Comments Add Comment

बाबुरामले प्रचण्डसँग ‘सम्बन्धविच्छेद’ गर्दा खुशी थिइन् हिसिला

१६ असार, काठमाडौं । २०७२ असोज ३ गते नयाँ संविधानको घोषणालगत्तै बाबुराम भट्टराईले माओवादी छाड्ने घोषणा गरे । बाबुरामले पार्टी र तत्कालीन संविधानसभा सदस्य दुवैबाट राजीनामा दिएका बेला हिसिला यमी भने रूसको भ्रमणमा थिइन् ।

प्रचण्डको साथ छाडेको कुरा बाबुरामले टेलिफोन मार्फत पत्नी एवं माओवादी नेतृ हिसिला यमीलाई जानकारी दिए । बाबुरामले प्रचण्डसँग राजनीतिक ‘सम्बन्धविच्छेद’ गर्दाको उक्त क्षणमा आफू निकै खुशी भएको प्रसङ्ग हिसिलाले हालै प्रकाशित आफ्नो आत्मकथामा खुलाएकी छिन् ।

हिसिलाले भनेकी छन्– ‘प्रचण्डले आफ्नो व्यक्तिगत उद्देश्य वा राजनीतिक उपलब्धिको लागि बाबुरामसँग कि सहकार्य गरे कि सधैं आक्रमण गरे । प्रचण्डका लागि अन्य राजनीतिक दलसँग बार्गेनिङ गर्ने हतियार मात्र थिए बाबुराम । त्यसैले बाबुरामले माओवादी छोडेकोमा मलाई खुशी लाग्यो ।’ प्रचण्डसँगको सम्बन्ध मात्र होइन हिसिलाको आत्मकथाले धेरैको सत्य नङ्ग्याइदिएको छ । धेरै राजनीतिक पात्रको चरित्र उदाङ्गो बनाइदिएको छ ।

चर्चित भारतीय प्रकाशन गृह पेन्गुइनबाट ‘हिसिलाः फ्रम रिभोलुसनरी टु फस्ट लेडी’ नामले नेतृ यमीको आत्मकथा अंग्रेजीमा प्रकाशन भएको छ जसले माओवादी आन्दोलनका थुप्रै नयाँ पाटोलाई उजागर गरेको छ ।

हिसिलाका अनुसार विद्यार्थी राजनीतिको व्यस्तताबीच पनि उनी डायरीमा महत्त्वपूर्ण कुराहरू नोट गरिरहन्थिन् । उनी मग्न भएर लेखेको देखेर माओवादी सहयोद्धाहरू ‘कमरेड युद्ध पत्रकारिताको अभ्यास गरिरहनुभएको छ कि कसो !’ भन्दै सोध्दथे ।

जवाफमा हिसिला हाँसिदिन्थिन् मात्रै । किनभने त्यतिबेला लेखेका कुरा बाहिरियो भने ज्यानै जाने समेत डर हुन्थ्यो । तर हिसिला डगमगाइनन् । बाल्यकालदेखि निर्भीक स्वभावकी यी नेतृले अन्ततः ६२ वर्षको उमेरमा व्यक्तिगत जीवन र राजनीतिक उतारचढावलाई ‘आत्मकथा’को रूप दिएकी छिन् । आज त्यही डायरी पुस्तकको रूपमा आएको छ ।

पुस्तकमा हिसिलाले आफूलाई क्रान्तिकारी महिलादेखि फस्ट लेडी (सरकार प्रमुखकी श्रीमती) भएको कुरा आवरणमै उल्लेख गरेकी छिन् । झट्ट हेर्दा पश्चिमा देशका राष्ट्रपतिका श्रीमतीको सिको गर्दै उनले आफूलाई ‘फस्ट लेडी’ मानेको देखिन्छ ।

यो पदावलीबारे हिसिलाको आफ्नै तर्क छ– ‘प्रधानमन्त्रीको श्रीमती भएर मात्र फस्ट लेडी भनेको होइन । संघर्षको दौरान म जुनसुकै काममा पहिलो हुन प्रयासरत थिएँ । त्यसलाई फस्ट लेडी भनेको हुँ ।’

आत्मकथा ‘हिसिला’मा जनयुद्धदेखि घरयुद्धसम्मका कुरा लेखिएका छन् । चर्चित नेता बाबुराम भट्टराईको श्रीमती हुनुले आफ्नो जीवनमा पारेको प्रभावबारे पुस्तकमा सबैभन्दा बढी पेज खर्चिएको छ । उनले आत्मकथाको शुरुआत र विसर्जन पनि प्रश्नबाटै गरेकी छिन् । कतिपय प्रसङ्गमा आफैंलाई त कतिपयमा नेतृत्वलाई प्रश्न गरेकी छिन् अनि कतिपय ठाउँमा पुरुषसत्तालाई चुनौती दिएकी छिन् ।

‘म नै सबैथोक हुँ, म नै सर्वोपरि हुँ भन्ने कुरा मान्दिनँ !’ आत्मकथाबारे हिसिलाको स्वीकारोक्ति छ, ‘हाम्रो पचास वर्षको समयावधिको चित्र उतार्ने प्रयास गरेकी छु । जसमा अनेकौं पात्र निमित्त भएर देखा पर्छन् ।’

यसो त माओवादी जनयुद्धमाथि धेरै पुस्तक लेखिएका छन् । आफ्ना निजी अनुभवको चास्नीमा राजनीतिक घटनाक्रम घोलेर लेखिएका ती पुस्तकभन्दा हिसिलाको पुस्तक कसरी फरक भयो त ? धेरै पाठकको यो प्रश्न हामीले हिसिला समक्ष राख्यौं ।

जवाफमा उनी बोलिन्– यो किताब ‘हर्सेस माउथ’ले देखे–भोगेको कुरा हो । नेता, निर्णय र युद्धलाई नजिकबाट बुझेकी महिला नेतृको पुस्तक बाहिर आएको छैन । मेरो पुस्तकको विशेषता त्यही हो ।

हिसिलाको जीवनमा बाबुरामको छायाँ

अधिकांश आत्मकथा झैं हिसिलाको लेखन पनि अस्तित्वखोजमा अल्झिएको छ । सम्पूर्ण पुस्तक ‘म को हुँ ?’ भन्ने प्रश्नको मियोमा घुमेको देखिन्छ । बाबुराम र हिसिलाको सम्बन्धबारे कसरी अफवाह फैलाइयो भन्ने रोचक कुरा पनि उनले उल्लेख गरेकी छिन् । जब २०६८ मा बाबुराम प्रधानमन्त्री भए तब मात्र पतिसँगै बालुवाटार पुगिन् हिसिला ।

त्यसअघि कामविशेषले गर्दा अधिकांश समय उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए । बाबुरामको प्रधानमन्त्रीत्वकालमा बालुवाटार बस्न थालेपछि बाबुराम–हिसिला सम्बन्धबारे अनेकौं अफवाह फैलाइएको उनी बताउँछिन् ।

कतिसम्म भने ‘बाबुरामलाई बिगार्ने हिसिला नै हो’ भन्नेसम्म आरोप केही पत्रकारले लगाएको कुराले उनलाई अहिलेसम्म पनि निकै बिझाएको छ । अर्का पत्रकारले ‘बाबुरामलाई देवता तथा हिसिलालाई राक्षस’को चित्रण गर्दै लेखेको घटना उल्लेख गरेकी छिन् ।

यद्यपि कतिपय नितान्त व्यक्तिगत कुरा उल्लेख गरेकी छैनन् । यसबारे उनको स्वीकारोक्ति छ, ‘मसँग जोडिएका घटनाले बृहत् राजनीतिक अर्थ दिन्छ भने मात्र त्यस्ता कुरा लेख्छु ।’

विदेशी मिडियामा समेत बाबुराम–हिसिला सम्बन्धबारे हल्ला चलाइँदा भने चित्त निकै दुखेको कुरा उनी सुनाउँछिन् । यस्तो हल्ला चल्दा बारम्बार आफ्नी आमालाई सम्झिने गरेको उनी उल्लेख गर्छिन् ।

२००८ सालमा हिसिलाका पिता धर्मरत्न यमी (तुलाधर) उपमन्त्री बनेका थिए । राजनीतिले व्यस्त हुँदा आमा र बुबाको भेट विरलै हुन्थ्यो । त्यस्तो बेला आफन्तले बुबा र आमाको सम्बन्ध टुटाउन खोजेको उनी बताउँछिन् ।

‘तिमी नपढेकी, रूप पनि काली भएकी केटी मन्त्रीको श्रीमती हुन सुहाउँछ भन्दै आफन्तले आमालाई निरुत्साहित बनाए’ भावुक हुँदै हिसिला सुनाउँछिन्, ‘बुबा जब मन्त्री पदबाट हट्नुभयो तब आमा निकै खुशी हुनुभएको थियो ।’

जीवनको उत्तरार्धमा आइपुग्दा सह–अस्तित्वको लागि सबै कुरा त्याग्न तयार भएको हिसिला बताउँछिन् । बाबुराम र आफ्नो अस्तित्व फरक–फरक भए पनि पति बाबुरामबाट धेरै राजनीतिक चेतना ग्रहण गर्न पाएको कुरा उनी गौरवसाथ बताउँछिन् । तर बाबुरामको छायाँमा मात्रै आफूलाई राखेर हेर्न नमिल्ने कुरामा उनी अडिग छिन् ।

‘म पनि इन्जिनियर हुँ, म पनि नेता हुँ, म तिमीभन्दा कम हो भनेर गएको भए हाम्रो जीवन पनि प्रचण्ड–बाबुरामको सम्बन्ध जस्तै हुन्थ्यो’ हिसिला भन्छिन्, ‘तर हामीले एकअर्काको अस्तित्व स्वीकार गरेर बाँच्न चाह्यौं ।’

पति बाबुराम अहिले विषम राजनीतिक परिस्थितिको शिकार बन्न पुगेको उनको ठहर छ । यसैले व्यक्तिगत जीवनमा मात्र होइन राजनीतिमा अप्ठेरो परेको हुनाले पतिको सहयात्री बनेर साथ दिने कुरा उनले बारम्बार दोहोर्‍याएकी छिन् ।

प्रचण्ड–बाबुराम सम्बन्धबारे खुलासा

आत्मकथामा बाबुराम र प्रचण्डबारे विस्तृत उल्लेख गरिएको छ । उनले दुवै नेताको सबल र दुर्बल पक्षको मसिनो विश्लेषण गरेकी छिन् ।

हिसिलाले भनेकी छिन्– ‘प्रचण्ड एक व्यावहारिक नेता थिए भने भट्टराईचाहिं आदर्शवादी नेता । उनीहरू नदीका दुई किनार जस्ता थिए । प्रचण्डले व्यावहारिक र तत्कालीन विषयमा राम्रोसँग काम गरे भने बाबुरामले दीर्घकालीन रणनीतिक विषयमा ध्यान दिए । प्रचण्डले मासलाई सैन्यीकरण गरे भने बाबुरामले त्यसलाई राजनीतिक बनाए ।

बाबुरामले नयाँ राजनीतिक कोर्सको स्थापना गरे भने प्रचण्डले त्यसलाई वैधानिक बनाए र कार्यान्वयन गर्नका लागि आवश्यक संख्या जुटाए ।’

संक्षेपमा भन्दा प्रचण्ड एक व्यवस्थापकीय नेता अनि बाबुरामचाहिं वैचारिक नेता भएको नेतृ यमीको संश्लेषण छ । हिसिलाले प्रचण्डको व्यक्तित्वलाई ‘फास्ट लर्नर’ मानेकी छिन्, सँगै असुरक्षाको डर बोकेर हिंडिरहने नेताको रूपमा पनि चित्रित गरेकी छिन् ।

यी दुई नेताबारे हिसिलाले मसिनोभन्दा मसिनो घटनासमेत खुलाएकी छिन् । जस्तो युद्ध सफल हुँदै जाँदा प्रचण्डको चर्चा सर्वत्र चुलिन पुग्यो । यसपछि पार्टीका बैठकहरूमा प्रचण्डले आफ्नो तस्वीर मार्क्स र माओसँगै झुण्ड्याउन लगाए । यही घटनाबाट प्रचण्डभित्र शक्ति संचयको आकांक्षा कति थियो बुझ्न सकिने हिसिलाको मत छ ।

‘तर जहिले पनि कार्यकर्ताको शुभेच्छा र जोड दुई नेता मिल्नुपर्ने भन्ने नै थियो । मैले सकेसम्म दुई नेतालाई संघर्षभन्दा पनि सहकार्यका लागि आग्रह गरें तर सफल भएन’, हिसिलाले निचोडमा यो कुरा खुलाएकी छिन् ।

हिसिलाको आत्मकथाले के स्पष्ट हुन्छ भने, प्रचण्डले ‘पार्टी’लाई बाबुराममाथि नियन्त्रण गर्ने औजारको रूपमा प्रयोग गरेका थिए भने बाबुरामले ‘मास’ अपिल, मिडिया, नैतिक बल र अन्तर्राष्ट्रिय पहुँचलाई प्रचण्डको पार्टीमा एकाधिकार विरुद्ध लड्न प्रयोग गरेका थिए । यसबाहेक बाबुराम बेलाबेला ‘नोट अफ डिसेन्ट’ लेख्ने र राजीनामा दिने गर्दथे । बाबुरामका ती कदम प्रचण्ड विरुद्ध लड्ने सत्याग्रह–शैली थियो ।

आज प्रचण्डले सम्पूर्ण रूपमा ट्रयाक परिवर्तन गरेको हिसिला र बाबुराम दुवैको ठहर छ । उनले यो कुरा पुस्तक मार्फत लिपिबद्ध गरेकी छिन् ।

यता नेताहरूमाथि आफ्ना आलोचनात्मक धारणा राख्दै गर्दा हिसिलाले जनयुद्धको गौरवगाथालाई समर्थन गरेकी छिन् । जनयुद्धले गर्दा देशको कुना–कन्दरामा आफू जान र देशको बहुलता अनुभव गर्न पाएको कुरा उनी सगौरव बताउँछिन् ।

‘मैले बझाङ, दार्चुला पुगेपछि देशको यथार्थ चित्र बुझें । राजधानीसँग केही सम्बन्ध नभएका नागरिकको दीन–हीन जीवन देखें । यो जनयुद्धकै कारण हो’, उनी खुलस्त भन्छिन् ।

‘राजनीतिक अग्निपरीक्षा दिनुपर्‍यो !’

हिसिलाले महिला भएका कारण भोग्नुपरेका सबै व्यक्तिगत, राजनीतिक र सामाजिक परिवेशलाई उजागर गरेकी छिन् । बाल्यकालमा भएको यौन शोषणको घटना पनि उनले पुस्तक मार्फत बाहिर ल्याएकी छिन् । नातामा हजुरबुबा पर्नेले यौन शोषण गर्न खोजेको कुरा उठाउँदै नेवार समुदायमा हुने महिला हिंसाका घटना लुकाउने प्रवृत्ति विरुद्ध खरो रूपमा प्रस्तुत भएकी छिन् ।

‘यौन शोषण र अन्यायका कुरा लुकाउनु भनेको अर्को पुस्तासम्मलाई धोका दिनु सरह भएको’ उनी बताउँछिन् । आम महिलाले भोग्ने सबै प्रकारका विभेद भोगेको बताउने हिसिला व्यक्तिगत तवरमा हुने विभेदभन्दा मानसिक तथा आत्मगौरवमा हुने प्रहार ठूलो मान्छिन् ।

श्रीमती भएकै कारण कतिपय स्थानमा राजनीतिक व्यक्तिले समेत बाबुरामसँग एउटा व्यवहार र आफूसँग अर्को व्यवहार गरेको कुराले मर्मभेदन गरेको उनले बताएकी छिन् ।

माओवादी युद्धमा होमिएको नेता र पत्नीको भूमिकामा हिसिला मात्र एकल थिइनन् । प्रचण्ड पत्नी सीता दाहाल, मोहन वैद्यकी श्रीमती, वर्षमान पुनकी श्रीमती ओनसरी घर्ती जस्ता नेताहरू युद्ध मैदानमा थिए । यो कुरालाई उनले हाइलाइट गरेकी छिन् ।

‘मेरो जीवनको कुरा गर्दैगर्दा सीता दाहाल, ओनसरी घर्तीहरूको जीवन जोडिन्छ’ हिसिला भन्छिन्, ‘महिला हुनुको नाताले आफूजस्तै महिलाको व्यक्तिगत तथा पारिवारिक जीवनको साक्षी पनि हुन पाएको छु ।’

यद्यपि बाबुराम भट्टराई प्रधानमन्त्री भएको बखत आफूलाई समानान्तर शक्ति सञ्चालनको आरोप लगाइएको कुराले दुःखी बनाएको उनी बताउँछिन् । हिसिलाका अनुसार समान राजनीतिक संघर्षको बलमा आएका महिला नेताको राजनीतिक अग्निपरीक्षा गरिनु खेदजनक छ ।

भारतसँगको सम्बन्ध

हिसिलाले आत्मकथा मार्फत भारतसँगको सम्बन्धको धेरै आयाम खुलाएकी छिन् । बाबुराम–हिसिलालाई पटक–पटक भारतप्रति नरम भएको आरोप लाग्यो । त्यसैले जनयुद्धकालमा भारतसँगको माओवादी सम्बन्ध बुझ्न उनको पुस्तक सहायक हुन्छ ।

हिसिला एघार वर्षको उमेरदेखि भारतमा बसेको, उच्च शिक्षा अध्ययन गरेको तथा विवाह पनि भारतमै भएकाले त्यहाँको राजनीति र समाजबारे उनलाई यथेष्ट ज्ञान हुनु स्वाभाविक हो । यसैले जनयुद्धमा सामेल नभएको भए नेपालभन्दा भारतबारे बढी थाहा हुने हिसिला बताउँछिन् ।

यद्यपि जनमानसमा हल्ला चलेजस्तो भारत र माओवादीको सम्बन्ध कहिल्यै नबनेको बताउँदै हिसिला पाठकलाई नै प्रश्न राख्छिन्– धेरैपटक भारतको आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो चुनौती माओवादीबाट भएको कुरा भारतीय नेताहरूले बोलेका छन् । त्यस्तो भन्नेले हामीलाई साथ दिन्छ त ?

हिसिलाका अनुसार शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुको व्यवस्थापनको लागि संयुक्त राष्ट्रसंघ बोलाएको कुरा भारतले कहिल्यै मन पराएन । अन्य परिस्थितिमा पनि नेपालमाथि पटक–पटक भारत हावी हुन खोजेको उनले लेखेकी छिन् ।

अघिल्लो साता यही आत्मकथाको भर्चुअल विमर्शमा समेत पूर्वराजदूत मञ्जिव सिंह पुरीले बाह्रबुँदे बारे नकारात्मक कुरा बोलेको उनी बताउँछिन् । तत्कालै पुरीको कुरा खण्डन गर्दै हिसिलाले उनलाई निर्भीक भएर जवाफ दिएकी छिन् ।

‘मिस्टर एम्बासडर डन्ट फरगेट मावेस्ट डोन्ट कल युनाइटेड नेसन । सेभन पार्टीज् कल युएन’ भन्दै हिसिलाले संयुक्त राष्ट्रसंघ बोलाउने कुरा माओवादीको नभई सात दलको भएको जवाफ पुरीलाई दिएकी छिन् ।

व्यक्तिगत जीवनमा मात्र नभई राजनीतिक तहमा कडा प्रस्तुत हुने आफ्नो बानीले कतिपय सन्दर्भमा अप्ठेरो पारेको हिसिला बताउँछिन् । यसैले त भारतीय माओवादी वा चीनको क्रान्तिबाट नभई पेरुको क्रान्तिबाट नेपाली मार्क्सवादीहरू प्रभावित भएको तर्क राख्छिन् उनी ।

छिमेकी देश भन्दैमा सबै कुरा उनीहरूसँगै जोडिएको गलत मान्यतालाई खुला चुनौती दिन चाहेको हिसिला बताउँछिन् । हिसिलाको पुस्तकले माओवादी जनयुद्धका थुप्रै भित्री पाटोलाई बाहिर ल्याइदिएको छ ।

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

ट्रेन्डिङ

Advertisment