Comments Add Comment

रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट हुँदै

१३ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गररिहेको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको मन्त्रालय प्रवक्ता डा.श्रीराम घिमिरेले जानकारी दिए ।

जिल्लाबाट पहिले जसरी आउने नियमित तथ्याङ्कका अलवा प्रविधिमा आधारित विवरणहरु संकलन र प्रशोधनको काम थालिएको प्रवक्ता घिमिरेले बताए ।

‘मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको हो,’ सहसचिव एवम् प्रवक्ता डा घिमिरेले भने ।

यसअघि पालिका र जिल्ला हुँदै आउने गरेको मुख्य सिजनको धान रोपाइँ विवरणमा गत वर्षदेखि स्याटेलाईट विवरण पनि समावेश गर्न थालिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले बताए ।

कृषि नविनतम् ज्ञानको प्रयोग गर्ने हिसाबले स्याटालाईटले तराईका सबै जिल्लाका मूख्य धान बालीको नयाँ प्रविधिबाट विवरण निकाल्न थालिएको रेग्मीको भनाइ छ ।

कसरी गणना हुन्छ ?

नेपालमा मुख्य धान बालीको मौसम सुरु भएपछि अमेरिकी अन्तरिक्ष संस्था नाशाबाट धान खेतीका पकेट जिल्लाको क्षेत्रफलसहित रियालटाईम तस्वीर मन्त्रालयलाई प्राप्त हुन्छ ।

तस्वीर प्राप्तीका लागि जीपीएस मेसिन लिएर विभिन्न तोकिएको जिल्लाका पोइन्टहरुमा अधिकारीहरु पुग्ने र त्यहाँबाट स्याटोलाईटले क्षेत्रफल गणना गर्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

‘जीपीएस लिएर हाम्रा अधिकारी उभिएपछि त्यसको आधारमा स्याटालाईटले तस्विर र क्षेत्रफल पनि प्राप्त हुन्छ,’ उनले भने । उक्त तस्विरमा देखिएको भागलाई मन्त्रालय र नार्कका वैज्ञानिकको समूह इसीमोडका विज्ञसँगै बसेर प्रशोधन गर्ने काम गर्ने मन्त्रालयले जनाएको छ  ।

नेपाल सरकारसँग भएको सम्झौताअनुसार इसीमोडले नाशाबाट तस्विर उपलब्ध गराउने नेपाललाई सघाउँछ । उक्त तस्विरमा रोपाइँअघि, रोपाइँपछि र धान हुकर्ंर्दै गर्दाका क्षणहरुको तस्विरहरु प्राप्त हुन्छ ।

काँस नामक घाँस पनि उस्तै देखिने भउयकाले यदाकदा समस्या पर्ने गरेको मन्त्रालयको भनाइ छ । स्याटेलाइट फोटो, क्षेत्रफल तथा परम्परागत रुपमा प्राप्त हुने विवरणको एकीकृत प्रशोधनबाट हरेक वर्ष धान रोपाइँको विवरण सार्वजनिक गर्ने गरिएको र यसवर्ष पनि सो प्रक्रिया सुरु भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

सोही प्रक्रियाबाट अबको एक सातादेखि प्रारम्भिक रोपाइँको विवरणहरु प्राप्त हुने मन्त्रालयले जनाएको छ । अमेरिका, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकले सफलतापूर्वक कार्यन्वयन गरिरहेको यो परियोजनामा नेपाल पनि अभ्यस्त हुँदै गएको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment