Comments Add Comment

प्रदेश-२ को सरकारमा जान माओवादीको आनाकानी

३ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी नभएपछि त्यहाँ विपक्षी गठबन्धनमा समस्या देखिएको प्रश्न उठेको छ ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसेका छन् । तर विपक्षी गठबन्धनमा नै रहेको नेकपा माओवादी केन्द्र भने पूर्वसहमति अनुसार सरकारमा सहभागी भएको छैन ।

२६ जेठमा कांग्रेस र माओवादीबाट मन्त्री नियुक्त गरी सँगै शपथ गराउने तयारी भए पनि माओवादीसँग अन्तिम समयसम्म कुरा मिल्न सकेन । कांग्रेसका ३ नेता मन्त्री बनेको दुई सातासम्म माओवादी सरकारमा जान आनाकानी गरिरहेको छ ।

सरकारी पक्षले माओवादीको आन्तरिक कारण र माओवादीले सरकारी पक्षका कारण सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।

माओवादीको आन्तरिक तयारी नभएका कारण सरकारमा सहभागी नभएको सरकारी वार्ता टोलीका सदस्य भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बताउँछन् ।

‘उहाँहरुलाई दिने मन्त्रालय मोटामोटी तय भइसकेको छ । हामी ल्याउन तयारै छौं’ मन्त्री साह भन्छन्, ‘उहाँहरुको आफ्नै तयारी पुगेको छैन ।’ मन्त्री साहले माओवादीलाई २ वटा मन्त्रालय दिन तयार भएको बताए । ‘हाम्रो तयारी भइसकेको छ । उहाँहरु आएपछि शपथ गराउँछौं’ उनले भने ।

माओवादीका नेताहरु भने जसपाभित्र आफैं अन्तरविरोध रहेको बताउँछन् । ‘हामी काम गर्न सक्ने मन्त्रालय मागिरहेका छौं । तर, उहाँँहरु कामै गर्न नसकिने मन्त्रालयको कुरा गरिरहनुभएको छ’ माओवादीका प्रमुख सचेतक दिलिप साह भन्छन्, ‘मन्त्रीको कुर्सीमा बसेर मात्रै भएन नि । हामी काम गरेर देखाउन चाहेका छौं ।’

स्वास्थ्य र शिक्षा सामाजिक विकास मन्त्रालयमा रहेको र त्यसलाई मुख्यमन्त्रीले फुटाउन नमानेको उनको भनाइ छ । उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई फुटाएर वाणिन्य मन्त्रालय बनाई आफूहरुलाई दिन खोजेको भन्दै उनले यो मन्त्रालयबाट काम गर्न नसकिने बताए ।

त्यस्तो अवस्थामा आफूहरु सरकारमा नजाने पनि उनको भनाइ छ । साहले भने ‘माओवादीभित्र सरकारमा नजाने बहस पनि चलिरहेको छ । जसपाले जसरी सरकार चलाउन खोजेको छ । यस्तो अवस्थामा सरकारमा जाँदा बदनाामी मात्रै हुन्छ ।’

उनले सरकारलाई दिएको समर्थन कायमै रहने भन्दै मुख्यमन्त्रीलाई असार १५ गतेसम्म पर्खिने बताए । प्रदेश २ मा माओवादीका ८ जना सांसद छन् । यसअघि ११ सांसद भएपनि ४ जनालाई पदमुक्त गरी एकजनालाई मनोनित गरेको थियो ।

प्रदेशमा हाल कायम रहेको १ सय ४ जना सांसदमध्ये जसपाभित्रको पूर्व समाजवादीका ३० सांसद छन् । यी ३० सांसदसहित पूर्व राजपाका ५ जना सांसदले पूर्व समाजवादी पक्षका लालबाबु राउतलाई संसदीय दलको नेता मानेको भनी हस्ताक्षर गरेका छन् ।

पूर्वसमाजवादीले ३५ जना आफ्नो पक्षका, १८ जना कांग्रेसका र ८ जना माओवादीका गरी ६१ जना सांसदको समर्थनमा सरकार बचाउन चाहेको छ । सरकार बचाउनकै निम्ति ६ मन्त्रालय रहेको प्रदेशमा १० वटा मन्त्रालय बनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment