+
+
Shares

बहुगुणी कोदोको महिमा 

बबि बस्नेत बबि बस्नेत
२०७८ असार ३ गते १८:०८

कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रुपमा लिइन्छ । यसलाई गरिबको खाना पनि भनिन्छ । यसको खेती कम मलिलो तथा सुख्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।

कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ । खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो । भाते बानीको संस्कृतिमा हुर्केको हाम्रो गाउँ समाजमा कोदोलाई नेपालीको भान्छामा पनि कम महत्व दिने गरेको पाइन्छ ।

तर पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । यो मधुमेहका बिरामीका लागि उपयुक्त अन्नबाली हो ।

कोदोको महत्व

पोषणतत्वको कुरा गर्ने हो भने यसमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।

मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । केटाकेटी, बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिंडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यवद्र्धक पनि छ ।

धार्मिक हिसाबले हेर्ने हो भने नेवार, गुरुङ, तामाङलगायतका जनजातिको पूजाआजा चाडपर्वमा यसको प्रयोग अनिवार्य छ । स्थानीय रूपमा तयार गरिएका शुद्ध जाँड तथा रक्सी धेरै नेपाली तथा विदेशीले मीठो मानेर पिउने गर्छन् ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खोजीखोजी खान थालेका छन् ।

बजारमा पाइने मदिराभन्दा सस्तो र स्वादिलो हुने भएकाले पनि मदिरापान गर्नेहरूमध्ये धेरैले यसलाई रुचाउँछन् ।

आजभोलि त काठमाडौंका तारे होटलदेखि राजमार्गका रेष्टुराँ तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा दरिलो स्वागतको रुपमा कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ । यसबाट बियर पनि तयार हुन्छ । कोदोको नल पशुको लागि राम्रो घाँस पनि हो । यो हरियो तथा सुकाएर दुवै अवस्थामा प्रयोग गर्न सकिन्छ ।

कोदो तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा पाइन्छ । पहिले नहुनेले कोदो खाने गरे पनि आजकल हुनेले खोजीखोजी खान थालेका छन् । नेपाली समाजमा कोदोको उपयोगलाई कुनै बेला गरिबीको प्रतीकसमेत मान्ने गरिएको थियो ।

यसलाई ‘कु’अन्न मान्ने परम्पराले गर्दा यसको गुण अपहेलित हुँदै आएको छ । नेपालीको खाने चलनमा मुख्य भात नै भएको र यसैमा अत्याधिक निर्भर रहने भएकाले नसर्ने रोगको वृद्धिमा समेत यसले सघाइरहेको छ ।

अफ्रिकातिर कोदोलाई सातुजस्तै फिटेर खाने चलन छ । बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासका लागि थप टेवा पुग्ने गर्छ । खासगरी गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुईटा कोदोको रोटी खाए पुग्छ । स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ ।

भारतमा कोदोको पापड, भुजिया, स्पागेटी, नुडल्स आदि बनाउन थालिएको छ । कोदोमा अरू पिठो मिसाएर बिस्कुट, पाउरोटी, केक, शिशुका लागि खाद्यपदार्थजस्ता विभिन्न परिकार बनाउन थालिएको छ ।

यसमा प्रशस्त मात्रामा आइरन, नियासिन, ट्यानिन, क्याल्सियमलगायत फाइटोकेमिकल्स पाइन्छन् । यो एन्टिअक्सिडेन्टले समेत परिपूर्ण हुन्छ ।

मानिसलाई ज्ञात भएसम्म सबैभन्दा पुरानो खाद्य पदार्थमध्ये कोदो खाद्य र पोषण सुरक्षाको दृष्टिले महत्वपूर्ण भए पनि सरकार र राज्यले खासै महत्त्व दिएको छैन ।

इन्डियन इन्स्टिच्युट अफ मिलेट रिसर्च (आईआईएमआर), हैदरावाद, भारतको तथ्यपत्रअनुसार कोदोबाट धेरै लाभ लिन सकिन्छ ।

महामारीसम्बन्धी अध्ययनहरूले के देखाएका छन् भने कोदोको उपयोगले मुटु रोगको जोखिम कम हुन्छ, मधुमेहबाट जोगाउँछ, पाचन प्रणालीमा सुधार ल्याउँछ, क्यान्सरको जोखिम कम गर्छ, शरीरको शुद्घीकरण गर्छ र विषाक्तता हटाउँछ ।

श्वासप्रश्वासको स्वास्थ्यसम्बन्धी प्रतिरोधक क्षमता बढाउँछ, ऊर्जास्तरमा वृद्घिसँगै मांसपेशी र नशासम्बन्धी प्रणालीमा सुधार ल्याउँछ ।

म्याग्नेसियम अत्याधिक हुने भएकाले यसले विशेष रूपले रक्तचाप कम गर्न, एथेरोस्केलेरोसिसमा मुटुको स्ट्रोकको जोखिमलाई न्यून गर्न सघाउँछ । यसले केही प्रकारका क्यान्सर र मुटु रोगबाट समेत जोगाउँछ ।

कोदोमा उच्च मात्रामा पाइने रेसाले कोलेस्ट्रोल कम गर्नसमेत सघाउँछ । यसले एलडीएल कोलेस्ट्रोललाई कम गर्नुका साथै एचडीएल कोलेस्ट्रोलको प्रभावलाई बढाउँछ ।

यसमा भएका फाइबर, म्याग्नेसियम, भिटामिन–ई, फेनोलिक यौगिक र ट्यानिनले मधुमेहको खतरालाई कम गर्छ । जसले रगतमा ब्लड ग्लुकोज र इन्सुलिनको स्तरको एक्कासी वृद्घिलाई मन्द पार्छ ।

पाचनसम्बन्धी विकारमा समेत कोदो उपयोगी मानिएको छ । यसले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत तथा अत्यधिक ग्यासलाई दूर गर्छ ।

यो रेसाले गहुँ र मकैको आटा सेवन गर्नेहरूको दाँजोमा इसोफेजियल क्यान्सर हुने सम्भावनामा समेत कमी ल्याउँछ । कोदोको नियमित उपयोगले क्यान्सरको जोखिमलाई समेत कम गर्न सक्छ ।

हालै गरिएको अध्ययनले कोदोमा हुने रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ । दिनहुँ ३० ग्राम रेसा उपयोग गरेर स्तन क्यान्सरको सम्भावना ५० प्रतिशतसम्म कम गर्न सकिन्छ । कोदोमा भएका उपयोगी तत्त्वहरूले विभिन्न क्यान्सरको जोखिममा कमी ल्याउँछ ।

कोदो खाँदाका फाइदा :

०     मुटु रोग लाग्न दिंदैन

०     हाड बलियो बनाउँछ

०     बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ

०     नराम्रो कोलेस्ट्रोल घटाउँछ

०     शरीरको विषाक्तता बाहिर निकाल्छ

०     पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ

०     रगतको कमी हुन दिंदैन

०     कब्जियत हुन पाउँदैन

०     मधुमेहबाट जोगाउँछ

०     स्तन क्यान्सर हुन दिंदैन

०     शारीरिक तौल नियन्त्रणमा राख्छ

०     रक्तचाप घटाउन प्रभावकारी हुन्छ

०     मृगौला र कलेजोको रोग लाग्न दिंदैन

०     रोगप्रतिरोधी क्षमता बढाउँछ

०     ऊर्जाको राम्रो स्रोत हो

०     पित्तथैलीमा पत्थरी हुन दिंदैन

०     मीठो निद्रामा सघाउँछ

०     छाला चम्किलो बनाइराख्छ

०     घाउ छिटो भरिन सघाउँछ

०     आमाको दूध बढाउँछ

०     कुपोषण हुन दिँदैन

 

नेपालमा कोदो खेतीको वर्तमान अवस्था

नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ५१६ वर्ग किलोमिटरमध्ये हिमाली क्षेत्र ५१ हजार १८७ वर्ग किमी (३५ प्रतिशत), पहाडी क्षेत्र ६१ हजार ३४५ वर्ग किमी (४२ प्रतिशत) र तराई क्षेत्र ३४ हजार १९ वर्ग किमी (२३ प्रतिशत) छ । भू–उपयोगको दृष्टिकोणले जम्मा खेती गरिएको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर (२१ प्रतिशत) र खेती नगरिएको खेतीयोग्य जमिन १० लाख ३० हजार (७ प्रतिशत) हेक्टर रहेको छ ।

२०६८ सालमा गरिएको जनगणनाको तथ्यांक अनुसार नेपालको कुल जनसंख्यामध्ये कृषि पेशामा संलग्न जनसंख्या ६५.६ प्रतिशत छ । माथिको तथ्यांकलाई हेर्ने हो भने कृषिमा दुईतिहाई जनसंख्या आश्रित छ ।

तर खाद्यान्नमा नेपाल परनिर्भर नै छ । आर्थिक वर्ष २०७६/७७ अनुसार कोदो खेती गरिएको क्षेत्रफल २ लाख ६२ हजार ५ सय ४७ हेक्टर छ भने कोदो उत्पादन ३ लाख २० हजार ९५३ मेट्रिक टन भएको छ । जसको उत्पादकत्व १.२२ रहेको छ ।

कोदो खेती गर्दा धेरैजसो स्थानीय जातहरुको प्रयोग हुने भएकाले उन्नत जातको तुलनामा उत्पादकत्व कम छ । नेपालको कुल जनसंख्यामध्ये झण्डै आधा जनसंख्या पहाड तथा उच्च पहाडमा बस्छन् । तिनीहरूको मुख्य खाना पनि कोदो हो । कोदो प्रायः परम्परागत शैलीमा खेती गरिने, उन्नत जात र उन्नत प्रविधिको प्रचारप्रसार कम हुँदा सोचेजस्तो उत्पादन गर्न नसकिरहेको अवस्था छ ।

नेपालका कोदोको सम्भावना

कोदो सुख्खा सहन सक्ने बाली हो । नेपालमा वर्षाको पानीको भरमा यसको खेती गरिन्छ । यसको खेती समुन्द्रबाट ५ सयदेखि २४ सय मिटर उचाइसम्म गर्न सकिन्छ । नेपालमा पहाडी क्षेत्र, फाँट तथा टारहरु धेरै छन् । यी क्षेत्र कोदो खेतीका लागि उपयुक्त क्षेत्र हुन् ।

बालबालिकाका लागि बनाइने लिटोमा कोदोको उपयोग गर्दा उनीहरूको विकासमा टेवा पुग्छ । गर्भवतीले क्याल्सियमको चक्की खानुको सट्टा दुईटा कोदोको रोटी खाए पुग्छ । कोदोमा हुने रेसाले महिलामा स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।

यी टारहरूमा राम्रोसँग कोदो खेती गर्न सकेमा प्रशस्त मात्रामा उत्पादन वृद्धि गर्न सकिन्छ । कोदोका विकसित जातहरू जस्तै ओख्ले कोदो १, डल्ले कोदो १, काब्रे कोदो १, काब्रे कोदो २ लगाएर बढी उत्पादन लिन सकिन्छ ।

धान, मकैजस्ता बालीहरू सिँचाई नभएको क्षेत्रमा राम्रोसँग उत्पादन हुन नसक्ने भएकाले त्यस्ता क्षेत्रमा कोदो खेती सजिलैसँग गर्न सकिन्छ । कम लागतमा उत्पादन हुन सक्ने र खाद्य सुरक्षाको दृष्टिकोणले विपन्न कृषकको लागि यो उपयुक्त महत्वपूर्ण बाली हो ।

नेपालमा जनसंख्याका हिसाबले पहाडी तथा उच्च पहाडी क्षेत्रमा ब्राम्हण, क्षेत्री, मगर, तामाङ, राई, लिम्बु, गुरुङ, लामा, शेर्पालगायत जातिहरूको बाहुल्यता रहेको पाइन्छ । यहाँका मध्य तथा उत्तरी क्षेत्रका मानिसको मुख्य खाना कोदो नै हो ।

यसले धेरै मानिसका भोक मेटाउने काम गरिरहेको छ । उच्च पहाडी क्षेत्रहरूमा वर्षेनी ठूलो धनराशी खर्च गरी चामल ढुवानी भइरहेको छ । सर्वसुलभ रुपमा सबैलाई प्राप्त हुन कठिन भइरहेको छ । यो दिगो उपाय पनि होइन ।

राज्यको दायित्व जनतालाई स्थानीय तहमा खाद्यान्न उत्पादन वृद्धि गरेर आपूर्ति गर्ने वा बाहिरबाट खाद्यान्न ढुवानी गरी आपूर्ति गर्ने हुन्छ । त्यसैले दिगो उपायका लागि पहाडी क्षेत्रमा स्थानीय तहमा उत्पादन हुन सक्ने कोदो, मकै, जौ, फापर आदिको उपयुक्त अनुसन्धान र विकास नै गर्नुपर्छ ।

तीमध्ये कोदो पनि एक महत्वपूर्ण बाली हो, जसले यो समस्याको हल गर्न सक्छ । सानैदेखि भात मात्रै खाने परम्पराले आजभोलि कोदोका परिकारहरू नरुचाउनु र रुढिवादी संस्कारको कारण कोदोलाई हेला गर्ने प्रचलन बढेको छ । जुन एकदमै गलत हो ।

यसमा रहेका खाद्यतत्व र फाइदाजनक पक्षको बारेमा जनचेतना अभिवृद्धि, प्रचारप्रसार गर्ने र खानेबानी लगाएर नयाँ पुस्तालाई कोदोको परिकारतर्फ आकर्षित गर्न सकिन्छ । यसो भए स्थानीय बालीको सदुपयोग र खाद्य सुरक्षा कायम हुन्छ ।

त्यस्तै राजमार्ग वरिपरि रहेका विभिन्न होटल तथा रिसोर्टहरूमा स्थानीय खानाको रुपमा कोदोको ढिंडो, रोटी, अर्गानिक तरकारी, लोकल कुखुराको मासु तथा कोदोको लोकल रक्सीले बसमा यात्रु तथा पर्यटकलाई स्वागत गर्न सकेमा उपभोक्ताहरू सन्तुष्ट हुने, पर्यटन व्यापार फस्टाउने, कृषकको आम्दानी वृद्धि हुने तथा रोजगारीको अवसर पनि बढ्नेछ ।

सरकारको तर्फबाट पनि यसको उत्पादन वृद्धिका लागि कोदो प्रवर्धन कार्यक्रम ल्याउन जरुरी छ । त्यस्तै क्षेत्रका हिसाबले पकेट, ब्लक, जोन र सुपरजोन सञ्चालन समिति बनाएर कृषकलाई सहुलियत दरमा बिउ मल कृषि सामग्री वितरण गर्न सके झनै राम्रो उत्पादन हुन्छ र कृषकको आयस्तर बढाउन समेत सहयोग पुर्‍याउँछ ।

त्यसैले कोदो बालीको उत्पादन तथा प्रवर्द्धनमा काम गर्ने सबै सघंसंस्था तथा सरोकारवालाबीच समन्वय र सहकार्य गरी अगाडि बढ्नु आजको आवश्यकता हो ।

(लेखक कृषि ज्ञान केन्द्र, सोलुखुम्बुमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?