटर न्यूनतम शुल्कमा नेपालको कुनै पनि अस्पतालमा लगेर प्रयोग गर्न सकिन्छ ।

सर्भिसेजले अहिलेसम्म २१ वटा मेकानिकल भेन्टिलेटर, २५ वटा एचएफएनसी र बाँकी १९ वटा सिप्याप र बाईप्याप मेसिन ल्याएको छ । १० वटा मेकानिकल भेन्टिलेटर, पाँच वटा एचएफएनसी र २० वटा बाईप्याप र सिप्याप ल्याउने तयारीमा संस्था छ ।

सर्भिसेजले न्यूनतम शुल्क राखेर अस्पतालहरूलाई ती सामग्री भाडामा दिने गरेको छ । यसरी दिनुको कारण खुलाउँदै अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो उद्देश्य सहज र सुलभ रूपमा सबैको पहुँचमा सुविधा पुर्‍याउनु हो । अस्पतालले आफूलाई आवश्यक परेको बेला चलाउँछ । त्यसपछि फेरि अर्को स्थानमा पठाउन सकिन्छ । अर्को क्षेत्रका नागरिकको उपचारका लागि त्यो प्रयोग हुन्छ ।’

उनका अनुसार अस्पतालले किनेको सामान निश्चित सेवाग्राहीको पहुँचमा मात्रै हुन्छ । सर्भिसेजसँग भएको भेन्टिलेटर न्यूनतम शुल्कमा नेपालको कुनै पनि स्थानमा लगेर प्रयोग गर्न सकिन्छ ।

अस्पताललाई पनि यसरी प्रयोग गर्दा ठूलो आर्थिक भार नपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘हामी त सरकार र नागरिकलाई सहज बनाउनको लागि हो । सरकारलाई पनि भार कम हुने र सामान्य नागरिकको पहुँचमा पनि भेन्टिलेटर सेवा पुग्छ ।’

निजीलाई दिनको १२०० र सरकारीलाई दिनको ५०० मा अनि बाईप्याप र सिप्याप मेसिन भने दैनिक १५० रुपैयाँ शुल्कमा दिने गरिएको छ । अस्पतालहरूले आफ्नो आवश्यकता अनुसार भेन्टिलेटर भाडामा प्रयोग गर्न लगिरहेका छन् ।

सर्भिसेजले शिक्षण अस्पताल काठमाडौं, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, भरतपुर, जनकपुर, दाङ, भक्तपुरको नेपाल–कोरिया र भक्तपुर क्यान्सर अस्पताललाई भेन्टिलेटर दिएको छ । ग्राण्डी, मेडिसिटी, स्टार, किस्ट, कपनको करुणा अस्पताल लगायतले अहिले भाडामा भेन्टिलेटर चलाइरहेका छन् ।

संस्थाले भेन्टिलेटर प्रयोगको लागि दक्ष जनशक्तिको पनि अभाव भएको पाएपछि केही समयअघि पोखरामा तालिम समेत चलाएको छ । समय सहज हुँदै गएपछि अन्य क्षेत्रमा पनि तालिम दिने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कोभिडपछि ४५३ भेन्टिलेटर

स्वास्थ्य मन्त्रालयले कोभिडपछि देशभर जम्मा ४५३ वटा भेन्टिलेटर थप गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार अहिले काठमाडौं बाहिरको निजी अस्पताल बाहेक जम्मा ४५३ वटा भेन्टिलेटर थपिएका छन् । प्रदेश अन्तर्गत १५ वटा, हब अन्तर्गत १४८ वटा, संस्थागत १४४ वटा, उपत्यकाका निजी अस्पतालहरूमा १०८ वटा, लेबल–१ मा ३४ र लेबल–२ मा ४ वटा भेन्टिलेटर छन् ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर यतिबेला तीव्र रूपमा फैलिएको छ । जनस्तरमा फैलिएको भाइरसले ६ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । तीमध्ये कतिपय भेन्टिलेटर नपाएर ज्यान गुमाएका छन् । अस्पतालमा पर्याप्त भेन्टिलेटर नहुँदा धेरै जनाको ज्यान गएको समाचार बाहिरिएका छन् ।

आधुनिक प्रविधिसहित उपचार गर्ने भनिएका महँगा निजी अस्पतालले विपद्कै बेला अक्सिजन अभावका कारण बिरामीको उपचार गर्न नसक्ने भन्दै हात उठाइरहेका छन् । भेन्टिलेटर एवं आईसीयूका लागि हाईफ्लो अक्सिजनको आवश्यकता पर्ने र अस्पतालसँग पर्याप्त अक्सिजन नभएको उनीहरूको भनाइ छ ।

के हो भेन्टिलेटर ?

भाइरसले फोक्सोमा आक्रमण गरेपछि फोक्सोले नियमित काम गर्न सक्दैन । त्यसैले शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या भएपछि बिरामीको अवस्था गम्भीर हुन जान्छ । यस्तो अवस्थाका बिरामीलाई तत्काल आईसीयू अथवा भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

सर्भिसेजले शिक्षण अस्पताल काठमाडौं, नेपालगञ्ज, पोखरा, वीरगञ्ज, भरतपुर, जनकपुर, दाङ, भक्तपुरको नेपाल–कोरिया र भक्तपुर क्यान्सर अस्पताललाई भेन्टिलेटर दिएको छ । ग्राण्डी, मेडिसिटी, स्टार, किस्ट, कपनको करुणा अस्पताल लगायतले अहिले भाडामा भेन्टिलेटर चलाइरहेका छन् ।

मानिसले प्राकृतिक रूपमा श्वासप्रश्वास प्रक्रियाबाट अक्सिजन लिने र कार्बनडाइअक्साडड फाल्न नसक्ने अवस्थामा भेन्टिलेटरको प्रयोग हुन्छ । मानिसको स्वास्थ्य अवस्था जटिल हुँदा प्रयोग गर्ने उपकरण हो भेन्टिलेटर । यसले आकस्मिक रूपमा मानिसको जीवन बचाउन सहयोग गर्छ ।

भेन्टिलेटरले कृत्रिम अक्सिजन बिरामीको फोक्सोमा पु¥याएर कार्बनडाइअक्साइड फोक्सोबाट बाहिर निकाल्ने काम गर्छ । जसलाई बिरामीको अवस्था अनुसार प्रयोग गर्ने गरिन्छ । भेन्टिलेटर पनि विभिन्न प्रकारको हुन्छ– सिप्याप र बाईप्याप, एचएफएनसी र मेकानिकल । सिप्याप र बाईप्याप घरमै प्रयोग गर्न सकिन्छ । यसलाई मिनी भेन्टिलेटर पनि भनिन्छ ।

नियमित अक्सिजनको सहारा लिएर सास फेर्नुपर्नेहरूले घरैमा पनि यसको प्रयोग गर्ने गरेको पाइन्छ । एचएफएनसी (हाईफ्लो नोजल क्यानुला) अक्सिजन सहितको मेसिन र मेकानिकल भेन्टिलेटर चाहिं अस्पतालमा मात्रै प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment