Comments Add Comment

मौद्रिक नीति सकारात्मक आयो, यसले अर्थतन्त्रलाई लयमा ल्याउँछ : ढकाल

२९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले मौद्रिक नीतिले कोभिड प्रभावित अर्थतन्त्रलाई लयमा ल्याउन धेरै उपकरण ल्याएको भन्दै प्रशंसा गरेका हुन् ।

मौद्रिक नीतिले कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, व्यवसाय र व्यवसायीहरुलाई राहत तथा सहुलियत दिने कार्यक्रमहरु ल्याएको उनको प्रतिक्रिया छ । कोभिड प्रभावित उद्यम व्यवसायको सहुलियत कर्जाले निरन्तरता पाएको भन्दै उनले पुर्नकर्जा तथा व्यवसाय निरन्तरता कर्जाले निरन्तरता पाएको समेत जनाएका छन् ।

पुनरुत्थान कर्जाको निरन्तरता, सुक्ष्म निगरानीको अवधि ३ वर्ष पुर्‍याइएको विषयलाई समेत उनले सकारात्मक भनेका छन् ।

कोभिडबाट अति प्रभावित पर्यटन, होटल, रेस्टुरन्ट, यातायातलाई सावा व्याज तिर्ने म्याद एक वर्ष थपिएको, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने र प्रवर्द्धन गर्ने कार्यक्रम आएको बारे समेत उनले सकारात्मक प्रतिक्रिया दिएका छन् । डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्ने विषयलाई समेत उनले सकारात्मक भनेका छन् ।

१ करोडसम्म कर्जा लिने साना व्यवसायी हरुलाई पि्रमियम २ प्रतिशत मात्र लाग्ने व्यवस्थाबारे उनी सकारात्मक देखिए । बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गर्न खोजिएको भन्दै उनले मर्जरमा जाने बैंकलाई सहुलियत दिइएको बताए ।

सिइओ तथा डिसिइओको कुलिङ्ग पिरियड हटेको उल्लेख गर्दै ढकालले सीआरआर ३ प्रतिशतबाट २.५ प्रतिशतमा झारेको विषय समेत समेटेका छन् । एसएलआर १० प्रतिशतबाट ९ प्रतिशतमा झारेको र ब्याजदर अन्तरमा एक प्रतिशत छुट दिएको विषय समेत उनले राखेका छन् ।

एक किलोमिटरभित्र शाखा जुधेमा राष्ट्र बैंकको स्वीकृति विना बन्द गर्न सकिने व्यवस्थालाई सकारात्मक भनेका उनले ०.१० प्रतिशत भन्दा कम शेयर हुने संस्थापकले शेयर बिक्री गरेमा फिट एण्ड प्रोपर टेस्ट नचाहिने व्यवस्थालाई पनि राम्रो भनेका छन् ।

मौद्रिक नीतिले शेयर बजारलाई भने अलि नियन्त्रण गर्न खोजेको जस्तो देखिएको बताए । एक व्यक्ति तथा संस्थालाई सबै बैंक तथा वित्तीय संस्थाबाट जम्मा १२ करोड मात्र कर्जा दिने कुराले शेयर बजारलाई नियन्त्रण गर्न सक्ने उनको भनाई छ । असार मसान्तसम्म सीसीडीको सट्टा सीडी ९० प्रतिशत पुर्‍याउनुपर्ने नियम ल्याइएको छ । अहिले ८५ प्रतिशत रहेको छ ।

समग्रहमा मौद्रिक नीतिले कोभिड प्रभावित अर्थतन्त्रलाई लयमा ल्याउन धेरै उपकरणहरु ल्याएको भन्दै  गत वर्ष कार्य विधिहरु बन्न समय लागेकोले कार्यान्वयन गर्न र वास्तविक पीडितसम्म राहत पुग्न समय लागेको विषयलाई सम्झाएका छन् । यस तथ्यलाई ख्याल गरेर सहज कार्यन्वयन हुन सके कोभिड प्रभावित व्यवसाय तथा व्यवसायीलाई राहत पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment