+
+
बीमाकुमारी दुरा :

मेलापातमा हुर्किइन्, लोकगायनमा राज गरिन्

सुशील नेपाल सुशील नेपाल
२०७८ भदौ १९ गते १९:४२

१९ भदौ, काठमाडौं । २०४५ साल । बीमाकुमारी दुरा लमजुङबाट काठमाडौं आएकी थिइन्, देशव्यापी दोहोरी प्रतियोगितामा भाग लिन । आयोजक थियो, राष्ट्रिय युवक संगठन ।

राष्ट्रिय सभागृहमा आयोजित दोहोरी प्रतियोगितामा बीमाकुमारीको समूह तेस्रो भयो । सँगै आएका साथीहरूले भने, ‘आएको बेला रेडियो नेपालको चौतारी कार्यक्रममा पनि जाऔं न !’

‘चौतारी’ लोकगीतसँग सम्बन्धित निकै लोकपि्रय कार्यक्रम थियो ।

रेडियोमा लोकदोहोरी गायक एवं संगीतकार नारायण रायमाझीसँग भेट भयो । उनले बीमाकुमारीलाई भने, ‘बहिनीको स्वर राम्रो रहेछ । गीत रेकर्ड गराउनुपर्‍यो ।’

‘छोरीको जुनी’ बोलको गीत रेकर्ड गराएर गाउँ फर्किइन् बीमाकुमारी ।

त्यसबेला रेडियो नेपालले देशव्यापी लोकगीत प्रतियोगिता आयोजना गथ्र्यो, प्रजातन्त्र दिवसको अवसरमा । सोही प्रतियोगिताका लागि बीमाकुमारी दोस्रो पटक काठमाडौं आइन्, २०४७ सालमा । प्रतियोगितामा उनी प्रथम भइन् ।

‘त्यसपछि रेडियोमा धेरै गीतहरू रेकर्ड भए’ बीमाकुमारी भन्छिन्, ‘थोरबहुत कमाइ र कामले गर्दा काठमाडौंमै बस्नुपर्ने भयो ।’

शुरुआती दिनमा उनी आफन्तको डेरामा शरणागत भइन् । सोही बखत आफ्नै पहिलो अल्बम ‘छुट्यो मायाजाल’ सार्वजनिक गरिन्, जुन सबभन्दा बढी बिक्नेमा पर्‍यो ।

बीमाकुमारी नेपाली लोकदोहोरी क्षेत्रमा चिनिंदै गइन् । र, एक समय यस्तो आयो लोकगायिकाको रूपमा उनी निर्विकल्प रोजाइ बनिन् । उनी सर्वप्रिय लोकगायिकाको पंक्तिमा उक्लिइन् ।

विद्यालय भर्ना भइनन्, मेलापातमा गाउँदै हुर्किइन्

आमाबाबुकी दोस्रो सन्तानका रूपमा, लमजुङ जिल्लाको दुराडाँडामा जन्मिएकी हुन् बीमाकुमारी । गाउँको माहोल सांगीतिक थियो । गाउँमा रोधी बस्ने चलन थियो । जेठ/असारमा मादल नबजाउने, साउने संक्रान्तिमा मादल ‘फुकाउने’ गरिन्थ्यो । त्यसपछिको १० महीना रोधीको माहोल हुन्थ्यो ।

वीरेन्द्र सरकारको परिवारले खाएपछि मात्र अरूले खाने चलन भए पनि हिजोआज पार्टी प्यालेसमा जस्तो परिकारहरू सजाएर राखिएको हुन्थ्यो, तर कतिपय पत्रकारले जुठो नै खाएको भनेर बुझे

बीमाकुमारी दाइ-दिदीहरूसँग मेलापात र रोधी जान्थिन् । मेलापातमा पनि रोधीमा जस्तै उधुम गाना-बजाना हुन्थ्यो । मेलापात वा रोधीमा कसैले गीत झिक्थे, त्यसपछि अरूले छोप्थे ।

‘रोधी र मेलापातमा दाइ-दिदीहरूले झिकेका गीत छोप्दाछोप्दै गाउन सिकेकी हुँ’ बीमाकुमारी भन्छिन्, ‘मेरो प्रेरणाको स्रोत गाउँको त्यही माहोल हो ।’

तिनताका छोरीलाई पढायो भने मात्तिन्छे भन्ने सामाजिक सोच थियो । अभिभावकले बीमाकुमारीलाई विद्यालय भर्ना गरिदिएनन् । उनले घरमै कखरा सिकिन् । स्वर राम्रो भएकोले उनलाई विद्यालयका सांगीतिक कार्यक्रममा गीत गाउन भने बोलाइन्थ्यो ।

हजुरबुवा प्रधानपञ्च र भेना जिल्लाको नेता भएकाले बीमाकुमारीले विभिन्न कार्यक्रममा गाउने मौका पाइरहन्थिन् । त्यसरी विस्तारै जिल्लास्तरीय गायन प्रतियोगितामा सहभागी हुन थालिन् । २०४२, २०४३ र २०४४ सालमा जिल्लास्तरीय लोकगायन प्रतियोगितामा प्रथम भइन् ।

त्यो सफलतापछि आफूमा अब गायिका नै बन्छु भन्ने सोच विकास भएको उनी बताउँछिन् ।

अनि दरबारभित्र गुञ्जिइन् बीमाकुमारी

लोकदोहोरीमा बीमाकुमारी दुराको नाम चलिसकेको थियो । सोही समय उनले दरबारमा गाउने मौका पाइन् । शुरूमा उनी सेनाले हरेक वर्ष वैशाख १ गते जंगी अड्डामा गर्ने कार्यक्रममा गायिकाका रूपमा गाइन् ।

‘किंग्स् शो’ भनिने त्यो कार्यक्रम हेर्न राजा र राजपरिवारका सदस्यहरू आउँथे । २०४९ वैशाखमा उनी ‘किंग्स् शो’की लोकगायिकाका रूपमा चार वर्षका लागि छनोट भइन् । त्यसपछि दरबारमा हुने कार्यक्रमको लोक गायिकामा समेत उनलाई छानियो । दरबारमा ६-६ महीनामा हुने सांगीतिक कार्यक्रममा बीमाले दुई वर्ष लोकगीत गाइन् ।

सांगीतिक कार्यक्रमपछि पहिले राजपरिवारले खाने चलन थियो । त्यसपछि अरूले खान्थे । त्यसलाई ‘सरकारको जुठो खाने’ भनिन्थ्यो । दरबारको सो प्रथालाई लिएर कतिपय मिडियाले ‘राजाको जुठो रक्सी खाएकी’ भनेर लेखेको बीमाकुमारी बताउँछिन् ।

‘वीरेन्द्र सरकारको परिवारले खाएपछि मात्र अरूले खाने चलन भए पनि हिजोआज पार्टी प्यालेसमा जस्तो परिकारहरू सजाएर राखिएको हुन्थ्यो’ उनी भन्छिन्, ‘तर, कतिपय पत्रकारले जुठो नै खाएको भनेर बुझे ।’

राजा वीरेन्द्रसँग बोल्न नपाए पनि ‘मौसूफले गीत मनपराइबक्सेको’ प्रतिक्रिया उनले पाएकी थिइन् । वीरेन्द्र सरकारको अगाडि गीत गाउन पाएकोमा आफूलाई भाग्यमानी ठानेको उनी बताउँछिन् ।

‘नम्बर वान’ लोकगायिका

बीमाकुमारी दुराले सांस्कृतिक संस्थानमा जागिर पनि खाइन् । सरकारी जागिर खाएपछि सांगीतिक क्षेत्रमा टिकिरहन सजिलो हुन्छ, भोलिको दिनमा पेन्सन पनि पाइन्छ भनेर त्यो टन्टा बेसाएको उनी बताउँछिन् । तर, उनी २०५३ देखि २०५८ सालसम्म अस्थायीको अस्थायी संस्थानबाट बाहिरिइन् ।

त्यसबेलासम्म उनी ‘नम्बर वान’ लोकदोहोरी गायिका बनिसकेकी थिइन् । ‘छुट्यो मायाजाल’ पछि उनको ‘फुल्यो निमपत्ता’, ‘डाँडैको देवी देउराली’, ‘भञ्ज्याङको सुसेली’, ‘माझीदाइ पोखरा’, ‘जम्मु कस्मिरमा’, ‘हङकङ आइडीले’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘यो दाजुको मिर्मिर आँखा’, ‘पानसमा बत्ती बालेको’, ‘लडाइँको लाहुरे’, ‘दमौलीमा गेट’ लगायत अडियो क्यासेटले बिक्रीको रेकर्ड कायम गरेका थिए । त्यसले उनलाई लामो समयसम्म ‘नम्बर वान गायिका’का रूपमा उभ्याइरहृयो ।

गीत/संगीतमा पनि ‘पर्म’

२०५० र ६० को दशकमा बीमाकुमारीले कुनै दिन ६ वटासम्म गीत रेकर्ड गराइन् । त्यो बेला महीनामा १ लाख ८० हजार रुपैयाँसम्म बचत गरेको उनी बताउँछिन् । क्यासेट बिक्रीबाट अलग कमाइ हुन्थ्यो । देश-विदेशको स्टेज कार्यक्रमहरूबाट पनि राम्रो कमाइ हुन्थ्यो ।

त्यो बेला पहिला गाउँमा मेलापातमा जस्तै गीत-संगीतमा पनि बीमाकुमारीको ‘पर्म’ चल्थ्यो । नारायण रायमाझी, बमबहादुर कार्की लगायत धेरै गायकसँग उनले त्यसरी गीत गाइन् । पर्ममा गाउँदा-बजाउँदा एक अर्को पक्षबाट पैसा दिइँदैनथ्यो ।

त्यो बेला वाद्यवादकहरू पनि अल्बम निकाल्थे । उनीहरूको अल्बमका लागि गायक-गायिका निःशुल्क गाउँथे । गायक-गायिकाको अल्बमका लागि वाद्यवादकहरू निःशुल्क बजाउँथे । ‘त्यसरी पनि थुप्रै अल्बम निकालियो’ बीमाकुमारी सम्झिन्छिन्, ‘भिडियोको जमाना आएसँगै गीत-संगीतमा पर्मको चलन हरायो ।’

गायनलाई पहिलेकै समय ठीक

बीमाकुमारी दुराले सयौं लोकदोहोरी गीतमा स्वर दिइन् । तीमध्ये धेरै गीत श्रोता/दर्शकको मन-मस्तिष्कमा बसे । उनको सफलता हेरेर लोकगायनमा लाग्नेहरू पनि प्रशस्त रहे । श्रोताहरूले मन पराएकै कारण आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ ।

अहिले पनि बीमाकुमारी गायनमै सक्रिय छिन् । यस वर्ष उनको ‘दिदी भाइ’ शीर्षकको तीज गीत सार्वजनिक भयो । गत वर्ष दुईवटा तीज गीतमा स्वर दिएकी थिइन् । त्यसबाहेक महीनामा दुई/तीनवटा गीत रेकर्ड गराएकी हुन्छिन् ।

सांगीतिक क्षेत्रमा पहिलेको तुलनामा धेरै फरक आएको बीमाकुमारीको अनुभव छ । अहिलेको गायनमा स्वरको महत्व घटेको उनलाई लागेको छ । ‘अहिले गला नभए पनि प्रविधिले राम्रै बनाइदिने गरेको देखिन्छ’ उनी भन्छिन्, ‘हाम्रो समयमा त गला नभएसम्म गायन कलामा नतम्से पनि हुन्थ्यो ।’

अहिलेको ‘सजिलो’को प्रत्यक्ष असर गीतको जीवनमा परिरहेको बीमाकुमारी बताउँछिन् । अहिले पहिलाका जसरी गीतहरू श्रोता/दर्शकको दिल-दिमागमा बस्न छाडेको उनको ठम्याइ छ । ‘अरुण थापाका गीतहरू रेडियो नेपालमा पनि थोरै होलान्, तर जति छन् श्रोताको मनमा बसेका छन्’ उनी भन्छिन्, ‘अहिले श्रोताले सुनेपछि नबिर्सने गीतहरू आउनै छाडे भन्दा हुन्छ ।’

आफ्नै गीतहरू पनि रियालिटी शो, दोहोरी साँझहरूमा गाएको देख्दा/सुन्दा खुशी लाग्ने उनी बताउँछिन् ।

त्यसो त जीविकाको हिसाबले पनि पहिलाकै समय राम्रो रहेको बीमाकुमारी बताउँछिन् । उनका अनुसार, त्यो बेला १०-१२ हजार रुपैयाँ लगानी गरेर क्यासेट निकाल्दा २-३ लाख आम्दानी हुन्थ्यो । तर, अहिले एउटा भिडियो ल्याउन ४-५ लाख रुपैयाँ लाग्छ । युट्युबबाट त्यो लगानी उठ्न मुश्किलै पर्ने उनी बताउँछिन् ।

‘मेरो समयमा खास गरेर २०५५/६० सालतिर गाएर कमाएको पैसा बचत गरेर यो घर बनाएँ’ गोंगबुस्थित पाँचतले घरमा कुराकानीको बिट मार्ने क्रममा उनले भनिन्, ‘अहिले त गायक-गायिकाको आम्दानी स्टेज कार्यक्रममा सीमित भएको छ ।’

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?