Comments Add Comment

रेशम चौधरीले अदालतबाटै न्याय पाउने विश्वास छ : मन्त्री अरगरिया

६ असार, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका नेतालाई सरकारमा सहभागी गराउँदा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।

मन्त्री बनेपछि गृहजिल्ला आएका उनले प्रादेशिक अस्पताल जनकपुरधामलाई केही स्वास्थ्य सामग्री पनि सहयोग गरे । गृहजिल्ला आएका बेला पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा मन्त्री अरगरियासँग गरिएको कुराकानी :

तपाईंहरु सरकारमा गएपछि त जनता समाजवादी पार्टी फुट्ने स्थितिमा पुग्यो नि ?

आफूलाई मधेशवादी भन्ने दलमा ट्रेन्ड के देखियो भने मधेसमा खुब चर्को भाषण गर्ने र काठमाडौं गएर कसरी मन्त्री बन्न सकिन्छ त्यता लाग्ने देखियो । त्यसलाई हामीले तोडेका छौं ।

हामीले स्पष्ट रुपमा भन्यौं जसले माग पूरा गर्छ उसको सरकारमा जान्छौं । यसअघि १८ महिने सरकारमा उपेन्द्रजी मन्त्री बन्नुभयो । त्यस समयमा मधेसी, आदिवासी, जनजाति, दलित समुदायले केही पाउन सक्नुपर्थ्यो नि ?

तपाईंले हेर्नुभएको होला मधेस आन्दोलनका बन्दीहरूको मुद्दा फिर्ता भयो । सरकारले नागरिकता अध्यादेश ल्यायो, यद्यपि अदालतले त्यसलाई रोक लगाएको छ । त्यसका निम्ति हामी कानूनी लडाइँमा पनि छौं । अध्यादेशमार्फत कुनै चिज आउँदा सम्मानित अदालतले रोक नलगाउँदा हुन्थ्यो ।

पार्टीमा अहिले कुनै टुटफुट छैन । रेल चलेपछि कोही चढ्छन्, कोही ओर्लन्छन् । कुनै स्टेशनमा धेरै भीड हुन्छ, कुनै स्टेशनमा यात्रु ओर्लन्छन् । हामी पार्टीमा मनोमानी हुन दिन्नौं । पार्टी सामूहिकताले चल्छ । व्यक्तिवादी सोच र शैली हाबी हुनुहुँदैन ।

तर पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले निर्णय त दिइसकेको त छैन नि ?

सबैभन्दा ठूलो कुरा कानून हुन्छ । पार्टीमा अध्यक्ष प्रणाली छ । यो प्रणालीमा अध्यक्षलाई माइनस गरेर अघि बढ्न सकिन्न । अध्यक्षलाई नै छाडिदिंदा उचित हुँदैन ? जहाँसम्म बहुमतको कुरा छ त्यो हामीसँग छ । उहाँहरुले यति सदस्यीय छ भन्नु जालझेल मात्र हो ।

मधेसको माग पूरा भयो भनेरै सरकारमा जानुभयो, के–के माग पूरा भयो त ?

तपाईंले हेर्नुभएको होला मधेस आन्दोलनका बन्दीहरूको मुद्दा फिर्ता भयो । सरकारले नागरिकता अध्यादेश ल्यायो, यद्यपि अदालतले त्यसलाई रोक लगाएको छ । त्यसका निम्ति हामी कानूनी लडाइँमा पनि छौं । अध्यादेशमार्फत कुनै चिज आउँदा सम्मानित अदालतले रोक नलगाउँदा हुन्थ्यो ।

त्यस्तै संविधान संशोधन गर्न उच्चस्तरीय कार्यदल बनाइसकेका छौं । रेशम चौधरीलगायतका मुद्दाहरू सरकारले माफी मिनाहा गर्न सक्छ ।

वास्तविकता हेर्ने हो भने लाल आयोगको प्रतिवेदनले रेशम चौधरी निर्दाेष देखिएका छन् । त्यसैले दोषी देखाएर माफी गराउने पक्षमा हामी गएका छैनौं । बरु केही दिन लागोस् अदालतमै हामीले फेस गर्छौं । र, मलाई विश्वास छ सम्मानित अदालतले न्याय दिनेछ ।

पर्यटन क्षेत्र त धरासायी नै बनिसकेको छ, यसलाई कसरी उकास्नुहुन्छ ?

कोरोना महामारीका कारण मैले जिम्मेवारी लिएको मन्त्रालयको क्षेत्र पूर्ण रुपले धरासायी भइसकेको छ । संस्कृतिको रक्षा र पर्यटनलाई बढावा दिने गरी काम गर्ने योजना छ । नेपाल एयरलाइन्स निकै अव्यवस्थामा छ र आफ्नो खर्च पनि धान्न नसकेको स्थिति छ । ठूलो लगानी गरेर ल्याएका जहाज बेकम्मा छन् । यसलाई चुस्त बनाउन चुनौती छ ।

पर्यटनमा कोरोना महामारीको कारण एउटा चुनौती देखिएको छ भने अर्को चुनौती हामीसँग पर्यटनको गुरुयोजना नै नबन्नु हो ।

पर्यटकहरू रमाइलो गर्न, थकाइ मार्न या धार्मिक यात्राको हिसाबले आउँछन् । तर उनीहरु बस्ने राम्रो व्यवस्था हुनुपर्‍यो । हामीले प्रत्येक धार्मिक स्थलमा होटलको अवधारणा ल्याउँदैछौं । प्रदेश २ मै कुनै पर्यटक आउँदा जनकपुरधाम, धनुषाधाम, सखडा भगवती, कोशी टप्पुसम्म घुम्न जाने व्यवस्था हुनुपर्छ ।

देशको प्राकृतिक सौन्दर्य अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउन सकिएको छैन । यसतर्फ ध्यान दिन जरुरी छ ।

मन्त्री भएपछि नेपाल एयरलाइन्सबारे पनि केही बुझ्न भ्याउनुभयो ?

नेपाल एयरलाइन्स धरासायी हुनुका धेरै कारण छन् । मर्मतको नाममा भ्रष्टाचार हुन्छ । सबैभन्दा प्रमुख कारण त निजी क्षेत्रको जहाज चल्छ, तर नेपाल एयरलाइन्सको जहाज धेरै होल्ड भइरहन्छ । कतिपय कर्मचारीले नेपाल एयरलाइन्सको जागिर गरिरहेका छन्, तर बफादारी निजी क्षेत्रको जहाजको गरिरहेका छन् ।

पाँच मिनेटको मात्रै उडानमा गडबडी छ भने चार दिनसम्म जहाज होल्ड गरिदिन्छन् । यसो गर्दा सरकारी जहाज राम्रो छैन, निजी क्षेत्रबाटै यात्रा गर्नुपर्छ भन्ने मनसाय बढ्नु स्वाभाविकै हो । मेरो अध्ययन अनुसार मुख्य गडबडी त्यहीं देखिन्छ । यसमा म गम्भीर भएको छु, अब यो अवस्था रहनुहुँदैन ।

नेपाल एयरलाइन्सको नियमित उडान छ कि छैन ? कुनै दिन उडान भएन र यात्रुलाई होल्ड गर्नुपर्‍यो भने के कारणले होल्ड गर्नुपरेको हो ? त्यो विषयमा तत्कालै छानबिन गरिनेछ । यो तरिकाले काम गर्दा कर्मचारी साथीहरूमा पनि उर्जा आउँछ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्छौं । गल्ती गर्नेलाई कारबाहीको भागीदार बनाउँछौं ।

अन्तर प्रदेश उडानको कुरा पनि आएको छ, यो कहिलेदेखि हुनसक्छ ?

एक प्रदेशबाट अर्को प्रदेशमा उडान हुन जरुरी छ । जहाजबाट पोखरा जान जनकपुरका बासिन्दालाई पहिला काठमाडौं पुग्नुपर्छ । अनि त्यहाँबाट मात्रै पोखरा जाने सुविधा छ । सीसीएमसीले जहाज उडानको अनुमति दिएलगत्तै हामी यसतर्फ पाइला चाल्छौं । यसबारेमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौं ।

यसअघि जनकपुर–अयोध्या हवाई सेवा सञ्चालन हुने चर्चा थियो, पछि त्यसै सेलायो । अब कहिले सुरु होला ?

निजी क्षेत्रका जहाज कम्पनीसँग यस विषयमा कुरा गर्छौं । भारतीय पक्षसँग पनि छलफल गर्छौं । जनकपुर र अयोध्याको सम्बन्ध अहिलेको नभई परापूर्वकालदेखिकै भएकाले यो सम्बन्धलाई अझ मजबुत बनाउन यी ठाउँलाई जोड्ने गरी सेवा सञ्चालन हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment