Comments Add Comment

मनाङमा बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

मुख्यमन्त्री पनि मनाङमै रोकिए

३ असार, पोखरा । अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए ।

‘अस्तिदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ प्रजिअ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उहाँहरुको रेस्क्यू गर्ने योजना छ ।’

प्रजिअ लामिछानेले फू जस्तै मनाङका ओडार, ताल्चै गाउँमा फसेकाहरुको उद्धार गर्न बाँकी रहेको बताए । ‘ओडारमा अलपत्र परेकाहरु जंगलमा बसेका छन् । उनीहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं । तर, मौसम खराबीले गएको हेलिकप्टर पनि फर्किनुपर्‍यो’ उनले भने ।

उनले बिहीबार ३५ जनाको मात्रै उद्धार गर्न सकिएको जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमध्ये २४ जना सिरान तालका मात्रै छन् ।

चार दिनदेखि लगातार परिरहेको पानीका कारण मनाङमा १ हजार बढी विस्थापित भएका छन् । विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।

मुख्यमन्त्री पनि मनाङमै रोकिए

मनाङका बाढी पीडितको उद्धार तथा स्थलगत निरीक्षणका लागि बिहीबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहितको टोली मनाङ गएको थियो । तर, दिनभर मौसम खुल्न नसक्दा उनीहरु उतै रोकिएका छन् ।

मुख्यमन्त्रीको टोली गएको हेलिकप्टर उद्धारका लागि मनाङमै रोकिएपछि पोखराबाट अर्को हेलिकप्टर मगाएर फर्किने योजना थियो । तर, मौसममा आएको खराबीले पोखराबाट गएको हेलिकप्टर ल्यान्ड गर्न नसकी पोखरा नै फर्किएको थियो ।

मुख्यमन्त्री नेपालीको टोली बिहीबार उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टरमा मनाङ पुगेको थियो । टोलीमा प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ र सांसद चिन्तबहादुर घलेसहित छन् । हेलीमा मुख्यमन्त्रीको टोलीसँगै उद्धार गरिएको २६ जनाको टोलीमा पोखरा फर्किँदै थियो ।

‘स्थानीय १२ जना बाढी पीडितलाई उद्धार गरेर पोखरा ल्याइँदै थियो, उनीहरु बालबालिका, गर्भवती, दीर्घरोगी थिए ।केहीबेर उडेर पनि मौसममा सुधार नभएपछि फेर सुरक्षित नै चामे फर्कियौं’ टोलीमा सहभागी एक पत्रकारले भने ।

मुख्यमन्त्री नफर्किए के हुन्छ विश्वासको मत ?

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार विश्वासको मत लिँदैछन् । जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका नेपालीले सदनबाट विश्वासको मत लिन बुधबार संसद सचिवालयमा जानकारी दिएका थिए । शुक्रबार विश्वासको मत लिनुपर्ने मुख्यमन्त्री मनाङमै रोकिएपछि विश्वासको मत के हुन्छ भन्ने चर्चा चलेको छ ।

विश्वास मतका लागि मुख्यमन्त्री आफैंले प्रस्ताव प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रदेश सरकारका प्रवक्ता कुमार खड्का भने मुख्यमन्त्री विश्वासको मत लिन जसरी पनि समयमै उपस्थित हुने र आउन नसकेको खण्डमा अर्को दिनका लागि कार्यसूची तयार पारिने बताए ।

‘मौसममा सुधार भएको उहाँहरु भोलि (शुक्रबार)बिहानै आउनुृहुन्छ र संसदको कारवाही अगाडि बढ्छ,’ प्रवक्ता खड्काले भने, ‘आउन नसक्नुभएमा अर्को दिनको कार्यसूचीमा राखिने छ । यसबारे संसद सचिवालयमा कुरा भइसकेको छ ।’

गण्डकी प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले मुख्यमन्त्री विश्वासको मतका लागि जसरी पनि उपस्थित हुनुपर्ने बताए । उनले मौसम नखुलेका कारण ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि अहिले नै आफूले केही भन्न नसक्ने सुनाए । ‘उहाँ आउनुपर्छ । आउन सक्नु भएन भने अर्को प्रक्रिया होला ! अहिले नै ठ्याक्कै यही भन्न सकिँदैन,’ उनले भने ।

मनसुनको सुरुमै आएको बाढीका कारण मनाङमा ठूलो क्षति पुगेको छ । मनाङका ताल, चामे गाउँ डुबानमा छन् । मौसममा खराबी आएका कारण काठमाडौंदेखि नेपाली सेनाको हेली उद्धारका लागि ३ दिनपछिमात्रै पुगेको छ । तर, मौसममा सुधार नआएका कारण उद्धार कार्य सहज हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment