+
+
Shares

नेतृत्वले काँचुली फेर्ने अन्तिम मौका

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७८ जेठ ३१ गते १२:०१

अहिले हाम्रो राजनीतिको गति र मति गाउँ-शहरका उचका केटाहरूको जस्तै भएको छ । अहिले यसले सबै तहमा आफ्नो रङ देखाएको छ । ३० वर्षे लाठे संसद र १५ वर्षे जुँगाका रेखी बसेको गणतन्त्र परीक्षाको कठिन कठघरामा छ । ओलीले भर्खर नटबोल्ट कस्दै गरेको गणतन्त्रको झोलुंगे पुलमा बसेर ताण्डव नृत्य देखाएका छन् । यसैमा सवार तिनैका साइबर सेनाले उफ्री- उफ्री ताली बजाउँदा यो गणतन्त्रको पुल नै खस्छ कि भन्ने समेत चिन्ता बढेको छ ।

सँगै धेरै नेता मेरा स्कूले उचका केटा जस्तै धेरै पटक फेल भएका छन् । तर किन यिनले सधैं परीक्षा दिन पाउँछन् ? उत्तर सीधा छ यिनले परीक्षा त दिएका छन् तर आजसम्म उत्तीर्ण भएकै छैनन् । आम नेपालीले यिनलाई परीक्षा दिएकै भरमा पत्याउन बाध्य छन् ।

अनेकौं तिकडम गरेर चार/चार पटक प्रधानमन्त्री हुने ओली र शेरबहादुर देउवा हाम्रा नियति भएर अहिले पनि यसैको दौडमा लँगौटी फालेर लागेका छन् । हामी राजनीतिका कोठे अम्मली, निरीह रैती र रमिते भएर यो सबै हेरेर बसेका छौं । यो सबै देखेर आम मानिस आश्चर्यचकित छन् ।

शक्ति र सत्ताका लागि आ-आफ्ना दाउपेचमा लागिरहेका अहिलेको राजनीतिक नेतृत्व तीन दशकदेखि आलोपालो गर्दै सरकारमा छ । यस अवधिमा यो नेतृत्वले शाह राजालाई हटाएर आफैं राजा हुने बाहेक कुन त्यस्तो उपलब्धिमूलक काम गरे अब समीक्षा गर्न ढिला हुँदैछ ।

किनकि नयाँ बनेको संविधान भरतपुरमा मतपत्र च्याते जसरी धेरै पटक च्यातिसके । गणतन्त्र र संघीयता त यिनै उचकाको धेरैपटक हिंसाको शिकार भइसक्यो । यो सबै बाटो बिराएर बरालिएको नेता र नेतृत्व माथि धेरै भर परेर भएको हो भन्दा अतिशयोक्ति हुँदैन।

यसरी हाम्रो राजनीतिले बिराएको बाटो पछ्याउन सात दशक अघिदेखिको इतिहासतर्फ अलिकति र्फकेर हेरे मात्र पुग्छ । विगतमा भएका हरेक राजनीतिक स्वतन्त्रता आन्दोलनपछि सामाजिक तथा आर्थिक उन्नतिको बाटो समाउने आम नेपालीको अपेक्षा थियो र त्यसैले सधैं परिवर्तनका पक्षमा साथ दिए।

तर, राजनीतिको केन्द्रमा रहेका नेताहरूले त्यस्तो बाटो समाउनुको साटो राजनीतिक आन्दोलनका उपलब्धिलाई अत्यन्त साँघुरो व्यक्तिगत स्वार्थका वरिपरि मात्र केन्द्रित गरे । परिवर्तनलाई संस्थागत हुन नदिने संयन्त्र र पात्रलाई फेरबदल गर्नुको साटो तिनैका सहायतामा जम्मा गरेका गुण्डा र कालोधनको सहारामा सत्तारोहण गरिहाल्ने सपना देखे, गरे र अहिले पनि त्यो क्रम जारी छ ।

यी सबैको लामो राजनीतिक संघर्षमा ठूलो त्याग र बलिदान भएर पनि यिनमा रहेको कुण्ठा र अहंका कारण अरूका कुरा सुन्न र सिक्न चाहेनन् । यिनले कार्यकारी हुनुको जिम्मेवारीको मर्म धेरै पछिसम्म पनि पाएनन् । कतिले त यो अहिलेसम्म पनि थाहै पाएका छैनन् । क्रान्ति र आन्दोलनको सबै राता किताब पढेका यिनले राजकाज, कार्यकारी ज्ञान र सीप कहिल्यै सिक्न चाहेनन् ।

यसै कारण यिनले शुरूमा स्थायी सरकार र अन्य राजकाजका संयन्त्र र कुलीन नेतृत्वका तिकडम र जालझेल नै थाहा पाएनन् । पछि यिनैको हिमचिममै बरालिने मात्र हैन यस्तै व्यवहार गर्न सिके । उदाहरणका लागि ‘माथिको आदेश’ र आफ्ना मान्छेको कार्यभारका शर्त थपेर राणाकालमा झनै भुत्ते बनाइएको कर्मचारीतन्त्र पुनर्गठित गर्नुपर्नेमा यिनैमाथि भर परे । यही भुत्ते हतियार बोकेर समृद्धिको सपना बाँड्दै नेपालीको उन्नत हुने बखान गरिरहे र अहिले पनि यो क्रम जारी छ ।

यो कुरा विचार गर्दा नेपाल र नेपालीको समृद्धिको पहिलो तगारो भनेको धृतराष्ट्र जस्तो दृष्टिविहीन राजनीतिक नेता र नेतृत्व हो भने दोस्रो अठारांै शताब्दीको औद्योगिक युगमा कारखाना चलाउने संयन्त्रका रूपमा ऐंजेरु जस्तै सबैतिर झांगिएको कर्मचारीतन्त्र हो भन्न कुनै धक मान्नुपर्दैन । यो पौरखी पुरुषले मात्र चलाउने परिवारदेखि पार्टीसम्म समाजका सबै तहमा हावी छ ।

यस अर्थमा समाजवादी क्रान्तिका कुरा गरेर नथाक्ने र शासन सत्ताको यति लामो अनुभव भएका यी नेताहरूलाई मुलुकको समृद्धिको यात्रा यो तरिकाले तय हुँदैन भन्ने धेरै पहिले राम्रोसँग थाहा थियो । तर उनीहरू मौकामा चौका हान्नेमै केन्द्रित थिए । यो कुरा सत्तानिवृत्त जोसुकैका आत्मकथा पढे वा एक्लै बसेर अन्तरंग कुरा गरे सजिलै थाहा हुन्छ ।

यसको हेक्का राखे, हाम्रो समाजको नेतृत्व यति धेरै ढोंगी, भ्रष्ट, दलाल र अराजक किन छ भन्ने कुराको चुरो पनि थाहा हुन्छ । हामीलाई उन्नत भएर बाँच्न के कुराले छेकेको होला भन्ने कुरा सबैभन्दा राम्ररी ३० वर्षमा फेरिएका ३० जना प्रधानमन्त्री भन्दा अरू कसलाई थाहा होला र ? तर कसले आँखा जुधाएर सोध्ने यिनीसँग यो प्रश्न ?

परिणामतः यी सबै कारणले नै आम नेपालीको उन्नत हुने सपनामा तुषारापात हुँदै आएको छ । गणतन्त्रको बयलगाडा चढेर आएको अहिलेको समृद्धि सरकारले पनि पहिलो दिनदेखि गरेको यही त हो । सत्ताको यो अद्भुत चरित्रको रूपमा कुनै फेरबदल आएकै छैन । बरु अहिले सेटिङ र साइवर सेना जस्ता कपटका नयाँ केही थप प्रयोग भएका छन् ।

यी सबैले अहिलेका नेता र नेतृत्व ३० वर्षसम्म पालैपालो अक्षम र नालायक साबित हुँदै आएका छन् । लोकतन्त्रको दुहाई दिने राजनीतिक पार्टीहरूभित्रको अस्वस्थ प्रतिस्पर्धा र पैसाको चलखेल मात्र पनि उनीहरूको हैसियत देखाउन पर्याप्त छ । मूलप्रवाहका राजनीतिक पार्टी र तिनका शीर्ष नेतालाई आफू सुनिने र आफ्ना आसेपासेलाई सुधार्ने या इतिहासमा अक्षम र नालायक साबित भएर बिदा हुने हो रोज्ने अन्तिम मौका दिएको छ ।

सँगै यिनका दोस्रो र तेस्रो पुस्तालाई पार्टीका निष्ठा र तिनै शीर्षको विरासत थामेर उनैसँग सती जाने या यो समाजलाई दिने आफ्नो योगदान सहित राजनीतिको यो नासो नयाँ पुस्तालाई बुझाउने हो भने चाँडै नै कित्ताकाट गर्ने बेला भएको छ ।

यो कुरा मनन गर्न सकेनन् भने शीर्ष भनिने नेता त कलंककै सही इतिहासमा नाम त राख्ने छन् । जसबाट आगामी पुस्ताले केही पाठ सिक्ने छन् । तर अब पनि परम्परागत राजनीतिबाट माथि उठेर फेरिएको सन्दर्भमा विचार र संगठनलाई पूरक बनाउँदै आन्दोलन हाँक्न नसक्ने हो भने अहिलेको मूल प्रवाहको दोस्रो र तेस्रो पुस्ताले त यो अवसर पनि गुमाउने छन् ।

यो पुस्ता नेपालको कर्मचारीतन्त्र जस्तै भुत्ते सावित हुनेछ र त्यससँगै इतिहासको रछ्यानमा पुरिनेछ । किनकि यिनको यो समाजमा चर्चा गर्न लायक कुनै योगदान रहने छैन । उनीहरू इतिहासका पानामा उपहासका पात्रका रूपमा चित्रित हुनेछन् । यो अग्निपरीक्षामा सफल वा असफल के हुने हो, आफैं रोज्ने अन्तिम मौका छ।

नेतृत्वको अक्षमता, सरकारको निकम्मापन, संस्थागत तथा नीतिगत भ्रष्टाचार, आन्तरिक लोकतन्त्रको अभाव जस्ता अधोगतिका मापदण्डका सूचक फेर्ने कुरालाई राजनीतिक नेतृत्वले चुनौतीको रूपमा स्वीकार गर्नुपर्छ । अन्यथा तिनका समृद्धि सपना र यसमा बहस बिकाउ सिनेमाका संवाद जस्तै हुन्

समृद्धिको आधार, बाटो र गन्तव्यको ठम्याइ नभएसम्म हामी केही परसम्म पनि पुग्दैनौं । तर अहिलेसम्म पनि यसको खाका कस्तो हुने भन्नेमा सार्थक विचार विमर्श र बहस भएको छैन । जस्तो कि साँचो अर्थमा हाम्रो समृद्धिको सपना साकार बनाउने कुराको छेकबार के हो ? हामीले दलाल र माफियाबाट कहिले र कसरी मुक्ति पाउँछौं ? यसमा बहस भएकै छैन ।

त्यसैगरी दुई ठूला देशको बीचमा रहेको हाम्रो देशको तुलनात्मक लाभका क्षेत्रहरू के-के हुन् ? मुख्यतः भूराजनीतिक यथार्थको कसीमा छिमेकी खासगरी भारतसँंगको हाम्रो सम्बन्ध के हो ? आम नेपालीको आम्दानी र रोजगारी सुनिश्चित गर्ने मुख्य उत्पादनको क्षेत्र के हो भन्ने जस्ता आधारभूत प्रश्नको उपयुक्त उत्तर नहुनेसँग अब हाम्रो उन्नतिको नेतृत्वको अपेक्षा गर्न सकिंदैन ।
विडम्बना, हाम्रो यथार्थ धरातल अझै अन्तै छ । आज पनि गोविन्द केसी अनशनको तयारीमै छन् । दुर्गा प्रसाई सम्बन्धनका लागि बालुवाटारमै छन् । पन्त, विक, खातुन, अधिकारी र अन्य हजारौंका विभेद र उत्पीडनका चीत्कार सँगै नागरिक आन्दोलन सडकमा छ भने पार्टीहरू कोठे बैठकमै रमाएका छन् ।

श्रमिक वर्ग दैनिकीको जोहो गर्न र किसान दिदीबहिनी र दाजुभाइ हामी सबैको अर्को वर्षको भान्सा चलाउन खेतबारीमै छन् । यी सबैका सुस्केराबीच फेरि पनि आशाको त्यान्द्रोेे राजनीतिक नेतृत्व फेरिएला र हाम्रो उन्नति होला कि भन्नेमै छ । लौ यसरी भएन, अब फेरिनै पर्छ सबैले भन्ने गरेका छन् तर फेरिने छाँट अझै कतै देखिएको छैन ।

यी सबै कुराको लेखाजोखा विना हामीले भन्ने गरेको सामाजिक, आर्थिक रूपान्तरण, समृद्धिको सपना र यसलाई उन्नत बनाउने सुशासनको बहस निरर्थक हुन्छ । कम्तीमा नेतृत्वको अक्षमता, सरकारको निकम्मापन, संस्थागत तथा नीतिगत भ्रष्टाचार, आन्तरिक लोकतन्त्रको अभाव र सामूहिक अक्षमता अनि असफलता जस्ता अधोगतिका मापदण्डका सूचक फेर्ने कुरा राजनीतिक नेतृत्वका चुनौतीको रूपमा स्वीकार नगरेसम्म यस्ता सपना र यिनका बहस बिकाउ सिनेमाका संवाद जस्तै हुन् ।

फेरिएको समय र सन्दर्भमा यस्ता बहस र अभ्यासलाईर् सार्थक बनाउँदै विचार, संगठन र आन्दोलनलाई पुनर्जीवित गर्ने बेला भएको छ । किनकि हाम्रा सन्दर्भ धेरै फेरिएका छन् तर हाम्रा सुस्त चालले यसको छेकछन्द पाएको छैन ।

पहिलो, हामी अहिले धेरै हिसाबले नयाँ घुम्तीमा आइपुगेका छौं । औद्योगिक समाजमा वर्गीय राजनीति तथा सामाजिक चेतनाको जबरजस्त बहस उठाउने मार्क्सवाद २०० वर्षपछि पुनरावलोकनको कठघरामा उभिंदैछ । १०० वर्षको सर्वहाराको समाजवादले आफ्नो ढोंगको मूल्य चुकाउँदैछ । १०० वर्षपछि भौतिक विज्ञानको नयाँ सूत्र फेला परेको छ । यस शताब्दीका विज्ञान र प्रविधिका चमत्कार भनिएको कम्प्युटर, इन्टरनेट र कृत्रिम बौद्धिकी हाम्रो दैनिकी भइसकेको छ ।

दोस्रो, जलवायुमा भइरहेको परिवर्तनले खनिज स्रोतको अति दोहनबाट सम्भव भएको आधुनिक विकासले निम्त्याएको विनाश र अहिले मानिसमा प्रवेश गरेको कोरोना अहिले नै चुनौतीको रूपमा हाम्रासामु उभिएको छ । यसरी भइरहेको प्रवृत्ति, प्रविधि र प्रकृतिको फेरबदललाईर् आत्मसात् नगरी अबको यात्रा कष्टकर छ ।

तेस्रो, अबको समाज लोकतान्त्रिक सिद्धान्तको चेतना र अभ्यास विना अगाडि बढ्नै सक्दैन । नेता तथा पार्टीहरूले यस बारेमा लामै भाषण वा घोषणा गरे पनि उनीहरू यसप्रति इमानदार छैनन् । यसलाई नफेरी समाज गतिशील र हाम्रा सबै तहका सम्बन्धहरू सम्मानजनक हुँदैनन् । अहिले नै स्पष्ट भए हुन्छ, जुन दिनसम्म हामी कम्तीमा छिमेकी जत्तिकै सबल, सक्षम र समृद्ध हुँदैनौं, हामी हेपिनुको विकल्प छैन । समृद्ध भयौं भने हाम्रा सम्बन्धहरू नयाँ ढंगले परिभाषित र उन्नत हुँदै जान्छन् ।

यी सबै गर्न एकताबद्ध भएर संकल्प र सहकार्य गर्नुको विकल्प छैन । आशा गरौं, परिवर्तनको जबर्जस्त चाहनासँगै यो पनि उन्नत हुँदै जाला ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?