
२० असार, काठमाडौं । शनिबार वेस्ट बैंक क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर एक प्यालेस्टाइन युवकको मृत्यु भएको छ ।
गत मे महिनामा युद्धविराम सम्झौतापछि साम्य भएको इजरायल–प्यालेस्टाइन हिंसा पुनः बढेको छ । इजरायलको सेनाले भने यो घटनालाई प्यालेस्टाइन र यहुदीबीचको ‘हिंस्रक झडप’ भएको बताएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इजरायलको सेनाले भने उक्त झडपमा कसैको मृत्यु भएको पृष्टि गरेको छैन । यद्यपि उसले आफ्ना सेनाले एक संदिग्ध व्यक्तिमाथि गोली चलाएको उल्लेख छ । सैनिकमाथि विष्फोटक पदार्थ फ्याँकेकाले गोली चलाउनुपरेको इजरायली सेनाको दाबी छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार नब्लस सहरमा मोहम्मद फरीद हसन नाम गरेका युवाको इजरायली सेनाले चलाएको गोली लागेर मृत्यु भएको हो । उक्त घटनामा थप दुई जना घाइते भएको मन्त्रालयले बताएको छ । प्यालेस्टायनको आधिकारिक समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले गोली चलाउँदा हसन आफ्नै घरको छतमा थिए ।
इजरायलको सेनाले भने नब्लसको दक्षिणी क्षेत्र कुसरा गाउँमा प्यालेस्टाइन र इजरायली नागरिकबीच झडप भएको बताएको छ । उक्त झडप रोक्न आवश्यक कदम चाल्दै दुवै पक्षलाई छुट्याइएको इजरायली सेनाको दाबी छ ।
–एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4