Comments Add Comment

कांग्रेस मुख्यालयमा किन भइरहेको छ धर्ना र आमरण अनशन ?

धनुषाको क्रियाशील सदस्यता विवादलाई लिएर आमरण अनशनमा बसेका पूर्वसांसद डा. चन्द्रमोहन यादवसहितका नेताहरु ।

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई  पार्टीका नेताहरुले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्न आग्रह गर्दा उनले जवाफ दिएका थिए, ‘पार्टी कार्यालयमा धर्ना भएकाले बालुवाटारमा राख्न परेको हो । अब त्यस्तो हुँदैन ।’

सोमबार उपसभापति विमलेन्द्र निधिले बालुवाटारमै समायोजन समितिको बैठक राख्न चाहेका थिए । पार्टी कार्यालयमा निधिकै गृहजिल्ला धनुषाका नेता कार्यकर्ताहरु आमरण अनशनमा रहेकाले उनले पार्टी कार्यालयको सट्टा बालुवाटारमा बैठक राख्न चाहेका थिए ।

तर बालुवाटारमा पार्टी बैठक नराख्ने नीति अनुसार वैकल्पिक ठाउँ खोज्न निधिलाई सुझाइएको संस्थापन पक्षका एक नेताले बताए ।

कांग्रेसको १४औं महाधिवेशन नजिकिएसँगै क्रियाशील सदस्यताको विषय पनि पेचिलो बनेको छ । यही विषयलाई लिएर पार्टी मुख्यालय सानेपाको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा छन् । बाराका नेता कार्यकर्ता नौ दिनदेखि धर्नामा छन् । आइतबारदेखि सर्लाहीका पूर्वसांसद सहितका नेता कार्यकर्ताले धर्ना दिएका छन् ।

क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्‍याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’

पूर्वराष्ट्रपतिका छोरा आमरण अनशनमा

धनुषाका कांग्रेस नेता एवं पूर्वसांसद डा. चन्द्रमोहन यादव दुई दिनदेखि आमरण अनशनमा छन् । उनी पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् । उनीसहित महासमिति सदस्य रामपल्टन साह र तरुण दल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक पनि आमरण अनशनमा छन् । धनुषामा मापदण्ड विपरीत क्रियाशील सदस्यता वितरण गरिएको भन्दै त्यसलाई मान्यता नदिन माग गर्दै उनीहरु अनशन बसेका हुन् ।

क्रियाशील सदस्यता छानबिन समितिले काम अन्तिम चरणमा पुर्‍याएका बेला असन्तुष्टिलाई लिएर धर्ना र अनशन बस्नेको संख्या बढ्दै गएको छ । उनीहरु सबैको माग साझा छ, ‘फर्जी क्रियाशील सदस्यता बदर होस् ।’

यादवले भने, ‘नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान, नियमावली एवं केन्द्रीय परिपत्र विपरीत प्रक्रिया मिचेर सदस्यता वितरणमा व्यापक धाँधली भएको छ । यो बदर नभएसम्म हामी अनशन रोक्दैनौं ।’ उनले पार्टीको तहगत निर्णय नगरी एक पक्षीय रुपमा नयाँ क्रियाशील वितरण गरिएको आरोप लगाए ।

‘जिल्ला पार्टी कार्यालय धनुषामा निरन्तर धर्ना बस्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालयमै अनशन बस्न बाध्य भएका हौं,’ उनले थपे ।

अनशन बसेका नेताहरुका अनुसार धनुषा क्षेत्र नम्बर १ मा धेरै विवाद छ । सबैला नगरपालिकाका १३ वटै वडाका साथै धनुषाधाम नगरपालिकाको ३ र ४ नम्बर वडामा नगर सभापति र प्रदेशसभा संयोजकको दस्तखत बिना नै क्रियाशील सदस्यता वितरण गरिएको अनशनरत नेताहरुको भनाइ छ ।

त्यस्तै धनुषाधाम नगरपालिका १, २, ५, ६, ७ र ९ नम्बर वडामा पनि नगर सभापतिको दस्तखत नभएको, धनुषाधाम नगरपालिका वडा नम्बर ८ मा वडा र नगर सभापतिको दस्तखत नभएको, गणेशमान चारनाथ नगरपालिकाका ११ वडामा प्रदेशसभा संयोजकको दस्तखत नभएको उनीहरुको भनाइ छ ।

यस्तै हंसपुर नगरपालिका–८ मा वडाको निर्णय एवं सभापतिको दस्तखत बिना ५१ जनालाई क्रियाशील सदस्यता वितरण गरेको र वडाको सूचीबाट २० जनालाई हटाएको आन्दोलनरत नेताहरुले बताएका छन् । प्रक्रिया मिचेर बुझाइएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।

बाराका नेता कार्यकर्ताको नौ दिनदेखि धर्ना

बारा जिल्लाका नेता एवं पूर्वसांसद रामअयोध्या यादवसहित नेता कार्यकर्ता नौ दिनदेखि पार्टी कार्यालयको मूलढोकामा धर्नामा छन् । उनीहरुको ६ बुँदे मागमध्ये मुख्य माग फर्जी क्रियाशील सदस्यता खारेज हुनुपर्छ भन्ने छ । १३ औं महाधिवेशनमा विवाद भएपछि रोकिएका १६६ जना र सो बराबर थप गरिएका क्रियाशीलको नाम खारेज हुनुपर्ने र मापदण्ड विपरीत बाँडिएको क्रियाशील सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।

‘पार्टी विधि र विधानले चल्ने हो । बारा जिल्ला कार्यसमितिले न विधि र विधानलाई मानेको छ, न केन्द्रीय परिपत्र अनुसार काम गरेको छ,’ पूर्वसांसद यादवले भने, ‘वडा सभापतिको हस्ताक्षरबिना नै शतप्रतिशत मात्रै होइन कि चार सय प्रतिशतसम्म पनि नयाँ क्रियाशील भरिएको छ । फर्जी तरिकाले भरिएका सबै क्रियाशील सदस्यता खारेज हुनुपर्दछ । नत्र हामी पनि आमरण अनशन गर्न बाध्य हुन्छौं ।’

उनका अनुसार बारा क्षेत्र नम्बर १, २ र ४ मा बढी विवाद छ । ‘जिल्लाभर झण्डै दुई हजार भन्दा बढी क्रियाशील सदस्यता फर्जी छ,’ उनले भने, ‘यसले गर्दा पुराना कांग्रेस अल्पमतमा पर्ने अवस्था आयो ।’

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य एवं बारा क्षेत्र नम्बर ४ का नेता नवराज त्रिपाठीले वडा कमिटीको सिफारिस नभएकाको क्रियाशील सदस्यता खारेज गरे समस्या समाधान हुने बताए । ‘सहमतिका लागि केन्द्रीय नेताहरुसँग छलफल भइरहेको छ । वडाबाट सिफारिस भएकालाई क्रियाशील सदस्यता उपलब्ध गराऔं र वडाकै सिफारिसमा वितरण गरौं,’ उनले भने, ‘त्यसो भयो भने समस्या सुल्झन्छ ।’

सर्लाहीमा पनि उस्तै विवाद

सर्लाहीको क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वजिल्ला सभापति एवं पूर्वसांसद लक्ष्मण रायसहित नेताहरु ६ बुँदे मागसहित धर्नामा छन् । वडामा आफूखुशी क्रियाशील वितरण गरिएकाले विरोधमा उत्रिनुपरेको रायले बताए । उनले कतिपय वडामा आफू पक्षीय वडा कमिटी बनाएर क्रियाशील सदस्यता बाँड्ने काम भएको बताए ।

‘पार्टी प्रवेशको हकमा विजयकुमार गच्छदारबाहेक अरुलाई नयाँ क्रियाशील सदस्य भर्नुपर्ने पार्टीको केन्द्रीय निर्देशन हो । तर सर्लाहीमा त्यस्तो नगरी गच्छदार समूहको नाममा अरुलाई नै सिधै नवीकरण गर्ने काम भएको छ,’ उनले भने, ‘तीन हजारभन्दा बढी अन्य पार्टीबाट आएका व्यक्तिको नाममा क्रियाशील सदस्यता बाँड्ने काम भयो । यो त सरासर पार्टी कब्जा गर्ने काम भयो ।’

१३औं लाई मान्यता तर नयाँ खारेजी

छानबिन समितिका अनुसार ७५ वटा जिल्लाको क्रियाशील सदस्यता छानबिनको काम सकिएको छ । अब बारा र सप्तरीको सदस्यता छानबिनको काम बाँकी छ । समितिले सबैभन्दा बढी विवादित चार जिल्लामा बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवालाई राखेको छ ।

यी चार जिल्लामा नयाँ र समायोजनका नाममा विवाद बढी देखिएकाले १३ औं महाधिवेशनमा सहभागी क्रियाशील सदस्यलाई मान्यता दिने गरी सहमतिको प्रयास गरिएको छ । सर्लाहीका पूर्वसभापति लक्ष्मण राय पनि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने र नयाँको खारेज गर्नुपर्ने बताउँछन् । ‘अहिले थप गरिएका नयाँलाई बदर गरेर १३औं मा जान हामी तयार छौं । तर अहिले थप भएकालाई १५औं मा मान्यता दिने गरी पुरानैबाट महाधिवेशन गर्दा साथीहरुमाथि अन्याय हुन्छ,’ उनले भने, नयाँको हकमा विधानअनुसार क्रियाशील सदस्यता वितरण हुनुपर्दछ ।’

क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले आन्दोलनरत पक्षसँग सहमतिको प्रयास भइरहेको बताए । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका तय भएको छ ।

स्थानीयस्तरमा अधिवेशन भने १२ साउनदेखि शुरु हुँदैछ । क्रियाशील सदस्यताको काम सम्पन्न नभएकाले स्थानीय अधिवेशनको मिति केही पर धकेलिने नेताहरुले बताएका छन्, तर औपचारिक निर्णय भने भइसकेको छैन ।

महाधिवेशनका लागि कांग्रेसमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील मतदाताले वडा नेतृत्वका साथै क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्षेत्रीय प्रतिनिधिले पालिका, क्षेत्र र जिल्ला नेतृत्व चयन गर्नुका साथै प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment