Comments Add Comment
पुस्तक समीक्षा :

वैदेशिक रोजगारीको फरक आयाम

नेपालीको हकमा वैदेशिक रोजगारीको कथा सदियौं पुरानो छ । लाहोरमा काम गर्न जानेलाई शुरुमा ‘लाहोरे’ भनिन्थ्यो । त्यही लाहोरे अपभ्रंश हुँदै लाहुरे भएको भन्ने मासाहितन्यता छ । यसलाई विश्वास गर्ने हो भने पनि लाहुरेको रूपमा नेपालीले वैदेशिक रोजगारीमा जान थालेको दुई शताब्दी भइसकेको छ । धेरैजसो गाँस, बास, कपासको जोहो गर्ने ध्याउन्नमा त केही उन्नत जीवनको आशमा वैदेशिक रोजगारीमा गइरहेका हुन्छन् ।

लामो समय वैदेशिक रोजगारीमा विताएका लेखक बीएन जोशीले आफ्ना जीवन भोगाइलाई संस्मरणका रूपमा बजारमा ल्याएका छन्, ‘श्रमाटन’ । श्रमाटनलाई दुई भागमा प्रस्तुत गरिएको छ । पहिलो भाग- पुनर्जीवन र दोस्रो भाग- सफर ।

पुनर्जीवन खण्डमा सन् १९९८ मा किशोरवयमै वैदेशिक रोजगारीका लागि थाइल्यान्ड, मलेशिया हुँदै सिङ्गापुर जान लागेको घटनाहरूलाई र सफरमा अन्य देशहरूमा गएको विषयलाई खासगरी मूल ‘श्रमाटन’को विषय बनाइएको छ ।

पढ्दै जाँदा यी संस्मरणहरू घटना कम र आख्यान ज्यादा लाग्नेछन् । किनकि मलेशिया जानलाई कुनै बेला त्यस्तो दुःख व्यहोर्नुपर्छ भन्ने आम पाठकलाई थाहा नहुन सक्छ ।
किशोरावस्थामा भिजिट भिसामा थाइल्यान्ड पुगेका र त्यहाँबाट मलेशिया जान लेखक बीएन जोशी लगायतका युवाले गरेको प्रयत्न र दुःख कहालीलाग्दो छ । वर्तमानमा जीवनलाई जोखिममा राखेर सुदूर भविष्यको सुन्दर सपनाको कल्पना गर्न कति कठिन छ भन्ने कुरा श्रमाटनमा चित्रण गरिएको छ ।

आफ्नै देशभित्र स्वतन्त्र रूपमा रमाइरहेका किशोरहरू परदेशमा पुग्नासाथ सहाराविहीन बनेको र मृत्युसँग नजिकैबाट पौंठेजोरी गरेको यथार्थ साँच्चिकै भयानक छ ।
श्रमाटनमा नेपाली युवाहरूले तत्कालीन समयमा विदेश जानलाई गरेको मिहिनेतलाई मात्र चित्रण गरिएको छैन, सबै देशका कतिपय पुलिस कतिसम्म भ्रष्ट र कमिसनखोर हुन्छन् भन्ने कुरालाई पनि यहाँ चित्रण गरिएको छ ।

लुकाएर राखेको केही डलर जसरी पनि निर्दयताका साथ पुलिसले लिएको प्रसङ्गले मनै खिन्न बनाउँछ । कति दिन पानी मात्रै खाएर, कति दिन एकसरो लुगा मात्रै लगाएर यात्रारत अवस्थामा कसैले गरेको ससानो सहयोगले पनि महत्त्वपूर्ण अर्थ राख्छ भन्ने कुरालाई पनि यहाँ प्रस्तुत गरिएको छ ।

जहाँ पनि नेपालीले समस्यामा परेका नेपालीलाई नै कसरी लुट्छन्, फसाउँछन् भन्ने कुरालाई पनि यहाँ प्रस्तुत गरिएको छ । कतिपय घटनाले मुटु नै कपाउँछन् । कति घटनाले हसाउँछन् तर तिनमा गहिरो पीडा लुकेको छ ।

वर्तमानमा कति नेपाली वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर छन् त ? यसको जवाफ सरकार र उसको कुनै सम्बन्धित निकायसँग छैन । शायद सरकारले यसको उत्तर खोज्ने जमर्को पनि गर्दैन । सरकार त बसीबसी रेमिट्यान्स गन्छ । यसैलाई आधार मानेर बजेट बनाउँछ । कहाँकहाँ युवालाई वैदेशिक रोजगारीमा पठाउन सकिन्छ, हेर्दै बस्छ ।

मान्छे धनी होला, गरीब होला तर सपना धनी र गरीब हुँदैन । उडान पनि धनी र गरीब हुँदैन । मान्छे राम्रो होला, नराम्रो होला तर जीवनको कल्पना नराम्रो हुँदैन । सुन्दर जीवनकै कल्पना हुन्छ । तर यो देश शासकहरूका लागि स्वर्ग छ । मुठ्ठीभर मान्छेका लागि यही युरोप हो । अमेरिका यही हो र स्वर्ग पनि यही हो

तर उनीहरूको दुःखमा साथी बन्दैन । सहयात्री बन्दैन । सहयोगी बन्दैन । वैदेशिक रोजगारीमा जाने युवाले सरकारलाई अहिलेसम्म आफ्नो अभिभावकको रूपमा हेर्न पाएका छैनन् । पलपल मृत्युलाई हेर्दै बैंसको समय वैदेशिक रोजगारीमा बिताउनुपर्ने अवस्थाको सृजना सदियौंदेखि हालसम्म रहनु अत्यन्तै दुःखद छ ।

किताबले यो भयानक अवस्थालाई सुन्दर तरिकाले उजागर गरेको छ ।

श्रमाटनको दोस्रो खण्ड सफरबाट शुरु हुन्छ । यसमा आउट जेल, सुकुटी, उड्दाउड्दै उड्यो डेढ लाख, डिना सुलोभा, गडबडे गोविन्द हुँदै सुदूर सुस्केरामा आएर सकिएको छ । बाल्यकालको संस्मरण स्वरुप ‘त्यो भिर्ने झोला’ बाट किताबको आरम्भ भएको छ । आरम्भमा बाल्यकालीन तमाम सपनाहरूको संस्मरणबाट शुरु भएको यो किताबको समापन भने गडबडे गोविन्दको अन्त्यसँगै भएको छ ।

मान्छे धनी होला, गरीब होला तर सपना धनी र गरीब हुँदैन । उडान पनि धनी र गरीब हुँदैन । मान्छे राम्रो होला, नराम्रो होला तर जीवनको कल्पना नराम्रो हुँदैन । सुन्दर जीवनकै कल्पना हुन्छ । तर यो देश शासकहरूका लागि स्वर्ग छ । मुठ्ठीभरका मान्छेका लागि यही युरोप हो । अमेरिका यही हो र स्वर्ग पनि यही हो ।

तर अधिकांशका लागि, श्रमिकहरूका लागि, गरीबहरूका लागि यो देशमा बोलिदिने कोही छैन । उनीहरूसँग हरेक दिन थप दुःखी हुने, थप गरीब हुने भन्दा अन्य कुनै विकल्प छैन भन्ने विषयलाई पुस्तकले उजागर गरेको छ ।

मनमा काँडा उम्रने घटनालाई समेत सन्तुलित तवरले उठान गरिएको यो पुस्तक पठनीय छ । धेरै नेपालीले भोगेको, अधिकांशले सुनेको वैदेशिक रोजगारीका एउटा फरक आयामलाई स्रष्टा बीएन जोशीले श्रमाटनमा सुन्दर र कलात्मक ढङ्गले उठाएका छन् ।

पुस्तकः श्रमाटन (गैरआख्यान)
प्रकाशक : सांग्रिला बुक्स
मूल्य : ३७५ रुपैयाँ
पृष्ठः : २१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment