Comments Add Comment

एसईईपश्चात् कुन विषय र कस्तो ‘प्लस टु’ छान्‍ने

यतिबेला एसईई दिइसकेका विद्यार्थी र अभिभावकहरूलाई कक्षा ११ मा कुन विषय पढ्ने र पढाउने भन्ने निक्र्योल गर्न सकस परिरहेको छ । अर्कोतिर देशभरि कक्षा १२ सम्म सञ्चालनमा रहेका ४ हजार १०५ विद्यालयमध्ये कुनमा भर्ना गर्ने भन्नेमा अभिभावकहरू द्विविधामा हुनुहुन्छ । द्विविधा हुनु पनि स्वाभाविकै हो किनकि निजीस्तरमा सञ्चालनमा रहेका विद्यालयले गर्ने विज्ञापन, सुविधा तथा गुणस्तरीयतादेखि भवन देखाउने होडबाजी चलिरहेको छ ।

काठमाडौंमा सञ्चालित एक विद्यालयले कक्षा ११ मा छात्रवृत्ति दिएर थोरै शुल्कमा पढाउने प्रतिबद्धतासाथ भर्ना गरेको विद्यार्थीको कक्षा १२ उत्तीर्ण गरिसक्दाको अनुभव हदै तीतो छ किनकि कक्षा १२ मा छात्रवृत्ति दिन सक्दिनँ भनेर थुपै्र शीर्षकमा पैसा असुल गरेर लुटेको भोगाइ छ । गत वर्ष लकडाउनपछि कक्षा १२ को बोर्ड परीक्षाको प्रवेश पत्र लिन जाँदा सोचेभन्दा धेरै शुल्क आएकोमा विद्यार्थीले विद्यालय तोडफोड गरेको त एक प्रतिनिधि घटना मात्र हो ।

कक्षा ११ मा भर्ना गर्दा विद्यार्थी र अभिभावकको सबै पीरमर्का बुझेर सहयोग गरे जस्तो गर्ने तर एक वर्ष पछि बेग्लै व्यवहार गर्नेको यहाँ बिगबिगी नै छ । तसर्थ समयमै सही निर्णय लिन सकिएन भने पछि पछुताउने बाहेक अरू विकल्प केही छैन ।

विषय छनोट कसरी गर्ने त ?

सर्वप्रथम हरेक विद्यार्थी तथा अभिभावकले पर्याप्त मात्रामा सूचना संकलन गर्नुपर्दछ । सूचना संकलन गर्दा बजारमा कुन विषयको स्कोप तथा समयसापेक्षित छ कि छैन राम्रोसँग केलाउनका लागि पर्याप्त तथ्य तथा तथ्याङ्क संकलन गर्नुपर्दछ, जसले निर्णय गर्न सजिलो हुन्छ । सँगसँगै सम्बन्धित क्षेत्रका जानकारहरूसँग छलफल परामर्श गर्नुपर्छ ।

महत्वपूर्ण कुरा विद्यार्थीको रुचि केमा छ र भविष्यमा कुन क्षेत्रमा कार्य गर्ने इच्छा छ त्यसलाई केलाउनुपर्दछ । धेरैजसो अभिभावकले आफूले गर्न नसकेका तर चाहेको क्षेत्र आफ्ना सन्तानले पढिदिउन्, पूरा गरिदिउन् भन्ने लाग्दछ र त्यही अनुसार विषय छान्न प्रेरित गर्ने वा दबाब दिने गर्नुहुन्छ । यस्तो गर्नु सरासर गलत हो । हरेक बालबालिकाका फरक–फरक क्षमता र इच्छा हुन्छ तसर्थ उनीहरूमा हाम्रो इच्छा, चाहना लाद्नुहुँदैन । यदि दबाबमा प्रतिफल खोज्यौं भने प्रतिफल सकारात्मक आउन सक्दैन ।

हाल विद्यालयमा सञ्चालनमा रहेका हरेक विषयको आफ्नै क्षेत्र र परिवेश छ । कुनै पनि विषय राम्रो र नराम्रो भन्ने हुँदैन, मात्र विद्यार्थी कुन विषयमा उत्कृष्ट बन्न सक्दछ र जसले उसको भविष्य निर्माण गर्दछ, त्यही विषय उसको लागि उपयुक्त हो । कुनै पनि विषय छनोटले मात्र भविष्य राम्रो बनाउने होइन, भविष्य उज्ज्वल बनाउन त उक्त विषयमा उत्कृष्ट तथा अब्बल बन्न सक्नुपर्छ ।

कतिपय विद्यार्थी र अभिभावकलाई हाल सञ्चालनमा रहेका सम्पूर्ण विषयको बारेमा जानकारी नहुँदा निर्णय सही नहुन सक्दछ तसर्थ हतार नगरी सम्पूर्ण विषयको जानकारी लिएर मात्र अगाडि बढ्नुपर्दछ । आजभोलि सूचना संकलन गर्न त्यति गाह्रो पनि छैन ।

कसरी छनोट गर्ने त विश्वसनीय र गुणस्तरीय विद्यालय

प्रतिस्पर्धात्मक समाजमा हरेक क्षेत्रमा प्रतिस्पर्धा भइनै राखेको छ जसबाट निजी क्षेत्रका शैक्षिक संस्थाहरू अछुतो रहन सक्दैनन् । भर्नाको समयमा मूलतः कक्षा ११ मा आफ्नो विद्यालयमा तान्नका लागि जुनसुकै हत्कण्डा अपनाउन पनि पछि पर्दैनन्, केही विद्यालयहरू शायद उनीहरूलाई आफूले दिएको शैक्षिक गुणस्तरमा आफैंमाथि विश्वास नभएर नै होला । तसर्थ विद्यार्थी तथा अभिभावकले सस्तो लोकप्रिय नारामा लोभिएर शिक्षा जस्तो भविष्य निर्माण गर्ने कुरामा खेलबाड नगरौं ।

शतप्रतिशत छात्रवृत्ति दिनेदेखि ठूला ठूला व्यापारिक भवन, लिफ्टदेखि थुप्रै सेलिबे्रटीको आडमा कक्षा ११ मा भर्ना गर्न त ती विद्यालयहरू सफल हुन्छन् तर विचरा अभिभावक कक्षा १२ मा गइसकेपश्चात् विभिन्न बहानामा लिने शुल्कले गर्दा पीडित हुन्छन् भने विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँदैनन् । उल्टो डीआई (डिसिप्लिनरी इन्चार्ज)ले दिने मानसिक तथा शारीरिक तनावबाट गुज्रिनुपर्दछ ।

१. प्रत्येक विद्यार्थी र अभिभावकले छनोट गर्न चाहेको विद्यालयको कम्तीमा पछिल्लो तीनदेखि पाँच वर्षको शैक्षिक अवस्था र उक्त संस्थाको प्रत्येक वर्षको नतिजाको लेखाजोखा गर्न नितान्त आवश्यक छ ।

२. भर्ना गर्नुभन्दा अगाडि विद्यालयका सञ्चालक शैक्षिक क्षेत्रमा आवद्ध शिक्षाकर्मी हुन् वा होइनन् भन्ने कुराको ख्याल गर्नुपर्दछ । राजनीतिक संरक्षण पाएका शैक्षिक माफिया अथवा शिक्षाको मर्म र भाव नबुझेका सञ्चालक छन् भने होशियार रहनुपर्दछ ।

३. विद्यालय सञ्चालन गर्ने तौरतरिका कस्तो छ । डीआईका नाममा बाउन्सर राखेर विद्यार्थीलाई तर्साएर मानसिक तथा शारीरिक तनावमा राखेर भयभीत वातावरणमा सञ्चालित छ कि ? विद्यालयमा निरन्तर रूपमा काउन्सिलिङ, मोटिभेसन तथा विद्यार्थीको साथी बनेर आफू सँगसँगै विद्यार्थीलाई पढ्ने पढाउने शिक्षकको समूह छ कि छैन त्यो पनि विचार पुर्‍याउनुपर्दछ ।

४. विद्यालयमा पढाउने मात्र हुन्छ कि सिकाउने काम पनि गरिन्छ, जानकारी राख्नुपर्दछ । अर्थात् कक्षा १२ उत्तीर्ण गरिसकेपछि बजारमा आफूलाई प्रतिस्पर्धी बनाउन सक्ने, आत्मनिर्भर र एक असल नागरिक बनाउने वातावरण सिर्जना गरी पठनपाठनलाई अगाडि बढाइएको छ कि छैन त्यो पनि हेक्का राख्नुपर्दछ ।

५. प्रत्येक विद्यार्थीलाई इन्डिभिजुयल केयर छ कि छैन भन्ने विषय उक्त विद्यालयबाट पढिसकेका विद्यार्थीबाट जानकारी लिनु राम्रो हुन्छ । आफैंमा अब्बल र गड गिफ्टेड विद्यार्थी पढाएर राम्रो नतिजा ल्याउने विद्यालयको पछिलाग्नु हुँदैन किनकि विद्यालयको लागि तपाईंको नानीबाबु हजारौंमध्ये एक हो तर तपाईंका लागि ऊ सबथोक हो तसर्थ बजारको होडबाजी र भीडभाडको पछि लाग्नुहुँदैन ।

६. विद्यालय छनोट गर्दा झूटा आश्वासनको पछि कहिल्यै नलाग्नुहोस् । सबै कुरा तथ्य र तथ्यांकमा खोज्ने गरौं । प्राप्त सूचनालाई भेरिफाई तथा रि–भेरिफाई गरौं ।

७. कक्षा ९ देखि १२ सम्मको शिक्षालाई माध्यमिक विद्यालयको शिक्षाको रूपमा रूपान्तरण भइसकेको अवस्थामा यदि आवश्यक पूर्वाधार र सक्षम जनशक्ति छ भने कक्षा १२ सम्म सम्बन्धित विद्यालयमा नै कक्षा १२ सम्म पढ्न उपयुक्त हुन्छ । अबको माध्यमिक शिक्षामा कम्तीमा कक्षा १ देखि ८ सम्म र ९ देखि १२ सम्म एउटै विद्यालयमा पढ्दा विद्यार्थीको लागि सहज वातावरण हुन्छ ।

८. आवश्यक पूर्वाधार र सक्षम जनशक्ति सहितको समयसापेक्षित रिजनेवल शुल्कमा पढाउने विद्यालय छनोट गर्नुपर्दछ । न कि गगनचुम्बी भवन, लिफ्ट लगायत पढाइसँग सरोकार नभएका पूर्वाधारसँग झुक्किएर अनावश्यक शुल्कको भारमा पर्नुहुँदैन ।

९. विद्यार्थी भाइबहिनीले फलानो कलेजको युनिफर्म मलाई मन पर्छ त्यसैले त्यही विद्यालयमा पढ्छु भन्ने पनि यदाकदा सुनिनमा आउँछ । यसरी कलेज छान्नेहरू उक्त कलेज छाडेर पछि अर्को शैक्षिक संस्थामा अध्ययन गर्न पुगेको पनि देख्ने गरिन्छ । तसर्थ विद्यार्थी भाइबहिनीले साथीहरूको लहलहैमा लागेर केही बुझ्दै नबुझी विद्यालय छनोट गर्नु उपयुक्त हुँदैन ।

(जोशी आदर्श विद्या सदन, ग्वार्को ललितपुरका प्रधानाध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment