Comments Add Comment

परमाणु उर्जा कति फाइदाजनक, कति खतरनाक ?

आगामी नोभेम्बर महिनामा जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन बेलायतमा हुँदैछ, जहाँ २ सय भन्दा धेरै मुलुकका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

उक्त सम्मेलनमा पृथ्वीमा उष्णीकरण गराउने हरितगृह ग्यासको उत्सर्जन कसरी तीव्र गतिमा घटाउने भन्ने विषयमा चर्चा हुनेछ ।

धेरै देशहरु कैयन् प्रयासका बाबजुद पनि जलवायु परिवर्तनका लागि जिम्मेवार हानिकारक ग्यासहरुको उत्पादन कटौती गर्न सकिरहेका छैनन् । के त्यस्ता मुलुकहरुका लागि न्युक्लियर इनजी अर्थात् परमाणु उर्जा सहयोगी सावित हुनसक्दछ ?

अहिलेको समयमा विश्वमा आपूर्ति भइरहेको बिजुलीमध्ये १० प्रतिशत बिजुली न्युक्लिएर रिएक्टरबाट उत्पादन भइरहेको छ । तथापि एक दशक अगाडि जापानको फुकुसिमामा भएको परमाणु केन्द्र दुर्घटना पश्चात् परमाणु उर्जालाई लिएर विश्वजगत बढी सचेत बनेको छ ।

जुन परमाणु उर्जालाई कार्वन उत्सर्जन घटाउने कुराको विकल्प मानिएको थियो, अहिले त्यसलाई लिएर सबै पर्यावरणविदहरुको धारणामा पनि परिवर्तन आएको छ ।

अहिले प्रश्न उठ्दछ कि परमाणु उर्जाको भविष्य के हो ? के जलवायु परिवर्तनसँग जुध्नका लागि हामीले धेरै भन्दा धेरै परमाणु उर्जा भट्टीहरु बनाउनु पर्छ ? कहीँ यसो गर्नु खतरनाक सावित त हुने होइन ?

परमाणु उर्जासँग मोहभंग ?

औद्योगिक क्रान्तिसँगै विकासको बाटो समातेका कैयन् देशहरुजस्तै जर्मनीले पनि सन् १९५० को दशकमै परमाणु उर्जा उत्पादनको प्रयासमा जुटेको थियो । जर्मनीको उद्धेश्य भविष्यका लागि यस्तो तरिकाबाट उर्जा तयार गर्नु थियो जसमा कोइलाको प्रयोग हुँदैनथ्यो र प्रदुषण पनि कम हुन्थ्यो ।

तर नागरिकहरुको व्यापक विरोधका कारण जर्मनीमा परमाणु उर्जाको सम्भावनाहरुमा रोक लगाइयो । जर्मनीमा परमाणु उर्जाको विरोध सोही बेलादेखि नै चलिरहेको छ । यद्यपि सन् १९६९ मै जर्मनीमा पहिलो व्यवसायिक परमाणु रिएक्टर स्थापना गरिएको थियो ।

विज्ञका अनुसार परमाणु उर्जा ठीक छ कि छैन त्यस विषयमा जर्मनीमा ऐतिहासिक बहस भयो । तर ७० को दशकमा जर्मनीभर सामाजिक आन्दोलनको आवरणमा व्यापक प्रदर्शन भयो । खासगरी तल्लो स्याक्सोनी राज्यहरुमा, जहाँ आणविक फोहोरहरुको भण्डारण गरिनेवाला थियो ।

जर्मनीमा गोर्लेबन भन्ने एउटा सडक थियो । एकीकरण भन्दा अगाडि पश्चिमी जर्मनीमा रहेको उक्त सडक पूर्वी जर्मनीसँग जोडिएको थियो । सरकारले त्यहाँ बन्द रहेको एउटा नुनखानीमा परमाणु फोहोर भण्डारण गर्ने योजना बनायो । जनताहरुले विरोध गरे, तर सरकार रोकिएन ।

त्यसको करीब १ दशकपछि सन् १९८६ मा चेर्नोबिल परमाणु दुर्घटना भयो । त्यसपछि जर्मनीमा पुनः परमाणु विरोधी आन्दोलन सुरु भयो ।

तत्कालीन सोभियत संघमा सामेल युक्रेनको चेर्नोबिल परमाणु केन्द्रमा बिजुली सर्ट भएसँगै परमाणु भट्टीको भित्री भाग पग्लिँदा आणविक विकिरण फैलियो र त्यसबाट ३० जनाको मृत्यु भयो । युरोपभरको आकाशमा विकिरणयुक्त बादल छायो । उक्त घटनाको ३ वर्षपछि जर्मनीको एकीकरण भयो र एकीकृत जर्मनीको स्वामित्वमा अन्य ६ परमाणु रिएक्टर पनि आए जुन सोभियत संघको सहयोगमा निर्माण भएका थिए ।

पूर्वी जर्मनीका ती परमाणु भट्टीहरुको अवस्था निकै नाजुक थियो र त्यहाँ परमाणु फोहोरको मात्रा पनि धेरै थियो । त्यसैले एकीकृत जर्मनीले आफूलाई भविष्यमा आणविक उर्जा आवश्यक नपर्ने निर्णय गर्‍यो ।

एकातर्फ जर्मन नागरिकहरु डराइरहेका थिए भने अर्कोतर्फ देश चलाउनका लागि बिजुली कहाँबाट ल्याउने भनेर नेताहरु चिन्तित थिए ।

हालकी जर्मन चान्सलर एन्जेला मर्केलको पार्टी पनि सुरुमा आणविक उर्जाको समर्थक थियो । तर उनको दोस्रो कार्यकालको अघिल्लो वर्ष जापानको फुकिुसिमा को न्युक्लिएर प्लान्ट सुनामीका कारण क्षतिग्रस्त भयो ।

फुकुसिमाको अवस्था देखेसँगै मर्केलले आणविक उर्जाको दिशामा अगाडि बढ्न नहुने निधो गरिन् । अधिकांश मानिसहरु त पहिले देखि नै आणविक उर्जाको विरुद्धमा थिए । मर्केलले पनि आफ्नो पार्टी एक्लैले परमाणु उर्जाको समर्थन गर्न नसक्ने निर्णय गरिन् ।

जर्मनीले आफ्ना सबै १७ वटा आणविक उर्जा भट्टी बन्द गर्दैछ । तर यसबापत जर्मनीले ठूलो मूल्य चुकाउनु पर्नेछ । आणविक उर्जा भट्टी बन्द गरेसँगै जर्मनी उर्जा उत्पादनका लागि प्रदूषण पैदा गर्ने कोइला जस्ता इन्धनमा निर्भर हुनुपर्नेछ । त्यसबाट जर्मनीले हरेक वर्ष ३ करोड ३६ लाख टन अतिरिक्त कार्वन उत्सर्जन गर्नेछ । यो अहिलेको उत्सर्जन भन्दा ५ प्रतिशत बढी हो ।

यतिमात्र होइन कोइलाको प्रयोगबाट हुने प्रदुषणका कारण वर्षेनी औसतमा ११ सय मानिसको मृत्यु हुनेछ । अर्थात् परमाणु उर्जाबाट टाढिँदा जर्मनीले स्वास्थ्य सम्बद्ध समस्याहरुको सामना गर्नुपर्ने हुनसक्दछ ।

सोँचमा परिवर्तन

कार्वन उत्सर्जन घटाउने उपायका विषयमा अनुसन्धान गर्ने संस्था टेरा प्राक्सिसका सह सस्थापक क्रिस्टी गोगन भन्छिन् ‘यदि १० वर्षअघि तपाईंले मलाई परमाणु उर्जालाई समर्थन गर्न भन्नुभएको थियो भने मैले तपाईंको कुरा मान्दिनथेँ । तर अहिले यस्तो छैन ।

पर्यावरणविदको रुपमा म परमाणु उर्जा तथा हतियारको विरुद्धमा थिएँ । तर जब मैले जलवायु परिवर्तन तथा उर्जाको क्षेत्रमा काम सुरु गरेँ, त्यस क्रममा के पृथ्वीलाई बचाउनका लागि हामीले कम समयमै कार्वन उत्सर्जन घटाउन सकिन्छ त ? भनेर विचार गरेँ । के केवल वायु तथा सौर्य उर्जाबाट यस्तो सम्भव हुन्छ त ? मलाई थाहा भयो कि यसो गर्नु निकै मुस्किल हुनेछ ।’

मानिसहरुको सबैभन्दा ठूलो चासो यो छ कि परमाणु उर्जा स्टेशनहरुबाट निकै खतरनाक विकिरण नचुहियोस् । फुकुसिमा दुर्घटनाकै कुरा गर्नेहो भने पनि त्यसबेला भूकम्प र सुनामीका कारण १८ हजार भन्दा धेरै मानिसको ज्यान गएको थियो र डेढ लाख मानिस घरवारविहीन भएका थिए । जबकी परमाणु भट्टी दुर्घटनाका कारण जम्मा एकजना मान्छेको मात्रै मृत्यु भएको हो ।

क्रिस्टीका अनुसार मानिसहरुको मनमा परमाणु उर्जाका विषयमा मानिसहरुमा डर यसकारण बढ्यो कि उनीहरुले भूकम्प, सुनामी र परमाणु उर्जा भट्टीको दुर्घटनालाई सँगै राखेर हेरे ।

उनका अनुसार जुन भूकम्पका कारण फुकुसिमा भट्टीमा विनाश भयो, त्यो भूकम्पले पृथ्वीको ध्रुवमा यतिठूलो असर पार्‍यो कि पहिले भन्दा दिन लामो भयो । वास्तवमा यो अकस्मात घटित एक विपत्ति थियो । जसका कारण परमाणु संयन्त्रमा क्षति पुग्यो र मानिसहरुलाई सुरक्षित बनाउनका लागि त्यहाँबाट तत्कालै अन्तै सार्नुपर्‍यो ।

उक्त दुर्घटनाको १० वर्षपछि गत मार्च महिनामा संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको रिपोर्टमा फुकुसिमाका बासिन्दाहरुलाई विकिरणले कुनैपनि प्रत्यक्ष क्षति नगरेको उल्लेख गरेको छ । त्यसैले परमाणु उर्जाका विषयमा रहेको त्रासलाई हटाउनु आवश्यक रहेको क्रिस्टी बताउँछिन् ।

क्रिस्टी गोगन भन्छिन्, ‘यथार्थ त यो हो कि यदि मैले पूरा जीवन नै फुकुशिमाको प्रतिबन्धित इलाकामा बिताउनु पर्‍यो भने पनि म लण्डनमा भन्दा लामो आयूसम्म त्यहाँ बाँच्छु होला । किनकी मलाई लण्डनमा वायु प्रदुषणबाट धेरै खतरा छ ।’

तर फुकुशिमा दुर्घटनाले मानिसहरुको मानसिकतामा असर त गरेकै हो । यस्तोमा परमाणु उर्जाको भविष्य के होला ?

यो प्रश्नको जवाफमा क्रिस्टी भन्छिन्, ‘कुरा परमाणु वा नविकरणीय उर्जाबीचको प्रतिस्पर्धाको होइन । हामीले सौर्य तथा वायुउर्जाको क्षमता लगातार बढाउनु पर्दछ र उर्जाको क्षति पनि रोक्नु पर्दछ । तर यसो गर्दापनि परिवहन, ढुवानी तथा उड्ययनका लागि हामी कोइला तथा तेलमै निर्भर हुनु पर्नेछ । त्यसैले यस्तो अवस्थामा परमाणु उर्जा, वायु तथा सौर्य उर्जालाई सँगै अगाडि बढाउँदा अहम भूमिका खेल्न सक्दछ ।’

पेरिस सम्झौतामा हस्ताक्षर गर्ने झण्डै २ सय मुलुकहरुले यो शताब्दीको मध्य सम्ममा हरितगृह ग्यासको उत्सर्जन लगभग अन्त्य गर्ने बाचा गरेका छन् । तर केवल सौर्य उर्जा र वायु उर्जा मात्रैको प्रयोगबाट यो कसरी सम्भव होला र ? भन्ने चिन्ता व्यक्त गर्ने गरिएको छ । यस प्रकारले हेर्दा छिटो भन्दा छिटो जलवायु परिवर्तनलाई रोक्नका लागि परमाणु उर्जा सर्वोत्तम विकल्प हो भन्ने लाग्दछ । तर के यो तर्क पूर्णरुपमा सही हो त ?

परमाणु उर्जा : महंगो विकल्प

जलवायु परिवर्तन रोक्नका लागि परमाणु उर्जा निकै सहयोगी सावित हुनसक्दछ । तर यो सँगै केही चिन्ताहरु पनि उब्जिन्छन्, जुन वायु तथा सौर्य उर्जामा हुँदैनन् । जस्तो परमाणु फोहोर । यसका साथै परमाणु उर्जासँग अरु पनि कैयन् जोखिमहरु जोडिएका छन् ।

वाशिङटन डिसीस्थित युनियन अफ कन्सन्र्ड साइन्टिस्ट नामक संगठनका निर्देशक एडविन लाइमनका अनुसार परमाणु संयन्त्रको डिजाइन तथा निर्माणमा भारी रकम खर्च हुन्छ र त्यसबाट उत्पादित उर्जा पनि निकै महंगो हुन्छ ।

उनी भन्छन् : अमेरिका तथा अन्य धेरै देशहरुमा आणविक उर्जा निकै महंगो छ, जिवांश इन्धनभन्दा मात्र होइन सौर्य तथा वायुउर्जा भन्दा पनि धेरै । अमेरिकामा धेरै आणविक उर्जा भट्टीहरु घाटामा सञ्चालित छन् र आफ्नो लाइसेन्सको म्याद गुज्रिनुभन्दा अगावै बन्द भैरहेका छन् ।

दुरुपयोगको आशंका

परमाणु संयन्त्रलाई आक्रमणबाट बँचाउनु पनि निकै ठूलो चुनौतिको विषय हो । एडविन लाइमका अनुसार परमाणु उर्जा भट्टी चलाउनुका लागि सुरक्षामै ठूलो रकम खर्च हुन्छ । अमेरिकाले आफ्नो देशका परमाणु उर्जा उद्योगको सुरक्षामा हुने ठूलो धनराशीको खर्च घटाउन चाहन्छ । तर यसो गर्नु खतरनाक हुनसक्दछ ।

त्यतिमात्र होइन जुन प्रविधिबाट परमाणु उर्जा तयार गरिन्छ त्यसबाटै परमाणु हतियार बनाउने मार्ग प्रसस्त हुन्छ ।

हाल १ सय ९० भन्दा धेरै मुलुकहरुले अन्तराष्ट्रिय परमाणु अप्रसार सन्धीमा हस्ताक्षर गरेका छन् तर सबैले यसको पालना गरिरहेका छैनन् ।

परमाणु फोहोरको चिन्ता

परमाणु उर्जाबाट राजनीति पनि अछुतो छैन । जर्मनीको गोर्लेबनमा परमाणु फोहोरको विषयलाई लिएर दुई दशकभन्दा अगाडि नै पदर्शन भएका थिए । तर आजसम्म पनि परमाणु फोहोरको समस्याको स्थायी समाधान हुन सकेको छैन ।

तर परमाणु उर्जा सुरक्षाका विशेषज्ञ एडविन लाइमन भन्छन् : परमाणु फोहोरको समस्यालाई प्रविधिजन्य भन्दा पनि धेरै राजनीतिक समस्या मान्ने गरिन्छ । निकै गहिरो खाडलमा परमाणु फोहोरलाई यस्तो प्रकारले सुरक्षित राख्नुपर्ने हुन्छ कि कम्तीमा पनि १ हजार वर्षसम्म त्यो भूमिगत जलको सम्पर्कमा नआओस् । प्राविधिक रुपले यसो गर्नु गाह्रो कुरा होइन । तर कुनैपनि ठाउँका मानिसहरु आफ्नो नजिकै आणविक फोहोरहरु थुपारियोस् भन्न चाहँदैनन् । अहिलेसम्म यो समस्याको समाधान खोजिएको छैन ।

परमाणुजन्य फोहोरलाई पुनचक्रण गर्न त सकिन्छ तर यो निकै जटिल प्रक्रिया हुन्छ । पुनचक्रण गरिसकेपछिको फोहोर कम खतरनाक हुन्छ । फ्रान्समा ५९ वटा परमाणु संयन्त्रहरुले कैयन् दशकदेखि यसै गरिरहेका छन् ।

परमाणु इन्धनको क्षमताको पाँच प्रतिशत मात्र प्रयोग हुन्छ र उसको ९५ प्रतिशत क्षमता बच्दछ । त्यसैले परमाणु फोहोरलाई जम्मा गर्नुको साटो कैयन् देशहरुले यसको पुनचक्रण गरिरहेका छन् ।

नयाँ प्रविधिले बढाउला विश्वास ?

मानिसहरुलाई सबैभन्दा धेरै पिरोल्ने विषय भनेकै आखिर रिएक्टर आफैमा कति सुरक्षित हुन्छ ? भन्ने हो ।

चेर्नोबिलमा खराब डिजाइन तथा मानवीय त्रुटीका कारण दुर्घटना भएको थियो । त्यस्तै फुकुसिमा जे भयो, त्यो प्राकृतिक विपत्ति थियो । तर के लगातार उत्कृष्ट बनिरहेको प्रविधिले परमाणु उर्जा केन्द्रको लागत घटाउन तथा त्यसलाई सुरक्षित बनाउनमा सहयोगी बन्ला ?

विज्ञका अनुसार कार्वन उत्सर्जन घटाउने ८० प्रतिशत लक्ष्य सौर्य तथा वायु जस्ता नविकरणीय उर्जाबाटै पूरा गर्न सकिन्छ । तर बाँकी २० प्रतिशत लक्ष्य हासिल गर्नका लागि परमाणु उर्जाका विषयमा सोच्नु पर्दछ ।

नयाँ रिएक्टर बनाएर त्यसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयो गरी लागत घटाउन सकिन्छ । नयाँ प्रविधिबाट तयार हुने रिएक्टरहरु सानो आकारका हुने र जहाँपनि सजिलैसँग स्थापित गर्न सकिन्छ । साथै आवश्यकताको आधारमा संख्या घटबढ गराउन पनि सकिन्छ ।

विकिरण खतरा कति ?

परमाणु रिएक्टरहरु खासगरी त्यहाँ कार्यरत मानिसहरुका लागि कत्तिको सुरक्षित छन् त ? विज्ञ भन्छन् – अमेरिकामा मात्र होइन संसारभर नै परमाणु उर्जा उद्योगमा पूर्ण नियमको साथमा काम गरिन्छ । सुरुदेखि अन्तिम सम्म, इन्धन ल्याउनेदेखि फोहोर व्यवस्थापन गर्नेसम्मका काम निकै सावधानीपूर्वक गरिन्छ । यस्ता डिजाइन पनि तयार गरिएको छ जसका कारण परमाणु संयन्त्र पहिले भन्दा धेरै सुरक्षित भएका छन् ।

तर एक समस्या यो पनि छ कि पृथ्वीमा उष्णीकरण हुनबाट बचाउनका लागि कोइला तथा पेट्रोलियम जस्ता जिवाष्म इन्धनको प्रयोग तत्कालै रोक्नु आवश्यक छ । तर परमाणु उर्जा भट्टी तयार गर्न लामो समय लाग्दछ ।

सन् १९६० तथा ७० को दशकमा परमाणु उर्जालाई लिएर निकै उत्साह देखिएको थियो । तर चेर्नोबिल तथा फुकुसिमाको घटनाका कारण यसमा कमी आयो । फेरि पनि संसारमा कैयन् ठाउँमा नयाँ परमाणु उर्जा भट्टीहरु बनिरहेका छन् । प्रदूषणजन्य इन्धनसँग दूरी कायम गर्दै विश्वले नवीकरणीय उर्जासँगै आणविक उर्जालाई समेत अबलम्बन गर्दै आएको छ ।

त्यसैले के धेरै परमाणु उर्जा केन्द्र बनाउँदा हामीलाई जलवायु परिवर्तन रोक्नमा सहयोग पुग्दछ त ?

यदि पर्यावरणलाई स्वच्छ राख्नु छ तथा कार्वन उत्सर्जन घटाउने लक्ष्य समयमै पूरा गर्नु छ भने वाध्यतामै सही, यस प्रश्नको जवाफ हुन्छ : हो, सहयोग पुग्दछ ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment