+
+
टिप्पणी :

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ साउन १३ गते २०:४०

१३ साउन, काठमाडौं । कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । यस्तो नारा लगाउने कति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनुपर्‍यो ।

अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौं । यो व्यवस्थामा राजतन्त्र र जनमत सङ्ग्रहको नारा लगाउनेहरुलाई आतंककारी घोषणा गरिँदैन, जेलनेल बस्नुपर्दैन र जीवन गुमाउनु पर्दैन ।

झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।

सम्भवतः लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । जस्तो कि राप्रपाले राजासहितको राजनीतिक व्यवस्थाको लागि खुलारुपमा कार्यक्रम गर्न पाइरहेको छ, शशांक कोइरालाहरु धर्म सापेक्षताको नारा लगाउन पाइरहेका छन् । रवीन्द्र मिश्रहरु धर्म सापेक्षता र एकात्मक राज्य प्रणालीको पक्षमा जनमत सङ्ग्रहको माग गर्न पाइरहेका छन् ।

यसअघि साझा विवेकशील पार्टीका अध्यक्ष मिश्रले संकेत मात्रै गरे पनि अहिले भने खुलम्खुल्लारुपमा संघीयताको खारेजी र धर्मनिरपेक्षताको मुद्दामा जनमत सङ्ग्रहको प्रस्ताव अगाडि सारेका हुन् । उनले घुमाउरो गरी राजाको स्वीकार्यता बढिरहेको पनि तर्क गरेका छन् । जबकि उनकै पार्टीले संविधानवाद स्वीकार्छ । नेपालको संविधानले धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता जस्ता प्रणालीलाई आफ्नो प्रस्तावनामै समेटेको छ ।

मिश्रको प्रश्न मिश्रलाई

मानिसहरूले पर्याप्त आशंका गरेपछि मिश्रले बेलाबेलामा अहिलेको व्यवस्थाप्रतिको प्रतिवद्धता सार्वजनिक रुपमा व्यक्त गर्दै आएका थिए । उनले यही व्यवस्थामा टेकेर अगाडि बढ्ने बताउँदै आएका थिए ।

मिश्रले भनेका थिए, ‘यो संविधान उल्टाउने हाम्रो कुनै मनसाय छैन । यही संघीय संरचना भित्रैबाट यो देशलाई विकास र समृद्धिको बाटोमा लैजान सकिन्छ भन्ने हाम्रो विश्वास हो । कतिपटक उल्ट्याउने संविधान ? नउल्ट्याइएको संविधानलाई टेकेर संसारका कतिपय देशहरु कहाँ पुगिसके । तपाईं र म काम गर्न नसक्ने, हरेकपटक संविधानलाई मात्रै कति चलाउने ?’

झण्डै पाँच वर्षअघि मिश्रले गरेको यो प्रश्न अहिले उनीतिरै फर्किएको छ । उनले व्यक्त गरेको प्रतिवद्धता झूटो ठहरिएको छ । राजनीतिमा व्यक्तिगत इमान्दारिता हुनुपर्छ भनेर उनी आफैंले बनाएको भाष्य भताभुङ्ग भएको छ ।

सम्वर्द्धनवादसँगको साइनो

उपनिर्वाचनमा नराम्ररी पछारिएपछि उनको राजनीतिक महत्वाकांक्षामा ठेस लाग्यो र उनको दिलमा गडेको यही विश्वासलाई छेक्ने पातलो पर्दा थप पातलिन थाल्यो । फागुन तेस्रो साता लुम्बिनीमा बोलाइएको राष्ट्रिय भेलामा उनले पराजयको अप्ठ्योरो टार्न जनमतसंग्रहको मुद्दा उठाउन प्रयास गरे ।

उनीसँग प्रगतिशील विकल्पको सपना देखेर मिसिएकाहरुको प्रतिरोधपछि उनले आफ्नो प्रस्तावलाई पुनः पछाडि हटाए । पार्टीभित्र ‘मोडरेट कन्जर्भेटिज्म’ले टाउको उठाउन थालेको भन्दै केही शीर्ष नेताहरुले पार्टी नै परित्याग गरिदिए ।

मिश्रको विगत र पारिवारिक पृष्ठभूमि राजतन्त्रसँग नजिकबाट जोडिएको छ । उनले कुनैबेला काम गर्ने राष्ट्र बेलायतमा राजतन्त्र र सम्वर्द्धनवादको राजनीतिको बलियो उपस्थिति छ । ‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षण’ मा जोड दिने विचारधारा हो सम्वर्द्धनवाद ।

मूलतः थोमस हब्सको चिन्तनमा आधारित यो राजनीतिक दर्शन अंगाल्दै बेलायतमा टोरी पार्टी अस्तित्वमा छ । सङ्ख्या सानो ठूलो हुनसक्छ, तर संसारभरी यस्तो विचारसँग नजिक हुने मानिस र राजनीतिक दलहरू अस्तित्वमा छन् । सम्बर्द्धनवाद परिवर्तनबाट डराएका कुलिनहरुको आत्मरक्षाको औजार बन्दै आइरहेको छ । नेपालमा राप्रपाले खुलेरै यो विचारधाराको वकालत गर्छ ।

वैकल्पिक राजनीतिको ‘राप्रपाकरण’

राजनीति गर्न स्वभाविकरुपमा राजनीतिक ‘स्पेश’ चाहिन्छ । मिश्रमा पछिल्लो समय एकप्रकारको छटपटि देखिन्थ्यो । तर उनले यसअघि राजासहितको लोकतन्त्र भनेर नारा लगाउन भने सकेका थिएनन् । उनको विगतदेखिको राजनीतिक झुकाव/लगाव हेर्दा यो अनपेक्षित प्रस्ताव भने होइन ।

विवेकशील साझाकै एक नेता भन्छन्, ‘रवीन्द्र मिश्र र कमल थापालाई एउटै झण्डामुनि देख्नुपर्ने दिन नआउला भन्न सकिन्न ।’

मिश्रलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कार्टुनिष्ट रवि मिश्रले कुनैबेला लेखेका थिए, ‘साझा पार्टी यस्ता चालकहरुले चलाएको पार्टी हो कि गाडी गुडेको छ खरिबोट जाने भनी । यात्रु पाइएन भनेर “चरिकोट, चरिकोट” भन्न थाल्छन् । यस्तो जिनिसले न त खरिबोट पुर्‍याउँछ न त चरिकोट नै ।’

कम्फर्ट जोनमा बसेर राजनीति गर्नेहरुले भीड र ताली जता बज्छ, त्यतै यात्रा गर्नु अनौठो कुरा होइन । तर यो लाइन लिएपछि मिश्रका अगाडि पार्टीभित्रै प्रतिकूलताका पहाड उभिएको विवेकशील साझा पार्टीका नेताहरु बताउँछन् ।

‘रवीन्द्रजी नर्क जाने बाटोमा हिंड्नुभयो अथवा राप्रपाकरणको बाटोमा हिंड्नुभयो भनेर मैले एकप्रकारले राजनीतिक बिम्बको प्रयोग गरेको हुँ,’ विवेकशील साझा पार्टीका नेता केशव दाहाल भन्छन् । पार्टीभित्र पछाडि जाने कि अगाडि बढ्ने भन्ने बहस पहिलेदेखि चलिरहेको दाहाल बताउँछन् ।

पछिल्ला आन्दोलनपछि प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्नेगरी नयाँ कार्यभारका लागि नयाँ नेतृत्वसहितको नयाँ पार्टी चाहिन्छ भनेर वैकल्पिक राजनीतिक यात्रा सुरु गरेको उनी बताउँछन् । ‘स्वभाविकरुपमा अहिले पुनः पछाडि फर्कने प्रयासले विवाद हुने भइहाल्यो । पछाडि फर्कने कुरा राप्रपाकरण नै हो,’ दाहालको तर्क छ ।

पछिल्ला राजनीतिक उपलब्धिर संविधानसभाबाट बनेको संविधानलाई चुनौति दिने शक्ति राप्रपा बाहेक अरु हुन नसक्ने उनको बुझाई छ । ‘पछाडि फर्कने प्रवृत्ति राप्रपा प्रवृत्ति नै हो । आन्दोलनका राजनीतिक उपलब्धि गुमाउने कुरा राजनीतिको राप्रपाकरण नै हो,’ दाहाल भन्छन्,’यो दक्षिणपन्थ र पश्चगमनतिरको विचलन हो ।’

दाहालको बुझाइमा यथास्थितिमा बस्ने अहिलेका कांग्रेस कम्युनिष्ट जस्तै शक्ति हुन् । ‘उनीहरुले अहिलेकै व्यवस्थामा मज्जा लिइरहेका छन् र सन्तुष्टि लिइरहेका छन्,’ उनी भन्छन्,’अहिलेभन्दा अगाडि जाने, राजनीतिलाई थप गतिशील बनाउने राज्य व्यवस्थासँगै यसको चरित्र बदल्ने कुरा अग्रगमन हो र त्यो वैकल्पिक बाटो हो ।’

साँघुरिँदै राजनीतिको शानदार सुरुवात

राजनीतिमा मिश्रको सुरुवात सानदार थियो । मुलुकभरी वामपन्थी ध्रुवीकरणको हावा चलिरहेको बेला उनले काठमाडौंमा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहलाई नै आत्थुआत्थु बनाए । निर्वाचनमा सम्मानजनक मत पाए पनि त्यसले मिश्रको महत्वाकांक्षालाई सम्बोधन गर्न सकेन ।

तर त्यसपछिका उतरचढावले मिश्रका दुःखका दिनहरू सुरु भए । एकपछि अर्को नेताहरुले साथ छोड्न थाले । परम्परागत राजनीतिक दलहरुमा व्यापक ध्रुवीकरण चलिरहेको थियो । यता आफ्ना नेताहरु साथ छाड्दै थिए । यही संकटमा उनी विवेकशीलसँग एकता गर्न तयार भए ।

विवेकशील दलमा नयाँ पुस्ताका नेताहरु छन् । उनीहरु प्रगतिशील चेतनाद्वारा लैस छन् । परिवर्तनका उपलब्धिप्रति उनीहरुको निष्ठा र प्रतिवद्धता मिश्रको सम्बर्द्धनवादी विचारधारासँगको साइनोभन्दा बलियो छ । मिश्रले मौसमअनुसार राजनीति र विचारधाराको फरकफरक व्याख्या गरिरहे । तर विवेकशीलमा रहेका नयाँ पुस्तामा प्रगतिशील चेतनाप्रतिको लगावमा अकन्टक निरन्तरता छ ।

एकतामा ल्याएपछि नयाँ पुस्तालाई लतार्न सकिन्छ भने मिश्रको विश्वास त्यतिबेला धर्मरायो, जब बैठकहरुमा पूर्व विवेकशील एक ढिक्का देखियो भने पूर्व साझा समूहकै अधिकांश नेताहरु आफ्नो विपक्षमा देखिए । त्यसपछि उनले विकल्पको जलप लगाएर पछाडि फर्कने भावनात्मक भनाईहरूको सङ्ग्रहलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिदिए ।

राजनीतिको अनन्त अप्ठ्यारो

राजतन्त्र र धर्मको मात्रै एजेण्डाले राजनीतिमा टिक्न राप्रपालाई नै मुश्किल देखिएको छ । मिश्रले यही विषयमा जनमत सङ्ग्रह माग गरिरहँदा उनले के बिर्सिएका छन् भने राजतन्त्र, हिन्दु धर्म र एकात्मक राज्यको नारा गत चुनावमा नराम्ररी अस्वीकृत भइसकेको छ ।

यही अप्ठेरोबाट अगाडि बढ्न कमल थापाहरुले पृथ्वीनारायण शाह र महेन्द्र शाहसँगै बिपी कोइरालालाई पनि घिसार्ने प्रयत्न गरिरहेका छन् । राप्रपालाई नै आफ्नो साँघुरिँदै गएको ‘पोलिटिकल स्पेस’ फराकिलो बनाउने प्रयासस्वरुप बिपीको मेलमिलापको सिद्धान्त बेच्नुपर्ने दुःख देखिएकै छ ।

संघीयताको कार्यान्वयन सही ढंगले हुन सकिरहेको छैन । न हाँसको चाल, न बकुल्लाको चालको राजनीति छ । यही धमिलो पानीमा माछा मार्ने अवसर उनले खोजेका छन् । नयाँ एजेन्डा निर्माण गर्नेभन्दा पनि पुराना र नव-सम्वर्द्धनवादी एजेन्डालाई धोईपखाली गर्न मिश्रले यही अवसरलाई सदुपयोग गर्ने प्रयास गरेका छन् ।

जनमत सङ्ग्रहको कुरा

नेपालजस्तो बहुलतापूर्ण समाजमा जनमतसङ्ग्रह उपयुक्त लोकतान्त्रिक विधि हुन सक्दैन । सीमान्तकृत समुदायहरूको बाक्लो उपस्थिति रहेको देशमा सबै मुद्दाहरुमा जनमतसङ्ग्रहको सोलोडोलो प्रयोगको नतिजा कस्तो आउला ? अनुमान गर्न कठिन छैन । राउटेको संरक्षण र जनमतसङ्ग्रह एकैसाथ लगाउने काम राजनीतिमा एक प्रकारको अनैतिक काम हो । पञ्चायतकालमा गरिएको जनमत सङ्ग्रहको नतिजा एक दशक पनि नटिकेको हामी कसैले बिर्सिएका छैनौं ।

‘लोकतन्त्र बहुमत र अल्पमतको प्राबिधिक खेलमात्र होइन,’ विवेकशील साझा पार्टीकै नेता दाहालको प्रश्न छ, ‘अन्यथा बहुमतीय अधिनायकवादले अल्पमत र अल्पसंख्यकमाथि शोषण गर्ने खतरा सधैं रहन्छ । लोकतन्त्र मुख्यत: सामाजिक न्यायको सुनिश्चितता हो । नत्र अल्पसंख्यकहरू कसरी बाँच्ने ?

२०० वर्ष एकात्मक शासन चल्यो, तर संघीयताको उमेर २ दशक पनि भएको छैन । के नेपाल विश्वकै गरिबहरुको सूचिमा यही समयावधिमा पुगेको हो ? नेपालीहरु असमानता र रुढीवादको जाँतोमा पिल्सिएका यही २० वर्षमा हो ? मिश्रले जवाफ दिनुपर्ने धेरै प्रश्नहरू छन् ।

राजनीतिको आम चरित्र फेर्न मेहनत नगर्ने तर पुरानै एजेन्डाहरुको ‘रेट्रोफिटिङ’ गर्ने कामले अल्बर्ट आइन्स्टाइनको त्यही चिरपरिचित भनाई याद गराउँछ । उही काम पटक-पटक दोहोर्‍याउने तर नयाँ नतिजाको अपेक्षा गर्नु केवल पागलपन हो ।

मिश्रले बिर्सिए पनि हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपालाई गत निर्वाचनमा हराएको पनि कसैले भुलेका छैनन् । आफ्नै पार्टीभित्रको अवस्था त उनी आफैंलाई भन्दा बढी अरुलाई के थाहा होला र ?

विवेकशील साझा मिश्रहरुले बनाएको पार्टी हो । यसमा उनको धेरथोर समय र पसिना खर्च भएको छ । उनले सार्वजनिक गरेको मुद्दामा उनी आफ्नै दलभित्र ‘जनमत सङ्ग्रह’ गराउन तयार छन् ? पार्टीका कमिटीहरुमा उनले कति मत पाउलान् ?

विवेकशील साझा पार्टीकानेताहरूकै जिकिर छ- पार्टीमा मिश्रको विरुद्धमा दुई तिहाईभन्दा बढी नेताहरू छन् । पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, ‘मिश्रजीको पक्षमा सचिवालयमा ६ जना मात्र खुलेका छन्, विपक्षमा १९ जना छौं । केन्द्रीय समितिको अवस्था पनि उस्तै छ’ ती नेता अगाडि थप्छन्, ‘पार्टीभित्र प्रस्ताव मात्रै पनि अगाडि बढ्ने अवस्था नभए पछि उहाँले मिडिया र सामाजिक सञ्जालको सहयोग लिनुभयो ।’

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?