Comments Add Comment

सिर्सिया नदीमा बाढी आउँदा वर्षेनि डुबानको समस्या

१७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा शान्तिटोलका कृष्णनन्दन साह मजदुरीका लागि बाहिर थिए । बुधबार राति भएको वर्षाले सिर्सिया नदीमा बाढी आएको बाढीको पानी घरभित्र पसेर सबै अन्नपात, लत्ताकपडा र गाईवस्तुलाई खुवाउन राखिएको भुसा बगाएर लग्यो । बाढीबाट ५० हजार जतिको क्षति भएको अनुमान छ ।

परिवारका सदस्यले छिमेकीको पक्का घरमा गएर ज्यान जोगाए । उनी मजदुरीबाट फर्कंदा घर जान सक्ने स्थिति थिएन । ट्रकमा लोड भएर आएको कोइला झार्ने काम गर्ने उनको घर सिर्सिया नदीको छेउमै छ । जमिन उनको नाममा छैन । खरिद गर्नका लागि प्रक्रिया शुरु भएको छ ।

‘जमिन आफ्नो नहँुदासम्म पक्का घर बनाउने कुरा पनि भएन । तीन धुर जमिन पास गर्न बाँकी छ,’ उनले भने, ‘वर्षेनी नदीमा बाढी आउँदा घरमा पसेर दुःख पाइन्छ । कतै जाउँ त जाने कहाँ ठाउँ छैन ।’ माइत आएकी एक महिनाकी सुत्केरी छोरीसहित ६ जनाको परिवकार छिमेकीको घरमा बस्न बाध्य भएको उनले सुनाए ।

कृष्णनन्दनको जस्तै बिर्जुल कनु, द्वारिका पण्डित, इन्द्रभूषण उपाध्याय लगायतको फुसको घर डुबानमा परेको छ । कतिपयको पक्का घरमा समेत पानी पसेको छ । वडा कार्यालय, नगरपालिका कार्यालयमा वर्षायाम अगाडि नै पटक–पटक गुनासो गर्दा समेत सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

स्थानीय बलिराम साहका अनुसार पछिल्लो पाँच वर्षयता नदीमा पानी पर्ने बित्तिकै बाढी आउने र घर–घरमा पसेर दुःख दिने गरेको छ । तर दुःख पर्दा कोही पनि हेर्न समेत आउँदैनन् ।

‘नदी पारि र वारि दुवैतिर पानी बस्तीतिर पस्न थालेको छ,’ उनले भने, ‘तर समस्या समाधानका लागि कसैले चासो दिएका छैनन्, जनप्रतिनिधिहरु त भोट माग्ने बेलामा मात्रै गाउँमा आउने गरेका छन् ।’

सिर्सियाको बाढी नदी सतहभन्दा माथि पुगेकाले रामगढवा, रानीघाट क्षेत्रका नदी छेउका बस्तीमा जताततै पानी नै पानी भएको छ । खोलामा जाली हानेर मानिसहरु माछा मारिरहेको दृश्य देखिन्छ ।

वडाध्यक्ष दशरथ पटेल सिर्सिया नदीमा आउने बाढीले निम्त्याउने डुबान समस्या समाधानका लागि वडाको मात्रै बजेटले नपुग्ने बताउँछन् ।

‘जग्गा प्लटिङ गरेर बनाइएका नयाँ बस्तीहरु वर्षेनी डुबानमा पर्ने गरेका छन् ।  वडाको बजेटले मात्रै केही गर्न सकिन्न,’ उनले भने, ‘महानगरपालिकालाई नदी नियन्त्रण गर्न भन्दा भन्दा थाकिसकेका छौं ।’

सिर्सिया नदीको पानी वर्षेनी वीरगञ्ज–११ मा पनि पस्ने गरेको छ । कृषि औजार अनुसन्धान कार्यालय पछाडि रानीघाट झाँझ टोलमा यस वर्ष पनि बाढी पसेको छ । दलित समुदायको बसोबास रहेको उक्त टोलका २० घरपरिवार डुबानका कारण समस्यामा छन् ।

घर डुबेर अन्नपात लत्ता कपडा सबै गुमाएका एक सय जनालाई  श्रीपुर स्कुलमा राखिएको वडाध्यक्ष प्रद्युम्न सेढाईंले जानकारी दिए ।  श्रीपुर स्कुलमा बसेकालाई खाना र अन्य डुबान पीडितलाई चिउरा र सख्खर बाँड्ने तयारी भइरहेको उनले बताए । बाढीको समस्या वर्षेनी आउँदा पनि दिगो समाधानका लागि कुनै कदम नचालिएको स्थानीयको गुनासो छ ।

वडाध्यक्ष सेढाईं सिर्सिया नदीबाट हुने समस्या समाधानका लागि संघीय सरकारले नै चासो दिनुपर्ने बताउँछन् । ‘दलित समुदायले नदी किनारमा घर बनाएर बसेका छन्, नम्बरी जमिनबाट उनीहरुलाई हटाएर अन्यत्र सार्न पनि सकिँदैन,’ उनले भने, ‘नदी नियन्त्रण गर्न सके डुबानको जोखिम कम हुने थियो होला, तर महानगरपालिकाले मात्रै सक्दैन, संघीय सरकारले ध्यान दिनुपर्छ ।’

बाराको रामवन झाडी मुहान भएको सिर्सिया नदीमा जंगल क्षेत्रतिरबाट समेत वर्षाको पानी बगेर आउँछ । वीरगञ्ज–११, २४ र १ नम्बर वडामा मात्रै होइन, वीरगञ्जको मुख्य बजार क्षेत्र आदर्शनगरमा समेत सिर्सियाको पानी पस्ने गरेको छ ।

नगर प्रमुख विजयकुमार सरावगी सिर्सिया नदी नियन्त्रणका लागि काम गर्नुपर्ने बताउँछन् । ‘हाल साविक गराई नदीको दुवै किनारको जमिन व्यक्तिको नाममा पास गराएर किनबेच भएको छ ।  धेरै पछि पनि जानु पर्दैन सन् २००५ को गुगल नक्सा अनुसार चौडा नदी बनाउनुपर्छ । अर्को भनेको माथि उठेको बेसलाई सफा गर्नुपर्छ,’ उनले भने ।

जग्गा प्लटिङ गरेर नयाँ बस्ती बनाइएका ठाउँको पनि पानी निकासमा समस्या देखिएको भन्दै उनले वीरगञ्जमा वर्षाको पानी निकासका लागि गुरुयोजना नै बनाउन आवश्यक देखिएको बताए ।

वीरगञ्ज–१६ मा ५ घरमा क्षति

गएरातिको भारी वर्षाका कारण आएको बाढीले वीरगञ्ज महानगरपालिका–१६ मा फुसको छाना भएको चारवटा कच्ची घर भत्किएका छन् ।

स्थानीय भुलन राम, गोवर्धन राम, पौडारी देवी र सञ्जय रामको घर भत्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा कटान र डुबानको समस्या

पकाहामैनपुर गाउँपालिका–४ स्थित प्रहरी चौकी खेस्राहामा पानी पसेकाले स्थानीय हरिहर निम्न माध्यमिक विद्यालयमा सारेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

पोखरीया नगरपालिका–४ का प्रभु साह कानुको फुसले बनाएको कच्ची घरभित्र पानी पसेर घर पूर्ण रुपमा ढलेको छ । घर ढल्दा २० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । घरका ६ जना सदस्य आफन्तको घरमा शरण लिएर बसेका छन् ।

यस्तै ठोरी गाउँपालिका–४ गोपी बस्तीस्थित हुलाकी सडकखण्डमा ओरिया खोलाले कटान गरेर पिचसम्म आइपुगेकाले सडक जोखिमपूर्ण अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment