+

रोनाल्डोले छाड्लान् त युभेन्टस ?

२०७८ भदौ  ११ गते १८:०८ २०७८ भदौ ११ गते १८:०८
रोनाल्डोले छाड्लान् त युभेन्टस ?

११ भदौ, काठमाडौं । सर्वकालीन महान् फुटबल खेलाडीमध्ये एक हुन्, सम्झौता अवधि पनि बाँकी नै छ । तर युभेन्टस क्रिस्टियानो रोनाल्डोलाई बेच्न तयार देखिएको छ ।

इटालियन क्लब युभेन्टसले आफ्ना पोर्चुगिज फवार्ड रोनाल्डोलाई आफ्नो शर्त पूरा भए बेच्ने बताएको छ । स्काई न्युजका अनुसार ३६ वर्षीय रोनाल्डोले क्लब छाड्न चाहेको जानकारी बिहीबार राति गराएका हुन् । उनका एजेन्ट जोर्ज मेन्डसले युरोपका विभिन्न क्लबहरुसँग सम्पर्क गरेका छन् ।

रोनाल्डोलाई किन्न सक्ने क्लबका रुपमा म्यानचेस्टर सिटीलाई हेरिएको छ । रोनाल्डोका एजेन्ट मेन्डससँग  क्लबले सम्पर्क गरेको समाचार पनि आएको छ । कतिपयले त व्यक्तिगत शर्तहरुमा सहमति जुटिसकेको दाबी पनि गरेका छन् ।

यद्यपि अहिलेसम्म आधिकारिक रुपमा रोनाल्डोले युभेन्टस छाड्ने वा उनी सिटी जाने घोषणा भएको छैन ।

कुनै समय रोनाल्डो म्यानचेस्टर सिटी जाने सम्भावना निकै कम रहेको बताइन्थ्यो । त्यसको एउटा कारण हो, म्यानचेष्टर सिटीको शहरी प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडबाट खेल्नु । उनले सन् २००३ देखि २००९ सम्म युनाइटेडका लागि खेलेका थिए ।

अर्को कारण हो, सिटीमा प्रशिक्षक पेप ग्वार्डिओला । बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका पेप रोनाल्डोभन्दा लिओनल मेस्सीलाई मन पराउँछन् ।

तर अहिले रोनाल्डो र सिटीलाई एकअर्को चाहिएको देखिन्छ । सिटीले इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनलाई ल्याउन चाहेको थियो, तर केनले तत्काल टोटनह्यामै बस्ने भएका छन् । त्यसैले सिटीले रोनाल्डोलाई टिममा ल्याउन सक्छ ।

रोनाल्डो पनि युभेन्टसमा बस्न चाहन्नन् ।

किन युभेन्टस छाड्न चाहन्छन् रोनाल्डो ?

रोनाल्डोका लागि युभेन्टस यात्रा त्यति फलदायी देखिएन । उनी क्लबमा आएपछि उनले च्याम्पियन्स लिगमा युभेन्टसलाई क्वार्टरफाइनलभन्दा माथि पुर्‍याउन सकेनन् । पछिल्लो दुई संस्करणमा यो क्लब अन्तिम १६ बाटै बाहिरिएको छ ।

गत सिजनमा युभेन्टसले सिरी ए को उपाधि पनि गुमायो । त्यसअघि उसले लगातार नौ वर्षसम्म उपाधि जितेको थियो । त्यसैले पनि रोनाल्डो निराश बनेको हुनसक्ने जानकारहरुले बताएका छन् ।

तर सिटी आउँदा फिट होला त भन्ने प्रश्न छ । सिटीका प्रशिक्षक ग्वार्डिओलासँग उनको तालमेल मिल्न गाह्रो रहेको फुटबल पण्डितहरु बताएका छन् । किनकी ग्वार्डिओलाको खेलाउने शैली र रोनाल्डोको खेल्ने शैली पनि भिन्न छ ।

तर ग्वार्डिओला यो सिजन सिटीमा बस्ने भएकाले रोनाल्डोलाई सम्झौता गर्नसक्ने विश्लेषण छ ।

क्रिस्टियानो रोनाल्डो युभेन्टस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय