Comments Add Comment

बिहेको कुरा : सम्पत्तिको लोभले निम्त्याउने संकट

फाइल तस्वीर

असार महीना चलिरहेछ । धेरै प्रेमिल जोडीहरू विवाहबन्धनमा बाँधिने क्रम जारी छ । विवाहलाई एउटा आदर्श बन्धन मानिन्छ तर पनि एउटा देखासिकी भनौं कि के केटीहरूले केटा खोज्दा हुनेखाने र धनसम्पत्ति भएकै खोज्ने चलन छ । मागी विवाह हो भने त केटाको घरजग्गा सबै तौलिएरै प्रस्ताव लैजाने गरिन्छ । कतै आफ्नी छोरी बिहे गरेर गएपछि दुःख नपाओस् भनेर पनि होला । बसी–बसी खान पुगोस् भनेर पनि होला ।

केटीहरू आफैंले केटाहरू रोजेर प्रेम विवाह गर्दा समेत आफूभन्दा बढी कमाउने केटा नै मुख्य रोजाइमा पार्छन् । अचम्म त के भने केटीहरू आफ्नै कमाइ र योग्यतामा शंका गरिरहन्छन् र लोग्नेसँग परनिर्भर भएर बाँच्न पाइयोस् भन्ने भित्री चाहना राख्दछन् । शायद, यसले पनि लैङ्गिक समानताको दृष्टिकोणमा असर पुर्‍याएको छ । र, श्रीमती भन्दा श्रीमान् जहिले पनि श्रेष्ठ र अग्रज हुन्छन् भन्ने पितृसत्ताको मानसिकतालाई जोड पुर्‍याइरहेको छ ।

मेरो नजिककै छिमेकमा एकजना दाज्यैले बिहे गरेर योग्यताले भरिपूर्ण पीएचडी होल्डर भाउजू ल्याउनुभयो । दाज्यै चाहिं कुलघरानाको काठमाडौंमा घरजग्गा भएको न्यूरोडको पसल सम्हाल्ने व्यापारिक मान्छे हुन् । उनलाई पैसाकै हरहिसाब गर्दा फुर्सत हुँदैन । घरव्यवहार सम्हाल्ने त परकै कुरा हो । र बिहेपछि सबै घरव्यवहार भाउजूको हातमा आइलाग्यो । त्यसपछि भाउजूलाई बाध्यता वा करकापले भनौं आफ्नो डिग्रीले पाएको उच्च तलब भएको जागीर छोड्नुपर्‍यो ।

भाउजूले आफ्नो जीवनको सुनौलो घडीलाई उपयोग गरेर हासिल गरेको ज्ञानको उचित प्रयोग गर्न सक्नुभएन । यदाकदा म दाजुको घरमा जाँदा भाउजू घरायसी धन्दामा व्यस्त र फ्रस्टेड भएको देख्छु । मुहारमा प्राकृतिक तवरको खुशी झल्किएको पाउँदिनँ । व्यापारिक गेट–टुगेदरहरू घरमा नै आयोजित हुँदा एउटा हाउस सर्भेन्ट जस्तै भएर भाउजू खटिनुहुन्छ । अनि दाज्यै एउटा महाराज जस्तै आदेश दिन्छन् । आखिर यो शृंखला भाउजूले जहिलेसम्म सहनुहुन्छ तहिलेसम्म कायम रहन्छ ।

र, बिहे गर्दा नै घरपरिवारले राम्ररी नसोच्दाको दुष्परिणाम समेत भाउजूले अहिले भोगिरहनुभएको छ । बालबच्चा, सासूससुरा र घरधन्दा सबै हेर्ने जिम्मा दुवै श्रीमान् श्रीमतीको हुन्छ । चाहे श्रीमान् जति नै व्यस्त र कमाउने किन नहोस् तर धनी परिवारमा बिहे गर्दा बसी–बसी खान पाउने लोभले ल्याएको असमान नतिजा हो यो ।
यो त मैले देखेको एउटा उदाहरण मात्र हो हरेक टोलटोलमा यस्ता कहानीहरू धेरै छन् तर गुपचुप छन् । त्यसैले पनि बिहे गर्दा धनको धाक–रवाफ र देखावटी होइन आफ्नो काबूले भ्याउने योग्य र समान आम्दानीको केटा रोज्नुपर्छ ।

मेरो एकजना साथीको आफ्नै सहोदर दाजु छन् । तिनै दाजुको सुखी र खुशी परिवारको बारेमा मलाई बेलाबेलामा सुनाइरहन मन लाग्छ । ती दाजु स्कूलमा पढाउने काम गर्छन् । ट्युशनहरू पढाएर महीनामा आफ्नो घरधन्दा चलाउन सक्छन् । केही वर्षअघि ती दाजुले सरकारी उपसचिव केटी बिहे गर्नुभयो । सानो फ्ल्याट लिएर काठमाडौंमा बसिरहेको छ यो परिवार ।

निकट भविष्यमा घर बनाउने योजना पनि बिस्तारै जोड्दैछन् । श्रीमती बिहानै अफिसका लागि जान्छिन् अनि श्रीमान् घरको धन्दा भ्याएर नजिकैको स्कूलमा पढाउन जान्छन् । चाँडै स्कूल विदा हुँदा घर आएर श्रीमतीको काममा पनि सघाउँछन् । फुर्सत मिल्दा पालैपिच्छे गाउँमा बुवाआमालाई भेट्न जान्छन् । सम्बन्ध सुमधुर हुँदै गएको छ । पैसा कमाउनुपर्छ भन्ने पनि छ तर त्यति धेरै धनको मोहनीमा जीवनलाई दुःखी तुल्याउन उनीहरू कदापि राजी छैनन् ।

श्रीमान् भन्दा श्रीमती बढी कमाउने, बढी योग्यताकै भएर नै के भयो र ? आखिर घर उन्नतिको पथमा लागेकै छ । देख्ने छरछिमेक नातागोताले ती दाजुको खिसिट्युरी गर्छन् ‘श्रीमान् भएर पनि श्रीमतीको धन्दा सम्हालेको भन्दै’ । भन्नेका मुख थुन्न नसके पनि काममा अघि बढेर दाजुले देखाएकै छन् । यो पनि अर्को उदाहरण हुन सक्छ सम्बन्धमा सुधार गर्न र नवयुग ल्याउन चहानेका लागि ।

कुनै किताबहरू पढेर वा घोकेर सम्बन्ध सुधार गर्ने फर्मूलाहरू झिकाउन त सकिंदैन । तर अलि अलि देश काल र परिस्थिति बुझ्दा आधुनिकतासँगै झाँगिएको महत्वाकांक्षामा चल्नाले समाज बिग्रिएको छ । अचेलका प्राय: केटीहरूलाई भातको स्वाद पनि फरक-फरक चाहिन्छ । ऐना हेरिराख्नुपर्छ ।

विवाह एउटा सत्य, सौन्दर्य र हृदयस्पर्शिताको संगम हो । यसमा विस्तारै व्यावहारिकपन र सिर्जनशील आयाम पनि जोडिंदै जान्छन् । विवाहपछिका दिनमा समानताका लयहरू उस्तै किसिमले मिलाप गर्न सकेनौं भने सौन्दर्यको रुपरेखा नै भताभुङ्ग हुनसक्छ ।

लुगाहरू फेरी–फेरी लगाउनुपर्छ । बिहे गरेर जाने घर दरबार जत्रो चाहिन्छ । पैतालाले हिंड्नै नपरोस् जस्तो । निजी कारले दैलोमा नै पुर्‍याओस् । अरु साथी सँगीलाई देखाउँदा पनि इज्जतिलो होस् । यस्तै यस्तै मनोभावनाको फूर्तिमा गाँसिएका हुन्छन् अचेलका अधिकांश केटीहरू । र त सुनको पिंजडा भित्र संकुचित भएर जीवन बाँच्न विवश हुन्छन् ।

अफसोस ! नदेखेकै झिलिमिली र सुन्दर सपनाको पोषणका निम्ति लालायित हुन्छन् अचेलका प्राय: नवयुवतीहरू । अस्पष्ट हुन्छन् भविष्यहरू तैपनि आफूभन्दा धनी र भव्य घर भएको वा पीआर होल्डर नै रोज्छन् । पीआरले जिन्दगी सिंगार्छ वा बिगार्छ उनीहरूलाई पत्तो हुँदैन । तर पीआर जीवनदाता नै हो जसरी मरिमेट्छन् । विदेशमा गएर यहाँ क्षतिग्रस्त भएको जिन्दगी सप्रिन्छ झैं योग्यता भन्दा पनि सम्पन्नताको पगरी पहिरिन हतार गर्छन् ।

उमेरको त आकाश–पाताल नै फरक पार्दिन्छन् । शायद कुन लहरको जादूमा मिश्रित छन् यी देखासिकीहरू छुट्याउनै गाह्रो पर्छ । ‘धत्, नेपालमा पनि कोही बस्छ’ भन्दै अनेकौं असन्तोष व्यक्त गर्दै पीआर होल्डरसँग साइनो गाँसेर डिपेन्डेन्टमा जानेहरू पनि धेरैपछि पछुताएका छन् । दृष्टिकोणको भेद र प्रभावको कसीका कारण बिहेमा भित्रिएका अनेकौं विसंगतिका कारण भोलिका दिनमा झन् नारी चेतना खस्किंदै जाने अवस्था देखिन्छ ।

विवाह एउटा सत्य, सौन्दर्य र हृदयस्पर्शिताको संगम हो । यसमा विस्तारै व्यावहारिकपन र सिर्जनशील आयाम पनि जोडिंदै जान्छन् । विवाहपछिका दिनमा समानताका लयहरू उस्तै किसिमले मिलाप गर्न सकेनौं भने सौन्दर्यको रुपरेखा नै भताभुङ्ग हुनसक्छ । कति कुराहरू हुन्छन् जो श्रीमतीले नभन्दैमा पनि श्रीमानले बुझ्नुपर्ने हुन्छ । त्यो भनेको श्रीमती आफ्नो जन्मघरमा जस्तै कर्मघरमा समेत खोज्ने स्वच्छन्द व्यवहार हो । आफ्नो योग्यता पस्किन पाउने अधिकारको खोजी हो । यसमै श्रीमानहरू अकमक्क परे भने सम्बन्धले उडान भर्न सक्दैन ।

त्यसैले पनि आफ्नो कल्पना र इच्छाशक्तिसँग मेल खाने घर र श्रीमानको रोजाइमा केटीहरू सधैं चनाखो हुनुपर्छ । आकर्षण र धनसम्पत्ति मात्र आवश्यक गुणहरू होइनन् । आफ्नो दिव्य आभास हुने गरी अनवरत पाइने सच्चाइ र साथ पनि केन्द्रमा पार्नुपर्छ । यसका लागि खोजिने केटा आफूभन्दा कम पढेको वा कम कमाउने वा कम धन सम्पत्ति नै भएको किन नहोस् तर विवाह गरेर गइसकेपछि केटीको उड्ने पखेटा काटिनुभएन ।

सम्बन्ध कलात्मक र दिगो बनाउन जिन्दगीमा आइपर्ने सबैभन्दा सुन्दर र असुन्दर भावहरूका बीच पनि तालमेल आवश्यक छ । त्यो भनेकै एकापसको समझदारी र स्वीकारोक्ति हो । आखिर एउटै भकारीमा ल्याएर थुपार्नु छ भने श्रीमतीले धेरै कमाई र मैले थोरै कमाएँ भनेर श्रीमानहरूले लघुताभास राख्नुपर्ने जरुरी नै छैन ।

तराजुको काँटा मिलाउन बरु श्रीमतीलाई घरका कामहरूमा मज्जाले सघाउन सकिन्छ । तब त कर्तव्य र दायित्वको भावले परिवारमा आनन्द ल्याउँछ । त्यसैले, बेलैमा सोचौं ठूलो घर, ठूलो सम्पत्ति, ठूलो कमाइ होइन मन मिल्ने योग्य वरको खोजी गरौं । अरुले देख्दा तपाईंको जीवन जस्तोसुकै होस् तर नारकीय र यान्त्रिक घरायसी बन्धनबाट तपाईंले छुट्कारा पक्कै पाउनुहुनेछ । त्यही नै हृदय छुने सम्बन्धको आविष्कार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment