Comments Add Comment

दार्चुला घटनामा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ : माओवादी

२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताएका छन्  ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताए । उनले अघि भने, ‘यो अमानीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’

घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्ति नदोहोर्‍याउनु पर्ने उनको माग छ ।

छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको उनले बताए । तर प्रतिवेदन ल्याउन ढिला गर्न नहुने भन्दै उनले भने, ‘प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चालोस् ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रपूर्ण सम्बन्ध कायम होस् भन्ने चाहेको बताए । दुई देशबीच रहेका समस्या वार्ता र सम्वादको बाध्यमबाट हल गर्न चाहेको पनि उनले बताए ।

तर राष्ट्रिय स्वाधीनता, सार्वभौमत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने भन्दै उनले भने, ‘राष्ट्रिय राजनीतिमा केही मतभेद भए पनि राष्ट्रियताको मामिलामा हामी एक छौं । हेपाहा व्यवहार र अतिक्रमण सहने छैन ।’

नेकपा माओवादी केन्द्रका सांसद श्रेष्ठले राष्ट्रियसभा बैठकमा दिएको मन्तव्य :

विश्वभर साम्राज्यवादको बिगबिगी भएको बेलामा सबैतिर उपनिवेशवादको बिगबिगी भएको बेलामा हाम्रै महादेशमा पनि हाम्रा वरिपरि भएका सबैजसो मुलुकहरु साम्राज्यवादीहरुको उपनिवेश भएको बेलामा पनि हाम्रा पूर्वजहरुले हाम्रो देशलाई कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश बन्न दिनुभएन । स्वाधीन र स्वतन्त्र देशको रुपमा नेपाललाई खडा गर्नुभयो । त्यस्तो स्वतन्त्र र स्वाधीन देशको नागरिक हुन पाएकोमा आज पनि हामी गौरव गर्छौं ।

हाम्रा पूर्वज र पुर्खाहरुले हामीलाई यो अभिभारा दिनुभयो कि राष्ट्रिय सार्वभौमिकता, भैगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्नु साथसाथै त्यसको निम्ति राष्ट्रिय एकतालाई सुदृढ गर्नु । आज पनि हामी हाम्रा पूर्वजहरुले दिएको यो अभिभारालाई शिरोपर गर्छौं । यस अनुसार अगाडि बढ्नु र यसलाई पूरा गर्नु आफ्नो कर्तव्य ठान्छौं । र, त्यसमै हामी दृढतापूर्वक अगाडि बढिराखेका छौं । तर, यो कर्तव्य पूरा गर्ने सिलसिलामा हामीलाई थाहा छ हामी सचेत छौं, के अझ हाम्रो मुलुकको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि अतिक्रमण गर्दै विदेश शक्तिहरुद्वारा हाम्रो भूभाग कब्जा गरिएको छ । हाम्रो सीमामा अतिक्रमण गरिएको छ । हाम्रो भूभागमा विदेशी सैनिकहरु सुरक्षा बलहरु बुट बजारिरहेका छन् ।

विदेशीले सीमामा बनाएका तटबन्ध र बाँधहरुका कारणले हाम्रो कतिपय बस्ती र भूभागहरु डुबानको अवस्थामा छ । कतिपय कैयौं असमान सन्धि सम्झौताहरु अहिले पनि हामीमाथि लादिएका छन् । हाम्रो नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृति कायम छ । हस्तक्षेप भइराखेकै छन् । यद्यपि यस मामिलामा नेपालमा राजनीतिक दलका नेताहरुले पनि कहिलेकाहीं आफ्नो निहित स्वार्थका निम्ति विदेशी हस्तक्षेपमा रम्ने र कतिपय बेलामा विदेशी हस्तक्षेप नै आमन्त्रण गर्ने प्रवृत्तिबाट पनि विदेशी हस्तक्षेप नेपालमा भित्रिने अवसर प्राप्त भएको छ ।

यसैगरी नेपालको प्राकृतिक स्रोतमाथि पारस्परिक हितका आधारमा उपयोग गर्नुपर्नेमा नेपालको आफ्नै हितलाई पछाडि धकेलेर विदेशीहरुले आफ्नो हितलाई मात्रै केन्द्रमा राखेर नेपाली प्राकृतिक स्रोतको दोहन गर्ने एउटा प्रवृत्ति पनि देखाइराखेका छन् ।

नेपालको भूराजनीतिक अवस्थितिको नाजायज फाइदा उठाउँदै नेपाली भूमिलाई आफ्नो सामरिक एवं रणनीतिक स्वार्थको निम्ति प्रयोग गर्ने, नेपाललाई आफ्नो स्वार्थको क्रीडास्थल बनाउने विभिन्न क्रियाकलापहरुबाट नेपाललाई सताउने प्रयत्न पनि भइराखेको हामीले देखेका छौं । हामी यो सबै प्रवृत्तिप्रति सचेत हुँदै नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षा गर्न कृत संकल्पित हुँदै संघर्ष गरिराखेका छौं । र, यो संघर्षलाई हरहालतमा सफलताको बिन्दुमा पुर्याउनेमा हामी दृढ छौं ।

तर, सम्माननीय अध्यक्ष महोदय, यसै सिलसिलामा केही दिन अघि मात्रै महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल एसएसबीले तइनको तार काटिदिएर अहिलेसम्म पनि बेपत्ता भएको स्थिति कायम छ । र, परिवारजनले उहाँको सास र लास केही फेला नपरेको स्थिति भएबाट निधन भएको आशंका गरी कुशको शव बनाएर अन्तिम संस्कार गरेको दुःखद् घटनाले हामी सबै नपालीको हृदय छिया–छिया भएको छ । असामयिक पीडा हामी बेहोरिरहेका छौं ।

अहिलेसम्म आएका सबै तथ्यहरुले के प्रष्ट गरेको छ भने, यो भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । म यस प्रकारको अमानवीय उत्पीडनकारी क्रुर कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु । दोषी व्यक्तिहरुमाथि तत्काल कारबाही गर्न माग गर्दछु । र, अबका दिनमा यस प्रकारका हेपाहा उत्पीडनकारी व्यवहार नदोहोर्‍याउन पनि म जोडदार माग गर्न चाहन्छु ।

यसैगरी यस सन्दर्भमा नेपाल सरकारले छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा यो समस्याको संवादद्वारा समाधान गरोस् र आवश्यकता पर्दा जे कदम चाल्नुपर्छ सबै कदम चाल्ने प्रतिवद्धता प्रकट गरेको छ । सामान्यतया त्यो नीतिगत रुपमा ठिकै छ । तर, यो ढिलो भयो । नेपाल सरकारको म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । छानविन समितिको छिटो भन्दा छिटो रिपोर्ट ल्याएर आफ्नो तर्फबाट भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, र दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्ने माग गर्न चाहन्छु ।

नेपाली जनतामा यस प्रकारको अमानवीय क्रूर घटनाबाट जुन पीडा पैदा भएको छ । यो पीडाले देशभक्तिको बाँध, मानवता विरोधी कार्यको विरुद्ध उर्लिएको भावनाले त्यो बाँध भत्काएर आफैं प्रतिवाद र प्रतिकारमा आउने स्थिति उत्पन्न गर्ने कार्य कुनै पनि हालतमा उपयुक्त हुँदैन । यस सम्बन्धमा नेपाल सरकारले तत्काल कदम चालोस् भनी म विशेष अनुरोध गर्न चाहन्छु ।

साथै भारत सरकारलाई पनि विनम्र अपील गर्न चाहन्छु, हामी भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । हामी नेपाल र भारतबीचमा भएका सबै समस्याहरु पारस्परिक वार्ता र संवादको माध्यमबाट कूटनीतिक ढङ्गबाट सकारात्मक समाधान गरौं भन्ने पक्षमा छौं । तर, म भन्न चाहन्छु नेपाल कुनै पनि हालतमा हाम्रो राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितमाथिको अतिक्रमण सहन गर्ने छैन । नेपालीमाथिको हेपाहा व्यवहार र यस प्रकारको उत्पीडनको कार्य सहने छैन । त्यसका निम्ति जे गर्नुपर्छ सबै संघर्ष गर्न नपाली जनता संकल्पित छन् भन्ने कुरा पनि म स्पष्ट पार्न चाहन्छु । त्यसैले भारत सरकारले छिटोभन्दा छिटो आफ्नै पहलकदमीमा पनि क्षमायाचना गर्ने, दोषीमाथि कडा कारबाही गर्ने, र अब आइन्दा यस्तो प्रकारको गल्ती दोहोर्‍याइने छैन भनी प्रतिवद्धता व्यक्त गर्ने काम गरोस् भन्ने म अनुरोध गर्न चाहन्छु ।

हो, अहिले नेपालमा राजनीतिक पार्टीहरुको बीचमा आन्तरिक कारणले केही मतभेदहरु देखा परेका छन् । तर, कोही भ्रममा नपरुन् आवश्यक पर्दा सारा नेपालका राजनीतिक पार्टीहरु, सबै सामाजिक शक्तिहरु, सम्पूर्ण नेपाली जनता राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् । अब पनि एक ढिक्का हुन्छन् । त्यसैले नेपाललाई हेप्ने, नेपाली भूमि अतिक्रमण गर्ने, नेपालीप्रति दुर्व्यवहार गर्ने काम कसैले नगरोस् र सच्याओस भनेर अनुरोध र अपिल गर्न चाहन्छु ।

यो पनि पढ्नुहोस मुलुकको यो बेहालका निम्ति ओली मात्रै जिम्मेवार होइनन् : नारायणकाजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment