Comments Add Comment

नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अझै कुर्नुपर्ने

११ असार, काठमाडौं । आगामी जुलाईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले तयारी सुरु गरेको केही दिन मात्र भएको थियो ।

नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित उक्त सिरिज स्पेनमा हुने तय थियो । तर कोरोना महामारीका कारण यो सिरिज तत्कालका लागि स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नामिबियामा अहिले खराब अवस्था रहेको र प्रशिक्षण गर्न तथा भ्रमणका लागि पनि प्रतिबन्ध रहेकाले सिरिज स्थगित गर्नुपरेको जनाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले अन्तिम समयमा सिरिज स्थगित हुँदा यसको असर पर्ने बताए । ‘सबै कुराले असर परेको छ । सबै तयारी सुरु गरिसकेका थियौं । कोच आएर ट्रेनिङ हुन थालिसकेको थियो । मानसिक रुपमा असर परेको छ,’ अध्यक्ष चन्दले अनलाइनखबरसँग भने, ‘अब गतिविधिहरु हुन्छ भन्ने भएर नै क्यान पनि अगाडि बढेको थियो । सबै कुरामै असर गरेको छ ।’

साथै आईसीसीले यस सिरिज अब एक वर्षपछि अर्थात् २०२२ जुलाईमा हुने जनाएको छ । कोरोनाकै कारण गत मार्चमा ओमानमा हुने भनिएको नेपाल ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोटको आधारमा रहेको लिग–२ मा सात टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जहाँ हरेक टिमले ९ सिरिजमा कुल ३६ खेल खेल्न पाउनेछ । तर नेपालले अहिलेसम्म जम्मा एक सिरिज खेलेको छ । सन् २०२० फेब्रुअरीमा घरेलु मैदानमै भएको सिरिजमा नेपालले चार खेल खेलेको थियो । ओमान र अमेरिकासहितको उक्त सिरिजमा नेपालले दुई खेल जित्दा दुई खेल हारेको थियो । नेपाल अहिले चार खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ ।

कोरोनाको असरका कारण लगातार सिरिज स्थगित हुँदा नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न भने अझै कुर्नुपर्ने भएको छ । नेपालले पछिल्लो पटक खेलेको ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट १६ महिनाअघिको त्यही घरेलु मैदानको त्रिकोणात्मक सिरिज थियो । त्यसपछि नेपालले एसीसी इस्टर्न रिजन टी–२० खेलेको थियो भने गत वैशाखमा घरेलु मैदानमा टी–२० त्रिकोणात्मक सिरिज खेलेको थियो । तर एकदिसवीय सिरिज भने नेपालले खेलेको छैन ।

लामो समयपछि एकदिवसीय सिरिज खेल्न पाउने भएपछि खेलाडीहरु उत्साहित थिए । तर अब उक्त सिरिज पनि स्थगित भएपछि नेपालले ५० ओभरको अर्को प्रतियोगिता अहिले खेल्ने टुंगो छैन ।

क्यान अध्यक्ष चन्दले लिग–२ सिरिज रोकिए पनि नेपाल र स्कटल्याण्डको दुई पक्षीय सिरिज खेल्नका लागि पहल गरे पनि सम्भव नभएको बताए । ‘अब यसका लागि फण्ड पनि भएन,’ उनले भने ।

नेपालले खेल्ने मुख्य ५० ओभरको प्रतियोगिता भने एकदिवसीय विश्वकप छनोट खेल नै हो । लिग २ साइकलमा ३६ खेल खेल्न पाउने भए पनि कोरोनाकै कारण बारम्बार सिरिजपछि सर्दा नेपालले भने ५० ओभरको क्रिकेटको प्रतीक्षा गरिरहनु परेको छ ।

गत मार्चमा स्थगित भएको ओमानमा हुने सिरिजको अर्को मिति नआइसकेकाले नेपालले खेल्ने अर्को ५० ओभरको क्रिकेट अब २०२२ मा मात्र छ । सन् २०२२ फेब्रुअरीमा नेपालले घरेलु मैदानमै लिगको त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ । जसमा नेपाल। यूएई र पपुवा न्युगिनीले खेल्नेछन् ।

अध्यक्ष चन्दले मार्चमा स्थगित भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज यही २०२१ मा गर्ने प्रस्ताव भएको तर निर्णय नभएको बताए । ‘सेप्टेम्बरमा ओमानको सिरिज गर्ने प्रस्ताव भएको छ । भारतमा टी–२० विश्वकप हुन्छ भने त्यो सिरिज पनि गर्नेबारे छलफल भएको छ,’ उनले भने ।

यदि ओमानको सिरिज हुने अवस्था आएमा भने नेपालले दुई महिनापछि नै ५० ओभरको क्रिकेट खेल्न पाउने सम्भावना देखिएको छ ।

अहिले स्थगित भएको स्कटल्याण्ड,  नेपाल र नामिबियाबीचको सिरिज अब एक वर्षपछि अर्थात् २०२२ जुलाईमा हुने आईसीसीले जनाइसकेको छ । यस्तै २०२२ को मार्चमा नेपालले नामिबिया भ्रमण गर्ने तालिका छ, जसमा नेपाल र नामिबियासहित स्कटल्याण्डले खेल्नेछन् । २०२२ कै जुलाईमा नेपाल, ओमान र अमेरिकाबीच अमेरिकामा सिरिज हुने तय भएको छ ।

२०२२ को सेप्टेम्बरमा नेपाल, पपुवा न्युगिनी र यूएईबीचको सिरिज पपुवा न्यूगिनीमा हुनेछ ।

सन् २०२३ मा नेपालले अन्तिम दुई सिरिज खेल्ने तालिका छ । जसअनुसार २०२३ फेब्रुअरीमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज घरेलु मैदानमा हुनेछ भने फेब्रुअरीमै नेपाल र पपुवा न्युगिनी अन्तिम सिरिजका लागि यूएई जानेछन् ।

यसबाहेक नेपालले खेल्ने अरु ५० ओभरको क्रिकेट प्रतियोगिता छैन । यदि नेपाल क्रिकेट संघ (क्यान)ले त्यसअघि कुनै अन्तर्राष्ट्रिय सिरिजका लागि पहल गरे वा आफैं आयोजना गरेमा मात्र नेपालले ५० ओभरको क्रिकेट खेल्न पाउनेछ ।

गत वैशाखमा भएको टी–२० त्रिकोणात्मक सिरिज जितेपछि नेपाली टोलीको ब्याटिङमा सुधार देखिएको थियो भने टिम उत्साहित बनेको थियो । अब स्पेनमा हुने सिरिज स्थगित भएपछि नेपालले अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नै केही समय कुर्नुपर्ने भएको छ ।

सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि सीधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको नेपालले त्यो क्वालिफायर पनि अर्को वर्ष मात्र खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गोविन्द नेपाल

ट्रेन्डिङ

Advertisment